नगद मार्जिनको नीति फेल भएपछि एलसी रोक्ने निर्णय, फागुनमा १००० बढी गाडी आयात



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत पुस ५ गते विभिन्न २० वस्तु आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्यो ।

राष्ट्र बैंकले परिपत्र जारी गर्दै १८ वटा वस्तुको आयातमा प्रतितपत्र (एलसी) खोल्दा शत प्रतिशत नगद मार्जिन राख्नुपर्ने र २ वटा वस्तु आयातमा एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । जसमा गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको थियो ।

बढ्दो आयातको कारण विदेशी मुद्राको सन्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन राख्नुपर्ने नीति अपनाए पनि आयातमा भने खासै प्रभाव पारेको देखिँदैन ।

राष्ट्र बैंकले गाडी आयातमा ५० मार्जिन लागू गरेपनि आयात भने कमी आएको छैन । राष्ट्र बैंकले गत पुसमा लागू गरेको नगद मार्जिनअनुसार फागुनमा गाडीको आयात घट्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।

तर, फागुन महिनामा गाडी आयातमा मार्जिनको प्रभाव नपरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा नेपालले १३ अर्ब १२ करोड ८ लाख रुपैयाँ बराबरको ११ हजार ८३१ वटा व्यवसायिक प्रयोजनका जीपबाहेकका जीप, कार र भ्यान आयात गरिसकेको छ । उक्त आयातित सवारी, साधनबाट ३० अर्ब ४० करोड ८९ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । उक्त संख्याले पनि गाडीको आयात उच्च रहेको स्पष्ट पार्दछ ।

सामान्य अवस्थामा मासिकरुपमा १ हजारभन्दा निजी जीप, कार र भ्यान आयात हुँदै आएको थियो । त्यस्तै, फागुन महिनामा पनि तरलता अभावसँगै मार्जिनको व्यवस्था गरेपनि १ हजारभन्दा बढी निजी जीप, कार र भ्यान आयात भएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

फागुन महिनामा नेपालले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ बराबरको १ हजार २३ वटा निजी जीप, कार र भ्यान आयात गरेको छ । यसभन्दा अगाडि माघमा ९१ करोड २७ लाख रुपैयाँको बराबरको ८१३ वटा मात्रै जीप, कार र भ्यान आयात भएको थियो ।

पुसमा व्यवसायिक प्रयोजनको भ्यानबाहेक जीप, कार र भ्यान १ अर्ब २० करोड ८० लाख रुपैयाँ बराबरको १ हजार ९५ वटा आयात भएको थियो । उक्त आयातित वस्तुबाट सो महिना सरकारले २ अर्ब ७२ करोड ४ लाख रुपैयाँ भन्सार महशुल संकलन गरेको थियो ।

मंसिरमा ११ सय ५४ वटा र कात्तिकमा १५ सय ३३, असोजमा २५ सय ८८ वटा, भदौमा २५ सय ५६ वटा र साउनमा १४ सय ६९ वटा जीप, कार र भ्यान आयात भएको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाले ५० प्रतिशत नगद मार्जिनको प्रभाव आगामी चैतबाट मात्रै देखिने भएकाले अहिले कुनै असर नभएको बताए । उनकाअनुसार एलसी खोलेपछि गाडी आयात हुन ३ देखि ४ महिना लाग्ने बताउँदै अहिले विस्तारै गाडी आयात कम हुँदै गएको छ ।

तर, गत फागुनसम्ममा आयात भएको गाडी मंसिरमा एलसी खोलेको गाडी आयात भइरहेको बताए ।

‘सरकारले नगद मार्जिन लागू हुनुभन्दा अगाडिकै गाडीहरू आयात हुन सकेको छैन,’ उनले क्लिकमाण्डूसँग भने, ‘नगद मार्जिनको व्यवस्थाले अब चैतदेखि गाडीको आयात घट्नेछ ।’


क्लिकमान्डु