एमसीसी पास गरेर श्रीलंका हुनबाट बच्यौं, भारतसँग सम्बन्ध विगारेर नेपालको विकास हुँदैनः सुरेन्द्र पाण्डे



मैले सरकारमा हुँदा एउटा विषय महशुस गरेको थिएँ । मन्त्री हुँदा देशलाई नजिकबाट हुँदा हेर्ने मौकासमेत पाएको थिएँ । मेरो निष्कर्ष थियो कि भारतसाग सुमधुर सम्बन्ध नभई नेपालको विकास हुन सक्दैन ।

दक्षिण कोरिया विकसित भयो । कसरी भयो भनेर मैलै अध्ययन गरेँ । दक्षिण कोरिया अमेरिकाको पछि लागेको थियो । अमेरिकाले जे भन्यो त्यहीँ मान्यो ।

सिंगापुर विकसित भयो । सिंगापुरले समेत पश्चिमा देशमैत्री नीति बनाएर विकास गर्याे । मलेसियाले समेत पश्चिममा मुलुक केन्द्रीत नीति लिएर विकास गरेको देखिन्छ ।

सन् १९७० को दशकमा अमेरिका र रसियाको तीव्र अन्तरविरोध थियो । चीनले रुससँग द्वन्द्व गर्ने र अमेरिकालाई सघाउने नीति लियो । त्यसपछि चीनमा अमेरिकी लगानी भित्रिन शुरु भयो ।

यदि सोभियत संघ २० वर्षपछि पतन नभएको भए सायद चीनमा अमेरिकी लगानी भित्रिने थिएन । चीनले सही समयमा अमेरिकी लगानी भित्र्याउने नीति लियो । जसले गर्दा चीन आजको अवस्थामा आएको छ ।

मैले नेपाल के गर्दा विकास हुन्छ होला भनेर निकै मनन गरेँ । मेरो अध्ययनले के भन्यो भने, यदि नेपालले भारतसँग केही विषयमा समान बुझाई बनाउन सक्यो भने नेपाल पनि विकसित हुनसक्छ । मानिसले यसलाई भारतपरस्त भयो भनेर सतही टिप्पणी गर्न सक्छन् । मैले त्यतिकै भारतसँग धारण बनाउने कुरा गरेको होइन ।

चीनको संघाईबाट काठमाडौं सामान ल्याउँदा र पठाउँदा ढुवानी भाडा निकै महँगो हुन्छ । किनभने, काठमाडौंबाट सांघाईको दुरी ३ हजार ५ सय किलोमिटर छ । तर, भारतको कलकत्ताबाट काठमाडौंको दुरी ८ सय ५० किलोमिटरमात्रै छ । जसले गर्दा ढुवानी भाडा कम पर्छ । र, भारतबाट सामान ल्याउँदा वा भारतमा सामान पठाउँदा सस्तो पर्छ ।

हामीले चीनको संघाई हुँदै नेपालमा उत्पादन भएको वस्तु विश्व बजारमा पठाउन सक्छौं ?
भारतको बाटो हुँदै ढुवानी गर्दा लागतमा प्रतिस्पर्धा गर्न सकिन्छ । यसलाई हामीले स्विकार गर्नै पर्छ । ढुवानीको लागत बढी हुँदा हाम्रो उत्पादनको मूल्य कहाँ पुग्छ ?

म मन्त्री हुँदा चीनको भ्रमणमा थिए । हाम्रा प्रधानमन्त्रीले चिनियाँ अधिकारीसँग विभिन्न माग राख्नुभयो । चीनका अर्थमन्त्रीले मलाई भन्नुभयो, हामीले हाम्रा जनतासँग कर उठाएको नेपालको विकास गर्न होइन, चीनको विकास गर्न हो ।

त्यसले, मेरो आँखा खोल्यो । हामीले मागपनि कयौं बुदामा राख्ने गर्छौं ।

यस्तै अनुभव छ, भारतसँग पनि । म अर्थमन्त्री हुँदा भारतमा प्रणव मुखर्जी अर्थमन्त्री हुनुहुन्थ्यो । मैले ढल्केबर मुजफ्फरपुर प्रशारणलाईन निर्माणमा सहयोग गर्न आग्रह गरेको थिएँ ।

नेपालमा १८ घण्टासम्म लोडसेडिङ थियो । नेपाल विद्युत् प्राधिकरणले भारतबाट विजुली ल्याउने भनिरहेको थियो । तर, नेपालमा भारतबाट विजुली ल्याउन प्रसारण लाईन थिएन । त्यसैले भारतका तत्कालिन अर्थमन्त्रीलाई प्रसारणलाईन निर्माणमा सहयोग गर्न आग्रह गरेको थिए ।

उहाँले मलाई भन्नु भयो, ‘महामहिमज्यू, यो व्यवसायको विषय हो । तत्काल केही भन्न सकिन्न ।’ सरकार चलाउनु पनि एक व्यवसाय हो । सरकारीले पनि उद्यमीजस्तै भएर डिल गर्नुपर्छ ।

आज हाम्रो देशमा झुट बोल्नु पर्ने बाध्यता छ । नेताले भिडलाई उत्तेजित गर्ने गरी बोल्ने गर्छन् । त्यो राम्रो होइन । नेपालमा विकास गर्न भारतसँग समस्या समाधान हुनै पर्छ ।

हामीले हालैमात्र एमसीसी पास गरेर राम्रो गरेका छौं । म त शुरुदेखि नै एमसीसीको पक्षधर थिएँ । यदि हामीले समयमै एमसीसी पास नगरेको भए श्रलंकाभन्दा खराब अवस्थामा पुग्नेथियौं । बैदेशिक सहयोग परिचालन नगरीकन देशको विकास हुन सक्दैन ।

(स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोमा पूर्वअर्थमन्त्री पाण्डेले व्यक्त गरेको बिचार)


क्लिकमान्डु