एक वर्षमा फाइनान्स कम्पनीको निक्षेप संकलन ३ अर्बले घट्यो, खाता खोल्नेको संख्या १२ लाख नाघ्यो



काठमाडौं । फाइनान्स कम्पनीहरुमा निक्षेप संकलन घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आवको पुस महिनाको तुलनामा चालु आवको पुस महिनामा फाइनान्स कम्पनीहरुमा निक्षेप संकलन घटेको हो ।

उक्त अवधिमा फाइनान्स कम्पनीहरुमा ३ अर्ब ४ करोड ९८ लाख रुपैयाँले निक्षेप संकलन घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत आवको पुस मसान्तसम्ममा फाइनान्समा ९९ अर्ब एक करोड १३ लाख रुपैयाँ निक्षेप संकलन भएको थियो ।

चालु आवको पुस महिनामा आइपुग्दा फाइनान्स कम्पनीहरुमा निक्षेप संकलन ९५ अर्ब ६ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ । फाइनान्स कम्पनीहरुमा निक्षेप खाताको संख्या भने बढेको छ ।

२०७७ को पुसमसान्तसम्ममा फाइनान्सहरुमा निक्षेप खाताको संख्या ६ लाख ९५ हजार ७५६ थियो । चालु आवको पुस मसान्तमा आइपुग्दा सो संख्या बढेर १२ लाख ७ हजार ७८० मा पुगेको छ ।

फाइनान्स कम्पनीहरुले शाखा बिस्तार गर्दा निक्षेप खाताको संख्यामा वृद्धि देखिएको फाइनान्स एशोसियसन नेपालका अध्यक्ष सरोजकाजी तुलाधार बताउँछन् । फाइनान्स कम्पनीहरुले शाखा बिस्तार गर्दा निक्षेप खाताको संख्या बढेको उनको भनाइ छ ।

‘गत आवको पुस मसान्तमा फाइनान्स कम्पनीहरुको रेट कमर्सियल बैंकको भन्दा कम थियो,’ श्रेष्ठले क्लिमाण्डूसँग भने, ‘जसले गर्दा निक्षेप संकलन रकम बढी थियो,।’

‘फाइनान्स कम्पनीहरुले शाखा बढाउँदा रकमको तुलनामा संख्या बढी देखिएको हो,’ उनले भने ।

फाइनान्सहरुमा निक्षेप खाताको संख्या बढे पनि कर्जा खाताको संख्या भने घटेको तथ्यांक छ । १७ फाइनान्स कम्पनीमा कर्जा खाताको संख्या ३९ हजार २२५ छ । गत आवको पुस मसान्तसम्मा कर्जा खाताको संख्या ४५ हजार ५३९ थियो ।

फाइनान्स कम्पनीको संख्या पनि घटेको छ । गत आवको पुस मसान्तको तुलनामा फाइनान्स कम्पनीको संख्या २१ बाट घटेर १७ मा सीमित भएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमा निक्षेप खाताको संख्या १२ लाख नाघेको छ ।

यस अवधिसम्ममा फाइनान्सहरुमा १२ लाख ७ हजार ७८० वटा निक्षेप खाता छन् । गत आवको यसै अवधिको तुलनामा फाइनान्सहरुमा इन्टरनेट बैंकिङको सुविधा लिएका ग्राहकको संख्यामा वृद्धि देखिएको छ ।

इन्टरनेट बैंकिङको सुविधा लिने ग्राहकहरुको संख्या ६ हजार ८६१ बाट बढेर ८ हजार ९५१ मा पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।
तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्यामा भने गिरावट आएको छ । मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या एक लाख १५ हजार ७८७ बाट झरेर ७१ हजार ६०७ मा सीमित भएको हो ।

फाइनान्सहरुको एटिएम संख्या ५३ बाट झरेर ४३ मा आइपुगेको तथ्यांक छ । डेबिड कार्ड प्रयोगकर्ताको संख्या पनि घटेको छ । गत आवको पुस मसान्तसम्मा फाइनान्सहरुमा डेबिड कार्ड प्रयोगकर्ताको संख्या ४० लाख ९१६ थियो ।

चालु आवको पुस मसान्तको अवधिमा आइपुग्दा सो संख्या घटेर ३७ हजार ८५० मा सीति भएको छ ।

फाइनान्सहरुको चुक्ता पुँजी पनि घटेको छ । गत आवको पुस मसान्तमा फाइनान्सहरुको चुक्ता पुँजी १४ अर्ब ७ करोड ९६ लाख रुपैयाँ थियो । चालु आवको पुस मसान्तको अवधिमा फाइनान्सको चुक्ता पुँजी १३ अर्ब ७ करोड १३ लाख रुपैयाँ छ ।


क्लिकमान्डु