रुस र युक्रेन युद्धले महंगियो नेपालीको भान्छाः खाने तेलमा कालोबजारी



काठमाडौं । अहिले रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । रुस र युक्रेनबीच चलिरहेको युद्धले आर्थिक क्षेत्रमा असर पर्न थालेको छ । युद्ध दैनिक रुपमा डलरको भाउ बढेको छ भने पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । साथै, डलरको मूल्यले कायम हुने सुनको मूल्य बढ्दो क्रममा छ ।

रुस र युक्रेनबीच युद्ध चलिरहँदा नेपालको आर्थिक क्षेत्रमा पनि असर देखिन थालेको छ । नेपालमा डलरको मूल्यमा कायम हुने वस्तु र आयातित वस्तुमा असर देखिन थालेको हो ।

त्यस्तै, उपभोक्ताको अति आवश्यक वस्तु खाने तेल युक्रेनबाट आयात गरी आपूर्ती गर्दै आएको छ । नेपालको भान्छामा प्रयोग हुने तेल युक्रेनबाट आयात हुने भएकाले यसको प्रभाव प्रत्यक्ष रुपमा देखिन्छ ।

युद्ध शुरु भएको हप्तादिनमै नेपाली बजारमा भने त्यसैको बाहाना बहानामा उद्योगीहरूले खाने तेलमा कालोबजारी र कार्टेलिङ गर्न थालेका छन् ।

उद्योगीहरूले अहिले पर्याप्त मात्रामा तेल खुद्रा बजारलाई नदिएको खुद्रा व्यवसायीहरुको आरोप छ । साथै, आपूर्ती भएको तेलको मूल्य पनि बढाइएको छ ।

काठमाडौंको शान्तिनगरस्थित सुजन स्टोरका सञ्चालक राजकुमार श्रेष्ठले उद्योगीहरूले पर्याप्त मात्रामा तेल दिन छोडेको बताए । उनका अनुसार केही हप्तासम्म तेल जति पनि ल्याउन सकिन्थ्यो । तर, यो हप्ताबाट उद्योगीहरूले तेल नभएको भन्दै सीमित मात्रामा दिन थालेको छ ।

‘मैले एक पटकमा दुई हप्ताअघि ५० कार्टुन तेल ल्याएको थियो । अहिले उद्योगीले नै छैन भन्न थालिसकेका छन्,’ उनले भने ।
त्यसैगरी, उद्योगीहरूले अहिले तेलको मूल्य बढाएर बजार पठाएको उनको भनाइ छ । अहिले उद्योगीहरुले न्यून परिमाणमा मात्रै खाने तेल बजार पठाउन थालेको उनले बताए ।

रुस र युक्रेनबीच युद्ध चलेको हप्ता दिन मात्रै भएको छ । तर, नेपालमा भने तेल उद्योगीहरूले अभाव भएको भन्दै कार्टेलिङ र कालोबजारी गरेको खुद्रा व्यवसायीहरूको दाबी छ ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले केही दिनयता होलसेल तथा खुद्रा व्यवसायीले माग अनुसारको तेल पाउन छाडिसकेका छन् । विगतको दिनमै १ सय कार्टुन बिक्रीका लागि ल्याउने होलसेल पसलका व्यवसायीहरूले अहिले ५० कार्टुन नपाइरहेको अवस्था छ । त्यस्तै, एक हप्ताको अन्तरालमै तेलको मूल्य अत्यधिक बढेको उनको भनाइ छ ।

‘अहिले युद्धका कारण तेल अभाव भएको भन्दै प्रतिलिटर २० देखि २५ रुपैयाँसम्म बढिसकेको छ,’ उनले भने ।

कोरोनाका कारण कारण मूल्यवृद्धि भएर २८० रुपैयाँसम्म पुगेको थियो । तर, बीचमा घटाएर सूर्यमूखी तेलको प्रतिलिटर २५० रुपैयाँ र भटमासको तेल २४० रुपैयाँ कायम भएको थियो । अहिले बढाएर प्रतिलिटर २७० र २७५ रुपैयाँसम्म मूल्य पुगिसकेको छ ।

खुद्रा व्यवसायीहरूले उद्योगबाट खरिद गरी बजारमा बिक्री गर्ने हुँदा पछिल्लो समय उद्योगीहरूले नै कार्टेलिङ र मूल्य बढाएको उनको भनाइ छ ।

‘तेलको कच्चा पदार्थ युक्रेनबाट आयात हुन्छ । तर, अहिले हप्ता दिन नपुग्दै अभाव देखाएर मूल्य बढाउने रणनीति अपनाएको छ,’ उनले भने ।

तेल अत्यावश्यक वस्तु भएकाले जति मूल्य भएपनि खरिद गर्ने हुँदा व्यवसायीहरूले बढी नाफा कमाउने उद्देश्यले कार्टेलिङ गरेको उनको दाबी छ ।

नेपालले तेस्रो मुलुकबाट आयात गरी भारततर्फ निर्यात गर्नेको हिस्सा ठूलो छ । व्यवसायीहरूले युक्रेनबाट तेल आयात गरी प्रशोधन गरेर भारततर्फ ठूलो हिस्सा निर्यात गर्दै आएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

मूल्य बढाउनेलाई कारबाही गर्न माग
बजारमा बिनाकारण खाने तेलको मूल्य बढाउने उद्योगीहरूलाई राष्ट्रिय उपभोक्ता मञ्चले कारबाही गर्न सरकार समक्ष माग गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै मञ्चले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै अत्यधिक मूल्य बढाउने उद्योगीलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र बुझाएर माग गरेको हो ।

व्यापारीहरुले रुस–युक्रनबीच भएको युद्धको कारण देखाएर खाने तेलको खुद्रा मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढाएर सरकारलाई चूनौती दिएको मञ्चको दाबी छ ।

महिनौअघिदेखि स्टकमा रहेको तेललाई युक्रेन–रुसबीचको युद्ध कारण हो भन्दै मूल्य वृद्धि गरिएको छ,’ मञ्चले भनेको छ, ‘यो नियम कानून विपरीत मात्र नभइ व्यवसायिक नैतिकताभन्दा परको विषय हो ।’

मञ्चले खाद्य तेल मात्र होइन चिनी, चामललगायतका दैनिक उपभोग्य वस्तुको बजार आपूर्ती व्यवस्था प्रणाली नै खलबलाउने काम भइरहेको बताएको छ ।

अध्ययन गरेर अनुगमन गर्ने तयारीमा विभाग
बजारमा खाने तेलको मूल्य बढेपछि संरक्षण विभागमा अनुगमन गर्नका लागि दबाब भइरहेको छ । विभागले बजारमा अत्यधिक रुपमा मूल्य बढेर अनुगमन गर्न माग गरेपछि उद्योगीहरूसँग विभागले तेलको आयात गरेको विवरण र खर्चको विवरण माग गरेर प्राप्त गरेको जानकारी दिए ।

उनले उद्योगीबाट विवरण प्राप्त भएपनि अध्ययन गर्न बाँकी रहेको बताए । ‘उद्योगीहरूले तेलको विवरण विभागले प्रदान गरेको छ । तर, अध्ययन गर्न बाँकी छ,’ उनले भने ।

अध्ययनबाट बिनाकारण बढी नाफा राखेर बिक्री गरेको र कार्टेलिङ गरेको पाइएमा कारबाही गर्ने उनको भनाइ छ ।

मूल्य अझै बढ्न सक्ने
अहिले नै मूल्य बढाएको उद्योगीहरूले आगामी दिनमा झन मूल्य बढाउने देखिएको खुद्रा व्यवसायीहरूको भनाइ छ । युद्ध शुरु भएको हप्ता दिन नपुग्दै व्यवसायीहरूले आयात गर्न नसकेको भन्दै मूल्य बढाएको संघको महासचिव तुलाधारको भनाइ छ ।
युक्रेनबाट उच्च रुपमा कच्चा पदार्थ आयात गरी आपूर्ति र निर्यात गर्दै आएको अवस्थामा आगामी दिनमा कच्चा पदार्थ ल्याउन नसक्दा तेलको मूल्य बढ्ने उनको दाबी छ ।

‘रुस र युक्रेनबीचको युद्ध कहिले सकिन्छ भन्ने टुङ्गो छैन,’ उनले भने, ‘युद्ध निकै चर्किए आगामी दिनमा अभावसँगै उच्च मूल्यमा खरिद गर्नुपर्ने सिर्जना हुनेछ ।’ उक्त युद्ध लम्बिँदा उद्योगीहरूले आयात गर्न नसकेर आपूर्तिमा पनि समस्या आउन सक्ने उनको भनाइ छ ।


अरिष्मा मोक्तान