तरलता अभाव चर्किँदै जाँदा अन्तरबैंक ब्याजदर ७% नजिक



काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव निकै बढ्दै गएको छ । तरलता अभाव बढ्दै जाँदा अन्तरबैंक ब्याजदर करिब ७ प्रतिशत नजिक पुगेको छ ।

प्रणालीमा तरलता चुलिएका कारण अन्तरबैंक ब्याजदर बढेको हो । राष्ट्र बैंकका अनुसार अहिले अन्तरबैंक ब्याजदर फागुन १६ गतेसम्म ६.९६ प्रतिशत छ । फागुन १५ गते भने अन्तरबैंक ब्याजदर ६.९८ प्रतिशत थियो ।

यसअघि अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा थोरै बढी हुने गरेकोमा अहिले करिब ७ प्रतिशतको हाराहारीमा पुगेको छ ।

यसअघि माघ २८ गते अन्तरबैंक ब्याजदर ५.०२ प्रतिशत थियो । त्यसपछि घटेर ५ प्रतिशतभन्दा तल रहेको अन्तरबैंक ब्याजदर बढेर २ सातामा बढेर ७ प्रतिशतको हाराहारीमा पुगेको छ । यसले पनि बैंकहरुमा तरलता संकट चुलिएको देखाउँछ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा कर्जा निक्षेप अनुपात (सीडी) रेसियो असार मसान्तमा ९० प्रतिशतसम्म पुर्याउन पाउने व्यवस्था गरेको छ । तर अहिले कतिपय बैंकहरुको सीडी रेसियो ९५ प्रतिशतको हाराहारीमा रहेको छ । समग्र प्रणालीमा सीडी रेसियो १६ गतेसम्म ९०.३६ प्रतिशत छ ।

बैंकलाई पैसाको आवश्यक परेमा राष्ट्र बैंकबाट सापटी लिने तथा अन्तरबैंक कारोबार गर्ने गरिएको छ । बैंकहरुलाई तत्काल पैसा चाहिएको खण्डमा भने राष्ट्र बैंकबाट सापटी लिनुभन्दा पनि अन्तरबैंक कारोबार बढी गर्ने गरिएको छ ।

राष्ट्र बैंकलाई अनुरोध गर्ने, राष्ट्र बैंकले पैसा पठाउन समय लाग्ने भएकाले बैंकलाई आवश्यक पर्ने रकम अन्तरबैंकबाट तत्काल पैसा लिएको कारण अन्तरबैंक ब्याजदर ६.९६ प्रतिशत पुगेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार १६ गतेसम्म वाणिज्य बैंकमा ४३ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । १५ गतेको तुलनामा त्यसदिन निक्षेपको आकारमा कुनै फरक देखिएको छैन ।


क्लिकमान्डु