नियम बिपरीत ब्याज बढाउने बैंकलाई राष्ट्र बैंकले डण्डा चलाएपछि घटाए ब्याजदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरीत ब्याज बढाउने वाणिज्य बैंकहरुमाथि डण्डा चलाएको छ ।

वाणिज्य बैंकहरुले निक्षेप बढाउन ब्याजदर बढाउने वाणिज्य बैंकहरुलाई कारवाही गरेको हो । वाणिज्य बैंकहरुले तरलता अभाव भएपछि बढी ब्याजदर दिन रेमिट्यान्स खातामा निक्षेप जम्मा गर्न थालेका थिए ।

गत महिना केही बैंकले नेपाल दूरसञ्चार प्राधिकरणलाई निक्षेपमा बढी ब्याज दिएपछि त्यसविरुद्ध बैकर्स संघ हुँदै राष्ट्र बैंकमा समेत उजुरी परेको थियो । प्राधिकरणले १ अर्ब २० करोड रुपैयाँ निक्षेप बोलकबोलबाट राख्न लागेको थियो । जसमा केही बैंकले १०.०३ प्रतिशत ब्याजदर अफर गर्नुपर्नेमा निक्षेप तान्नका लागि १०.१३ प्रतिशत ब्याजदर अफर गरेर निक्षेप तानेका थिए ।

बैंकहरुले अहिले एकवर्ष अवधिको मुद्दति निक्षेपमा संस्थागततर्फ १०.०३ प्रतिशत ब्याजदर दिने गर्छन् । बैंकहरुले संस्थागतमा मुद्दतिमा ०.१० प्रतिशत थप ब्याजदर दिन पाउँछन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले नियम विपरीत ब्याजदर बढी दिएका बैंकलाई सचेत बनाउने काम भइरहेको बताए ।

‘केही बैंकले संस्थागततर्फ रिन्यू भनेर नयाँमा बढी ब्याजदर दिएर पैसा लिएका थिए, केहीले रेमिट्यान्स खातामा आउदै नआएको रेमिट्यान्समा बढी पैसा दिएका थिए,’ भट्टले भने ।

राष्ट्र बैंकले नियम विपरीत बढी ब्याजदर दिएका बैंकहरुमा स्थलगत टोली नै पठाएको थियो । बैंक तथा वित्तीय संस्थाले निक्षेपभन्दा कर्जा बढी दिएपछि अहिले प्रणालीमा पैसाको अभाव भएको छ । पुससम्म बैंकहरुले अत्यधिक कर्जा दिएका थिए । माघ र फागुन महिनामा कर्जा कम दिएका छन् ।

राष्ट्र बैंकले तरलता कम भएपछि पैसा तान्न केही बैंकले बिकृति नै निम्ताएको देखिएको जनाएको छ ।

‘नियम विपरीत ब्याजदर बढी दिएका बैंकहरुले त्यसलाई सुधार गरेका छन्, आउने दिनमा नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्,’ राष्ट्र बैंकका प्रवक्ता भट्टले भने ।

अहिले बैंकहरुले बचत खातामा ६ देखि ८ प्रतिशतसम्म तथा व्यक्तिगततर्फ मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिने गरेका छन् । रेमिट्यान्समा भने बैंकहरुले १२.०३ प्रतिशत ब्याजदर दिने गरेका छन् ।

बैंकहरुले संस्थागततर्फ नयाँ निक्षेपलाई रिन्यूमा देखाउने तथा व्यक्तिगततर्र्फ विदेशबाट पैसा नआएपनि रेमिट्यान्स खातामा १ प्रतिशत बिन्दुले बढी ब्याजदर दिएर निक्षेप राख्ने गरेका छन् ।


क्लिकमान्डु