१८ वर्षे एफवान सफ्टका १३ कम्पनी, अब ‘इनोभेटिभ बैंकिङ प्रोडक्ट’मा ध्यान दिने



काठमाडौं । ढेड दशकअघि नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा सफ्टवेयर इन्जिनियरिङ पढ्दै थिए विश्वास ढकाल ।

विभिन्न उतारचढावबीच पढाइलाई निरन्तरता दिँदै एनसीआईटी आएका ढकाललाई आफ्नो पढाई खर्च जुटाउन प्लान इन्टरनेसनलमा डेटा इन्ट्रीको काम गर्थे । तलब थियो महिनाको १४ हजार ।

त्यहीबेला उनका साथीहरुले आफ्नै डोमेन दर्ता गरिरहेका थिए । कतिले डोमेन दर्ता गराउने व्यवसाय गरिरहेका थिए ।

डोमेन दर्ता गर्ने लहर नै चल्यो ।

आईटी पढिरहेका ढकाललाई डोमेन दर्ता गर्ने र वेव होस्टिङको व्यवसाय गर्न सकिन्छ भन्ने सोचिरहेका थिए । त्यसबाट धेरै आम्दानी नभए पनि कम्तिमा कलेजको शुल्क तिर्न सकिन्छ भन्ने लागिरहेको थियो ।

उनले निर्णय गरे कम्पनी दर्ता गरेर नै डोमेन दर्ताको काम गर्ने । सन् २००४ मा एफवान सफ्ट कम्पनी दर्ता गरे । प्लान इन्टरनेटसनलमा ३ महिना जागिर गरेका थिए । त्यसबाट बचेको केही रकम कम्पनीमा लगानी गरे ।

झन्डै डेढ वर्ष डोमेन दर्ताको काम गरे । त्यो अवधिमा उनले ४ हजार डोमेन दर्ता गरिसकेका थिए । त्यसबाट भएको आम्दानीले आफ्नो कार्यालय विस्तार गर्न सके । त्यो आम्दानीले ४ वटा कम्प्युटर किने र ४ जनालाई स्टाफ नियुक्त गरे ।

ढकालको डोमेन दर्ता गर्न शुरु भएको एफवान सफ्ट कम्पनी आज नेपालको सबैभन्दा ठूलो फिनटेक कम्पनी बन्न सफल भएको छ ।

आज एफवान सफ्ट १९औं वर्षमा प्रवेश गरेको छ । १९ वर्ष लाग्दै गर्दा एफवान सफ्ट अब ‘ग्रुप अफ कम्पनी’ बनेको छ । यसअन्र्तगत १३ वटा कम्पनी सञ्चालनमा छन् ।

ती कम्पनीमार्फत विभिन्न काम गर्दै आएको छ । जस्तो कि, बैंकिङ, सफ्टवयर डेभलपमेन्ट, स्वास्थ्य, बीमा, बस टिकट, मनि ट्रान्सफर, खानेपानी, ट्राभल, आईटी कलजेजस्तो धेरै क्षेत्रमा विभिन्न कम्पनीमार्फत् काम गरिरहेको छ ।
जसमा एक हजार जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

‘एफवान सफ्ट सानो सफ्टवयर कम्पनीबाट शुरु भएको हो,’ एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास शर्मा भन्छन्, ‘अहिले हामीले धेरै सेवा थपेका छौं ।’

सन् २००४ मा शुरु भएको एफवान सफ्टले सन् २००६ देखि बैंकिङ र फाइनान्समा फोकस गरेर काम शुरु गरे ।

नेपालको डिजिटल भुक्तानीमा एफवान सफ्टले जग हाल्यो । एकातिर बैंकिङ प्रणाली अझ सहज र डिजिटल बनाउने प्रयास गर्यो भने अर्कोतिर इसेवामार्फत् डिजिटल भुक्तानी सेवाको शुरुवात गर्यो ।

सन् २००९ मा इसेवा शुरु गर्दा मान्छेहरुले उनीहरुलाई पत्याइरहेका थिएनन् । मोबाइलको रिचार्ज कार्डलाई ‘डिजिटल रिचार्ज’ गर्ने प्रयास गरिरहेका विश्वासको टिमले ठूलो सपना देखेको थियो ।

उनीहरुलाई थाहा थियो, यसको बजार ठूलो छ । भारतमा पेपलजस्ता सेवाहरु आक्रमकरुपमा आइरहेका थिए ।

इसेवामा विशेष ध्यान दिएर काम गर्दै थिए । उनले यस कम्पनीमा काम गर्ने विशेष टिम बनाउन चाहन्थे ढकाल । एक्लै काम गर्न सकिन्दैन भन्ने उनलाई लागेको थियो ।

उनीसँग जोडिन आइपुगे सुवास शर्मा र अस्गर अली । दुवै कलेजका मन मिल्ने साथी थिए ।

त्यसपछि यो टिमले बैंकिङ क्षेत्रमा पनि काम गर्दै गयो । सन् २००८ देखि एसएमएस बैंकिङको शुरुवात भइसकेको थियो । जसबाट ग्राहकले बैंकको जानकारी मोबाइलबाट पनि लिन सकिन्छ भन्ने थाहा पाए । यसलाई अझ परिस्कृत गर्दै इन्टरनेट बैंकिङको शुरुवात भयो । त्यसपछि मोबाइल बैंकिङमा पनि एफवान सफ्टले काम गरे । बैंकहरुलाई सफ्टवेरहरु पनि उपलब्ध गराउन थाले ।

सन् २०१२ मा इसेवालाई छुट्टै कम्पनीको रुपमा दर्ता गरेर काम गर्न थाले ।

एफवान सफ्टकोे यात्रामा फोन पेले ठूलो भरथेग गरेको छ । यसले कम्पनीको प्रोडक्टहरुको इकोसिस्टम बनाएर एकबैंकदेखि अर्को बैंक, मोबाइल वालेट र बैंकलाई एकअर्कामा जोड्ने काम गरिरहेको छ ।

‘यो भनेको विस्तारै इकोसिस्टम बनाउँदै जाने काम हो,’ शर्मा भन्छन् ।

अब कम्पनीले बैंकिङ क्षेत्रमा नयाँ नयाँ सेवाहरु कसरी ल्याउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्ने शर्माले बताए । जस्तो कि फोन पेले अहिले बैंकहरुले मोबाइलबाट ऋण दिनसक्ने ‘मोबाइल लोन’ सेवा उपलब्ध गराएको छ ।
‘अब हामी यस्तै बैंकिङ ग्राहकलाई सुविधा दिने खालको नयाँ प्रोडक्टहरु काम गर्ने छौं,’ शर्माले भने, ‘ती सेवा पहिचान गर्दै काम गरिरहेका छौं ।’

अहिले बजारको समस्या समाधान गर्दै अगाडि बढिरहेको उनले बताए । कम्पनीले यी कम्पनीमा एक हजार जनालाई रोजगारी दिइरहेको छ ।

यस्ता छन्, एफवान सफ्टका कम्पनीहरु

एफवान सफ्ट

एफवान सफ्ट सफ्टवेयर डेभलपमेन्ट र इन्भेष्टमेन्ट कम्पनी हो । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले अन्य विभिन्न कम्पनीमा लगानी गरेको छ ।

अधिकांश बैंकहरूमा एफवान सफ्टले विकास गरेको अनलाइन र मोबाइल बैंकिङ सेवाहरू सञ्चालनमा छ । यसले नेपाल बाहिर पनि आफ्नो सेवा दिइरहेको छ ।

ई-सेवा

ई-सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । सन् २००९ मा बेटा भर्सन रिलिज गरी सन् २०१० जनवरी २५ बाट सेवा शुरु गरेको ई–सेवाले हाल झण्डै ५० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख एजेन्ट नेटवर्कबाट डेढ करोड जनतालाई भुक्तानी सेवा दिइरहेको कम्पनीले जनाएको छ ।

ई-सेवाबाट हाल दैनिक २ लाखभन्दा बढीको कारोबार हुन्छ । हाल ई-सेवामार्फत् मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, रेमिट्यान्स सेवा, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ई-सेवामा हाल ४९ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

फोनपे

फोनपे भुक्तानी प्रणाली सञ्चालक हो । फोन पेको नेटवर्कमा १ करोड ३० लाख बढी रजिष्टर्ड युजर, १ लाख ५० हजार बढी मर्चेन्ट र ५० बढी पार्टनर आबद्ध छन् । फोन पे अन्तर्गत फोनपे अफर, फोनपे मर्चेन्ट, फोनपे डाइरेक्ट, क्युआर पेमेन्ट, कर्पोरेट फोन पे, हब पेमेन्ट, थर्डपार्टी पेमेन्ट सेवा उपलब्ध छन् ।

कोजेन्ट हेल्थ

कोजेन्ट हेल्थ स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्णरूपमा डिजिटलाइज गर्न प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ई-सेवाद्वारा निर्मित ई-अपोइन्टमेन्ट र क्यूआर पेमेन्टलगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरू नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेका छन् ।

दियालो टेक्नोलोजिज

एफवान सफ्टले सञ्चालन गरेको अर्को कम्पनी हो दियालो टेक्नोलोजीज । कम्पनीले ‘वाटरमार्क’ नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गरिरहेको छ ।

कम्पनीले नेपालमै पहिलो पटक क्लाउडमा आधारित अकाउन्टिङ सफ्टवेयर ‘इलेखा’लगायतका अन्य सफ्टवेयर पनि निर्माण गर्दै आएको छ ।

दर्शन टेक

दर्शन टेकले नेपालको बीमा क्षेत्रलाई डिजिटलाइज गरिरहेको छ । आई सोलुसन नामक सफ्टवेयर निर्माण गरी बीमा क्षेत्रलाई डिजिटलाइज गर्ने अभियानमा कम्पनी अगाडि बढेको छ ।

यसले बीमा क्षेत्रमा विदेशी सफ्टवेयरको प्रयोगलाई विस्थापित गर्दै गएको छ । हाल नेपालका अधिकांश जीवन बीमा कम्पनीले दर्शन टेकको सफ्टवेयर प्रयोग गरिरहेका छन् ।

ई-सेवा मनि ट्रान्सफर

रेमिट्यान्सलाई सहज र सरलरूपमा नेपाल भित्र्याउन सहयोग गर्ने उद्देश्यका साथ ई-सेवा मनि ट्रान्सफरको शुरु भएको हो । ई-सेवा मनि ट्रान्सफरको सेवा २२ देशमा विस्तार भइसकेको छ ।

विदेशबाट पठाएको रेमिट्यान्स ई-सेवा मनी ट्रान्सफरका ८ हजार बढी एजेन्ट तथा ई-सेवा वालेटबाट प्राप्त गर्न सकिनेछ । त्यस्तै नेपालमा कुनै पनि बैंक खातामा पठाइएको रकम तत्कालै जम्मा हुनेछ ।

बस सेवा

बस सेवा डटकम नेपालको पहिलो अनलाइन रियल टाइम टिकट बुकिङ प्लाटफर्म हो । बस सेवाको मोबाइल एप र वेबसाइट प्रयोग गरी घरमै बसेर सहजरूपमा अनलाइनबाटै बसको टिकट काट्न सकिन्छ ।

एक्सटेन्सो डेटा

एक्सटेन्सो डेटा भनेको एफवान सफ्ट ग्रुप अन्तर्गतको डेटा एनालाइटिक्स कम्पनी हो । कम्पनीको एआई, डेटा एनालाइटिक्स, प्रेडिक्टिभ एनालाइसिस र बिग डेटामा दक्षता रहेको छ । कम्पनीले बिजनेस एनालाइटिक्स, फ्युचर फोरकास्टिङ, प्रोसेस अप्टिमाइजेसन, डेटा इन्जिनियरिङ तथा प्रोसेस अटोमेसन सेवा प्रदान गर्दै आएको छ ।

लोजिका बिन्स

लोजिका बिन्स एफवान सफ्ट ग्रुप अन्तर्गतकै एउटा कम्पनी हो । यसले आउटसोर्सिङको काम गर्छ । यसले नेपालबाटै सफ्टयर बनाएर विदेशमा सेवा प्रदान गरिरहेको छ ।

सिरान टेक्नोलोजिज

सिरान टेक्नोलोजिजले इन्टरप्राइजमा आधारित सेवाहरू प्रदान गर्दै आएको छ । यसले म्यानेजमेन्ट सिस्टम, डेस्कटप तथा वेबमा आधारित एप्लिकेसन, मोबाइल एप्लिकेसनलगायतका सेवा प्रदान गर्छ ।

स्वस्तिक कलेज

स्वस्तिक कलेज एउटा आईटी कलेज हो । स्वस्तिक कलेजमा ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएससी सीएसआईटी) र ब्याचलर इन कम्प्युटर एप्लिकसेन (बीसीए) विषय पढाइ हुन्छन् । यो कलेजमा पढेका विद्यार्थीलाई एफवान सफ्टमा जब प्लेसमेन्टको सुविधासमेत हुने कम्पनीले जनाइएको छ ।

ई-सेवा ट्राभल

ई-सेवा ट्राभल पनि एफवान सफ्टअन्तर्गतको कम्पनी हो । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिकेटिङको काम गर्छ । डिजिटल टिकेटिङलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यसको स्थापना भएको हो ।


क्लिकमान्डु