सम्राट सिमेन्टको व्यापारमा बाउन्स ब्याक, उत्पादन क्षमता बिस्तार गर्दा पौने २ अर्बले ऋण थपियो



काठमाडौं । अघिल्लो वर्ष ३३ प्रतिशतले ओरालो लागेको सम्राट सिमेन्टको व्यापार गत वर्ष ९४ प्रतिशतले बाउन्स ब्याक भएको छ ।

कम्पनीले आव २०७५/७६ मा ३ अर्ब १६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने आव २०७६/७७ मा कम्पनीको व्यापार २ अर्ब ११ करोड ३० लाख रुपैयाँमा सीमित भएको थियो ।

तर कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब १० करोड ४० रुपैयाँको व्यापार गर्न सफल भएको छ ।

कम्पनीले यस अवधिमा ऋण ९ अर्ब ७६ करोड रुपैयाँबाट बढाएर गत वर्षसम्म ११ अर्ब ४४ करोड १० लाख रुपैयाँ पुर्याएको छ ।
कम्पनीले उत्पादन क्षमता बढाउँदै व्यवार बिस्तारको रणनीति लिएसँगै कर्जाको आकार पनि बढेको छ ।

सन् २०२२ सम्ममा वार्षिक १८ सय मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको कम्पनीले उत्पादन क्षमता बढाउँदै वार्षिक ३६ सय मेट्रिक टन सिमेन्ट उत्पादनको लक्ष्य लिएको छ । कम्पनीले सन् २०२१ को जनवरी महिनादेखि ४ हजार मेट्रिक टन क्लिङ्कर उत्पादन क्षमताको पूर्वाधार निर्माण गरिसकेको छ ।

कम्पनीले ग्रान्डिङ सिमेन्ट र क्लिङ्कर उत्पादनका लागि १० अर्ब १३ करोड २ लाख रुपैयाँ लागत लागेको बताएको छ । कम्पनीले ग्रान्डिङ उपकरण निर्माण कार्य सकाएर गत फेब्रुअरीबाटै सञ्चालनमा ल्याइसकेको छ ।

कम्पनीले सिमेन्ट उत्पादनका लागि कोइला, फ्ल्यास, जीपसम, क्ले, बक्साइट र आइरन मुख्य कच्चा पदार्थको रुपमा प्रयोग गरिरहेको छ । कम्पनीले कच्चा पदार्थ दक्षिण अफ्रिका र अष्ट्रेलियाबाट आयात गर्दै आएको छ ।

सिमेन्ट र क्लिङ्कर उत्पादनका लागि मात्रै ६५ प्रतिशत कच्चा पदार्थको रुपमा कोइला प्रयोग गरिएको थियो । केयर नेपालका अनुसार कम्पनीले उत्पादन गरेको सिमेन्ट र क्लिङ्करको बिक्री वितरण गरेको कुल लागतको ६९ प्रतिशत कच्चा पदार्थको रहेको उल्लेख छ ।

उत्पादन भएको सिमेन्ट र क्लिङ्कर कम्पनीले पूर्णरुपमा आन्तरिक बिक्री गरेको जनाएको छ ।

कम्पनील उत्पादन क्षेत्रमा सिमेन्ट र क्लिङ्कर उत्पादनमा आयातित तथा आन्तरिक कच्चा पदार्थको प्रयोग गर्दै आएका छन् ।

कम्पनीका अनुसार अहिले सिमेन्टको मूल्य पनि घटेको छ । यसअघि प्रतिबोरा ५ सय २० रुपैयाँमा बिक्री भइरहेकोमा अहिले मूल्य घटेर ४७२ रुपैयाँमा सीमित भएको छ ।

साथै, कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ अर्ब ५० करोड ७० लाख रुपैयाँको व्यापार हुने अनुमान गरेको छ । जसमा ५५ करोड २० लाखको सिमेन्ट र ९५ करोड ४० लाख रुपैयाँको क्लिङ्कर गरी १ अर्ब ५० करोडका व्यापार हुने अनुमान गरेको छ ।

कम्पनीले ११ अर्ब ४४ करोड १० लाख रुपैयाँ कर्जाको रेटिङ गराएको छ । जसमा दीर्घकालिन कर्जाका लागि ८ अर्ब ७२ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ बराबरको कर्जा छ ।

सन् २०१३ मा दाङ जिल्लामा स्थापना भएको सम्राट सिमेन्टमा चौधरी ग्रुपको ३५.८५ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीको मुख्य बोर्ड डाइरेक्टरमा ५ जना छन् ।


क्लिकमान्डु