कोरोनाकालमै पाल्पा सिमेन्टको व्यापार ४८% ले बढ्यो



काठमाडौं । कोरोना महामारी शुरु हुनुभन्दा केही महिनाअघि मात्रै उत्पादन तथा बिक्री विरण शुरु गरेको पाल्पा सिमेन्टले उल्लेख्य मात्रामा ब्यापार गरेको छ । कोभिडकै समयमा पाल्पा सिमेन्टको व्यापार ४८ प्रतिशतले बढेको छ ।

इक्रा नेपालका अनुसार कम्पनीले सन् २०१९ मा ६२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२० मा कम्पनीले ३ अर्बको व्यापार गर्न सफल भएको थियो । हरेक वर्ष व्यापारमा नयाँ रेकर्ड कायम गर्दै गएको कम्पनीले सन् २०२१ मा ४ खर्ब ४४ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले जनाएको छ । जुन सन् २०२० को तुलनामा सन् २०२१ मा कम्पनीले १ अर्ब ४४ करोड अर्थात् ४८ प्रतिशतले व्यापार बढी गरेको छ ।

कम्पनीले कोरोना महामारीको चुनौतीसँगै प्रतिस्पर्धी बजारमा उच्च व्यापार गर्न सफल भएको छ । सन् २०१९ को अप्रिलबाट उत्पादन गर्न शुरु गरेको कम्पनीले गत वर्षमात्रै ४ अर्ब बढीको कारोबार गरी राम्रो नाफा कमाउन सफल भएको छ ।

कम्पनीले क्लिङ्कर सिमेन्टसँगै ग्रान्डिङ सिमेन्ट पनि उत्पादन गर्दै आएको छ । जसमा कम्पनीले पर्याप्तमा मात्रामा क्लिङ्करको व्यापार गर्दै आएकोमा गत वर्ष भने ग्रान्डिङ सिमेन्टको व्यापार पनि बढेको जनाएको छ । कम्पनी अनुसार गत वर्ष ग्रान्डिङ सिमेन्टको व्यापार सन् २०२० को तुलनामा ३९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा ३२ प्रतिशतले वृद्धि गरेको थियो ।

जनवरी २०२० देखि ग्रान्डिङ सिमेन्ट उत्पादन शुरु गरेको कम्पनीले सन् २०२१ मा आफ्नो हिस्सा ६३ प्रतिशत पु¥याएको छ । सन् २०२० मा सिमेन्टको मात्रै हिस्सा ४१ प्रतिशत थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ को अर्धवार्षिकमा सिमेन्टको व्यापार ७५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । साथै, कम्पनीले दीर्घकालीन रणनीतिसहित सिमेन्टको व्यापार गर्ने जनाएको छ ।

पाल्पा सिमेन्ट आरएमसी ग्रुपको हिस्सा रहेको छ । आरएमसीले विगत दुई दशकदेखि निर्माण सामग्रीको बजारीकरण गर्दै आएको छ ।

पाल्पा सिमेन्टले उत्पादन गर्न शुरु गरेको ३ वर्षमात्रै भएको छ । कम्पनीको वार्षिक क्लिङ्कर सिमेन्ट उत्पादन क्षमता ५९ लाख मेट्रिक टन रहेको छ भने ७३ लाख मेट्रिक टन सिमेन्टको क्षमता रहेको छ ।

त्यसैगरी कम्पनीले दीर्घकालिन कर्जाका लागि ५ अर्ब ९० लाख रुपैयाँको रेटिङ पाएको छ । साथै, अल्पकालिन कर्जाका लागि भने ३ अर्ब ८ करोड ६० लाख रुपैयाँ रेटिङ पाएको छ ।

साथै, कम्पनीले दीर्घकालीन तथा अल्पकालिन कर्जा गरी ८ अर्ब ९ करोड ५० लाख रुपैयाँको रेटिङ पाएको इक्राले जनाएको छ ।


क्लिकमान्डु