एनआइसी एशिया बैंकसहित १४३ कम्पनी नेप्सेको ‘जेड’ वर्गमा, किन पर्छन् कम्पनीहरु यो समूहमा ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ । वर्गीकरण गर्दा धेरै कम्पनीहरु ‘जेड’ वर्गमा परेका छन् ।

नेप्सेले ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ वर्गमा वर्गीकरण गर्ने गरेको छ । जसमा ए’ मा २५ वटा वाणिज्य बैंक मात्रै परेका छन् ।

एनआइसी एशिया बैंक सहितका कुल १४३ वटा कम्पनी ‘जेड’ मा परेका छन् ।

अहिले अन्य कम्पनीहरु जेड मा परेको भन्दा पनि वाणिज्य बैंक नै उक्त समूहमा पर्दा सबैको चासो बढेको छ ।

धितोपत्र सूचीकरण विनियमावली–२०७५ को दफा ११ अनुसार नेप्सेले वर्गीकरण गर्ने गरेको छ । जसमा वर्ग ‘ए’ मा पर्नका लागि चुक्ता पूँजी कम्तीमा १ अर्ब रुपैयाँ हुनुपर्ने, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष भएको, तीन आर्थिक बर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको हुनुपर्छ ।

साथै, त्यस्ता कम्पनीहरुले क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको हुनुपर्ने छ ।

‘बी’ वर्गमा पर्नका लागि चुक्ता पुँजी कम्तीमा ५० करोड रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन बर्ष भएको, विगत तीन बर्षमा कम्तीमा दुई आर्थिक वर्षमा नाफा गरेको हुनुपर्छ ।

त्यसैगरी क्रेडिट रेटिङ्ग संस्थाबाट कम्तीमा औसतभन्दा एक तह मुनीको रेटिङ्ग प्राप्त गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र बार्षिक साधारण सभा सम्पन्न गरेको र सञ्चित नोक्सानी नरहेको हुनुपर्ने मापदण्ड छ ।

समूह ‘ए’ र ‘बी’ मा पर्न मापदण्ड पूरा गरेको भएपनि नेप्सेमा सूचीकृत भएको दुई वर्ष पूरा भएको छैन भने त्यस्तो संगठित संस्था ‘जी’ वर्गमा पर्छन् । ‘ए’, ‘बी’ र ‘जी’ वर्गमा नपरेको संस्था ‘जेड’ वर्गमा पर्छन् ।

एनआइसी एशिया बैंक पनि समयमै साधारणसभा नगर्दा ‘जेड’ वर्गमा परेको हो ।

बैंकले साधारणसभा नगरेको मात्रै होइन गत आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश दिन पाएको छैन ।

बैैंकको क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नभएको भन्दै राष्ट्र बैंकले गत आवको मुनाफाबाट लाभांश दिन रोक लगाइसकेको छ ।

बैंकले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव राष्ट्र बैंकले अस्वीकृत गरेको छ ।

नेप्सेले वर्गीकरण गर्दा जेडमा परेपछि सोमबार बैंकले साधारणसभा गर्ने सूचना जारी गरेको छ । चैत २० गते साधारणसभा गर्ने र त्यसको लागि चैत ८ गते बुक क्लोज गर्ने सूचना जारी गरिसकेको छ ।

कम्पनीले पुस मसान्तसम्म साधारणसभा गरिसक्नुपर्ने छ । समयमै साधारणसभा गर्दा बैंकले संस्थागत सुशासन पालना नगरेको देखिएको हो ।

समूह ‘जेड’मा हाल ७ वटा जीवन बीमा कम्पनी पनि छन् । जसमा एशियन लाइफ, गुराँस लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेशनल लाइफ, नेपाल लाइफ, प्राइम लाइफ र सूर्या लाइफ इन्स्योरेन्स छन् ।

ती कम्पनीहरुले पनि समयमै साधारणसभा गर्न सकेका छैनन् । बीमा कम्पनीको बीमाङकीय मूल्याङकन समयमै नहुँदा तोकिएको समयमा साधारणसभा हुन नसक्दा उक्त वर्गमा परेका हुन् ।

यस्तै १५ वटा निर्जीवन बीमा कम्पनी पनि जेड वर्गमै छन् ।

जसमा एभरेष्ट, हिमालयन, आइएमई, लुम्बिनी, नेको, नेपाल इन्स्योरेन्स, एनएलजी, प्रभु, प्रिमियर, प्रुडेन्सियल, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ र यूनाइटेड इन्स्योरेन्स छन् ।

जेडमा अन्य समूहका २ कम्पनी, होटल तथा पर्यटन समूहका ४ कम्पनी, उत्पादन समूहका १८ कम्पनी, टे«डिङ समूहका ४ कम्पनी पनि छन् ।

साथै, लगानी समूहको एउटा कम्पनी, जलविद्युत समूहका १५ कम्पनी, माइक्रोफाइनान्स समूहका ४० कम्पनी, वित्त समूहका १६ कम्पनी र विकास बैंैक समूहका १२ वटा कम्पनी पनि छन् ।


क्लिकमान्डु