सिमेन्ट उद्योगीले उत्पादन बढाउँदा क्लिङ्करमा आत्मनिर्भर बन्दै देश, आयात ८८%ले घट्यो



काठमाडौं । विगतको दिनमा उच्च रुपमा आयात हुँदै आएको सिमेन्ट क्लिङकरमा मुलुक आत्मनिर्भर हुँदै गएको छ । नेपालमा विगतका दिनमा ग्रिण्डिङ सिमेन्ट र क्लिङ्कर भारतबाट आयात गरेर आपूर्ति गर्दै आएको थियो ।

तर, अहिले नेपालकै उद्योगीहरूले उद्योग स्थापना गरेका उद्योगबाट उत्पादन बढेपछि क्रमशः आयात कम हुँदै गएको हो ।

नेपालले आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ बराबरको मात्रै सिमेन्ट क्लिङ्कर आयात भएको थियो । त्यसयता क्लिंकर आयात निरन्तर घटिरहेको छ ।

त्यसयता आव २०७६/७७ मा नेपालले ४ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ र आव २०७७/७८ मा ३ अर्ब ६० करोड ५८ लाख रुपैयाँको सिमेन्ट क्लिङ्रकर आयात गरेको थियो ।

पछिल्ला दिनमा उद्योगीहरूले सिमेन्ट क्लिङ्कर उत्पादनका उद्योग स्थापना गरेदेखि अहिले सो रकम बराबरको आयात भएको छैन । अहिले आन्तरिक उद्योगले उत्पादन गरेको क्लिङ्करले नै बजार धान्ने व्यवसायीहरूको भनाइ छ ।

चालु आर्थिक वर्षको ७ महिनामा ३१ करोड ९४ लाख रुपैयाँको मात्रै क्लिङ्कर आयात गरेको छ । तर, गत वर्षको सोही अवधिमा नेपालले २ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ बराबरको आयात गरेको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ८८.९ प्रतिशतले कमी हो ।

पछिल्लो समय सिमेन्ट र क्लिकंकरमा आत्मनिर्भर भइसकेपछि व्यवसायीहरुले सिमेन्ट निर्यात गर्न पाउनु पर्ने बताउँदै आएका छन् । तर भारत सरकारले नेपाली गुणस्तर चिन्ह प्राप्त सिमेन्टलाई समेत मान्यता नदिएकाले निर्यात हुन सकेको छैन । हाल भारतमा नेपालमा भन्दा सिमेन्ट महंगो छ ।

हाल देशभर ६५ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । त्यसमध्ये ४४ वटा ग्रिन्डिङ उद्योग छन् भने २१ वाट क्लिङ्कर उद्योग छन् । सिमेन्ट उद्योगमा कुल लगानी ३ खर्ब रुपैयाँको छ ।

हाल नेपाल सिमेन्टमा पूर्णरुपमा आत्मनिर्भर भइसकेको छ । साथै, क्लिङ्करमा समेत आत्मनिर्भर हुँदै गएको नेपाल सिमेन्ट उत्पादक संघका सदस्य एवं इन्टरनेशनल सिमेन्ट उद्योगका अध्यक्ष राजन कुमार झाले बताए ।

उनकाअनुसार विगतको दिनमा नेपालमा पर्याप्त मात्रामा सिमेन्ट क्लिङ्कर उत्पादन नहुँदा आयात गर्नुपर्ने अवस्था थियो । तर, अहिले नेपालका उद्योगीहरूले क्लिङ्कर उत्पादन शुरु गरेदेखि आवश्यक परे मात्रै आयात गर्दै आएको छ ।

‘कतिपय विकास निर्माणको आयोजनामा भारतीय सिमेन्ट क्लिङ्कर आवश्यक पर्छ । सोहीअनुसार आयात गर्ने गर्दछ,’ उनले भने ।

झाका अनुसार गत वर्षभन्दा यो वर्ष नयाँ उद्योगहरू सञ्चालनमा ल्याएको छ । चालु आर्थिक वर्षमा मात्रै ५ वटा सिमेन्ट क्लिङ्कर उद्योग थप भएको छ । उक्त उद्योगलगायत पुरानो उद्योगले उत्पादनमा जोड दिँदा आयात गर्नुपर्ने अवस्था अन्त्य भएको छ ।
साथै, पुरानो उद्योगहरूले पनि आफ्नो उत्पादन बढाएको हुनाले क्लिङ्कर आयात गर्नुपर्ने अवस्था छैन । तर, यो वर्ष क्लिङ्करको खपत कम भएको उनको भनाइ छ ।

‘यो वर्ष क्लिङ्करको खपत कम भएको छ,’ उनले भने, ‘नेपालमा नयाँ उद्योग थपिएको छ भने पुरानो उद्योगले उत्पादन बढाएको छ । खपत नभएपनि उद्योगीबाट उत्पादन रोकिँदैन । त्यसैले आयात कम भएको हो ।’

भारतबाट आयात गर्ने क्लिङ्करभन्दा नेपालमा उत्पादन भएको क्लिङ्करको मूल्य सस्तो छ । जसले गर्दा आयातमा प्रत्यक्ष असर पर्दछ । साथै, भारतको क्लिङ्करभन्दा नेपालको क्लिङ्कर निकै गुणस्तर रहेको उनको दाबी छ । ‘भारतको भन्दा नेपालमा क्लिङ्कर उत्पादन गर्नका लागि खानी निकै राम्रो छ,’ उनले भने ।

क्लिङ्करको प्रयोग सिमेन्टको खपतका आधारमा हुन्छ । नेपालमा चालु आर्थिक वर्षमा १ करोड टन मात्रै खपत हुने अनुमान गरेको छ ।

अहिलेसम्म बजारमा ओरालोतर्फ धकेलिएको हुनाले मूल्य पनि निकै सस्तो भएको उनको दाबी छ ।

‘अहिले कोरोनाका कारण खर्च गर्ने रकममा ह्रास आएको छ । साथै, तरलता अभावका कारण सहजै कर्जा प्रवाह नहुँदा पनि समस्या भएको हो,’ उनले क्लिकमाण्डूसँग भने ।

त्यसैगरी, सरकारले यो वर्ष विकास निर्माणको खर्च निकै न्यून गरेको छ । हालसम्मको अवधिमा पनि विनियोजित बजेटको लक्ष्य हासिल गर्न सकेको छैन । त्यसैले खपत निकै कम भएकाले विकास निर्माण कार्यमा बढी जोड दिनुपर्ने उल्लेख गरे ।


क्लिकमान्डु