अमेरिका र यूरोपको प्रतिबन्धले रसियालाई प्रभाव पर्छ कि पर्दैन ?



एजेन्सी । रुसले युक्रेनमा आक्रमण शुरु गरेपछि संसारभरको अर्थतन्त्र चौपट भएको छ । अर्बपतिहरुको सम्पत्ति समेत निमेषभरमा बालुवामा पानी हाले जस्तै भइरहेको छ ।

अमेरिका र यूरोपेली संघ आवद्ध देशहरुले रसियामाथि प्रतिबन्ध लगाएका छन् । प्रतिबन्धका कारण रुसको अर्थतन्त्रमा समेत प्रभाव पर्ने विश्लेषण गरिएको छ ।

खासमा रुस आफैमा गहुँको ठूलो उत्पादक हो । रसियाका गहुँ संसारका विभिन्न देशमा निर्यात हुने गर्छ । यस्तै, प्राकृतिक ग्यासको आपूर्ति समेत रुसले समग्र यूरोपका लागि गर्ने गरेको छ ।

पाइप लाइनमा मिसाइल प्रहार गरेर ध्वस्त पारिएको समाचार विवरण आइतबार बिहान मात्रै सार्वजनिक भएको छ । यसले यूरोपमा निर्यात भइरहेको ग्यासको आपूर्तिमा कस्तो प्रभाव पर्छ भन्ने बारेमा केही बताइएको छैन ।

बिहीबारदेखि युक्रेनमा आक्रमण शुरु भएको छ । रुसी सेना क्रमशः अगाडि बढेको छ । युक्रेनको दोस्रो ठूलो शहर समेत रुसी सेनाको नियन्त्रणमा पुगेको छ ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पनि युद्ध अन्त्य हुने आशालाई खारेज गरेका छन् । लाभरोभले अब युक्रेनसँगको वार्ताको प्रस्तावलाई स्वीकार नगर्ने स्पष्ट रूपमा बताएका छन् ।

युक्रेनले आत्मसमर्पण गरेको एउटा शर्तमा मात्रै वार्ता हुन सक्ने उनको भनाइ छ । त्यसो त रसियाली राष्ट्रपति पुटिनका एक प्रवक्ताले बेलारुसमा वार्ता हुन सक्ने बताएका छन् ।

अर्कोतर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रोक्न पश्चिमा राष्ट्रहरुले अनेक खालका प्रतिबन्ध लगाएका छन् । त्यसलाई केहीले भने हतारको निर्णय र प्रभावहिन बताइदिएका छन् ।

किनकी, प्रतिबन्धले कुनै पनि असर नपार्ने रसियाली अधिकारीको भनाइ छ । क्रिमिया प्रकरणमा पनि पश्चिमा देशले प्रतिबन्ध लगाएकै थिए, यसपटक पनि लगाए, तर तात्विक रुपमा कुनै फरक पर्ने छैन ।

यस्तो अवस्थामा पश्चिमा राष्ट्रहरूले आफ्नो प्रतिबन्धको दायरा विस्तार गर्ने हो कि भन्ने प्रश्न उठ्छ ? रुसमाथिको प्रतिबन्ध लम्बियो भने यसले विश्व अर्थतन्त्रलाई असर गर्छ ? के विश्वको सबैभन्दा ठूलो देश रूसले पहिले नै प्रतिबन्धहरूको सामना गर्न तयार छ ? रूसको विदेशी मुद्रा सञ्चिति कति छ ? यो कति दिन चल्न सक्छ ? रूसको ऋण कति छ ? त्यसोभए यी प्रश्नहरूको जवाफ एक–एक गरेर खोज्ने प्रयास गरिएको छ ।

प्रतिबन्धलाई सबैभन्दा प्रभावकारी कूटनीतिका रुपमा मानिन्छ । किनभने धेरैजसो विश्वव्यापी व्यापार लेनदेन अमेरिकी डलरमा गरिन्छ । यदि अमेरिकाले आफ्नो वित्तीय प्रणालीबाट प्रतिबन्धित देशका बैंकहरूलाई कालोसूचीमा राख्यो भने, तिनीहरूसँग कारोबार गर्न असम्भव हुने गर्दछ । प्रतिबन्धको उद्देश्य सम्बन्धित देशको अर्थतन्त्रमा चोट पुर्याउनु पनि हो ।

युरोपेली संघले यस साताको सुरुमा २७ व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । बेलायतले तीन रसियन व्यापारीलाई प्रतिबन्ध लगाएको छ । यी अर्बपति व्यापारी रुसी राष्ट्रपतिसँग निकै नजिक मानिन्छन् ।

यसबाहेक रोजिया, आईएस बैंक, जेनबैंक, प्रोम्सभ्याज बैंक र ब्ल्याक सी बैंकलाई पनि प्रतिबन्ध लगाइएको छ । यो सँगै अमेरिकाले अन्य बैंकमाथि प्रतिबन्ध लगाएको छ ।

रुसको सरकारी ऋणमा पनि प्रतिबन्ध पनि बढाइएको छ । अर्कोतर्फ, जर्मनीले नोर्ड स्ट्रिम २ ग्यास पाइपलाइनमा प्रतिबन्ध लगाएको छ । यो बाल्टिक सागर मार्फत रूसबाट सिधा ग्यास आपूर्ति गर्न डिजाइन गरिएको छ ।

रुसमाथि हालसम्म लगाइएका प्रतिबन्ध निकै कम मात्र छन् । यो २०१४ मा युक्रेनबाट क्रिमिया अलग गर्न लगाएको प्रतिबन्ध भन्दा कम हो । यस्तो अवस्थामा अहिले विचार गरिँदै आएको प्रतिबन्ध बैंकको स्विफ्ट प्रणाली हो । स्विफ्ट भनेको सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन हो । स्वीफ्ट एक विश्वव्यापी सन्देश सेवा हो ।

यो २०० देशका हजारौं वित्तीय संस्थाले प्रयोग गर्छन् । यदि रुस स्विफ्ट नेटवर्कबाट विच्छेद भयो भने, रूसी बैंकहरूलाई विदेशमा व्यापार गर्न धेरै गाह्रो पर्नेछ । तर यी प्रतिबन्धहरूले अन्य देशहरूमा पनि प्रभाव पार्नेछ । स्वीफ्ट प्रतिबन्ध इरानविरुद्ध पनि प्रयोग गरिएको थियो । जसका कारण उसले तेल बिक्रीबाट हुने आम्दानी गुमाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक महिनाअघि युक्रेनमा आक्रमण गरे रुसले डलरमा व्यापार गर्न नसक्ने चेतावनी दिएका थिए । विज्ञहरूका अनुसार रुसी संस्था प्रतिबन्धको सामना गर्न पहिलेको तुलनामा राम्रोसँग तयार देखिएका छन् ।

रुसले सन् २०१४ देखि अमेरिकी ट्रेजरी र डलरबाट आफूलाई टाढा राखेको छ । रुसले विदेशी मुद्रा सञ्चितिमा डलरभन्दा बढी सुन र युरो समावेश गरेको छ । सन् २०१४ मा क्रिमियालाई गाभेपछि लगाइएको प्रतिबन्धबाट पाठ सिकेर रुसले विदेशी लगानीकर्तामाथिको निर्भरता पनि घटाएको छ ।

रूससँग लगभग ६३५ अर्ब डलर बराबरको विदेशी मुद्रा भण्डार छ । जसले यसलाई विश्वमा ५ नम्बरमा राखेको छ । सन् २०१५ देखि रूसको सञ्चितिमा ७० प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

यो रुसको डेढ वर्षको निर्यात राजस्वको करिब बराबर भएको बताइन्छ । जसमध्ये १६.४ प्रतिशत डलरमा, ३० प्रतिशत भन्दा बढी युरोमा र २२ प्रतिशत सुनमा छ । विदेशी भण्डार पनि १४ प्रतिशत रेन्मिन्बी पनि छ ।

रुसले जुन २०२० देखि डलरको शेयर २२.२ प्रतिशतले घटाएको छ । ऋणको कुरा गर्दा, कुल गार्हस्थ्य उत्पादनसँग ऋणको औसत १८ प्रतिशत मात्रै छ । यस मामिलामा रुस विश्वको छैठौं नम्बरमा छ । सन् २०१४ मा विदेशी ऋणदाताबाट कर्पोरेट ऋण १५० अर्ब डलर थियो, जुन २०२१ मा झन्डै आधामा झरेको छ ।

रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिकाविरुद्ध एकजुट देखिएका छन् । बेइजिङ शीतकालीन ओलम्पिकको उद्घघाटनको दिनमा सी जिनपिङले युक्रेनलाई नाटोको सदस्यता अस्वीकार गर्ने कुरालाई खुलेर समर्थन गरेका थिए ।

रूस कच्चा तेल र प्राकृतिक ग्यासको प्रमुख उत्पादक हो । यस्तै गहुँको विश्वको सबैभन्दा ठूलो निर्यातक पनि हो । यो देश युरोपको प्रमुख खाद्य आपूर्तिकर्ता पनि हो । रूसले युरोपेली संघको प्राकृतिक ग्यास आयातको लगभग ४० प्रतिशत आपूर्ति गर्दछ । बाँकी नर्वे र अल्जेरियाबाट आउँछ । ग्यासलाई क्षेत्रीय भण्डारण केन्द्रहरूमा संकलन गरिन्छ, र त्यसपछि यूरोपभर वितरण गरिन्छ ।

रुसले नर्ड स्ट्रिम १, ब्रदरहुड जस्ता पाइपलाइनहरू मार्फत युरोपमा ग्यास पठाउँछ । तर जर्मनीले नर्ड स्ट्रिम २ को लागि अनुमोदन फिर्ता लिने निर्णयले युरोपमा ग्यासको मूल्यमा उल्लेखनीय वृद्धि गरेको छ । यस्तो अवस्थामा रुसले ग्यास आपूर्ति बन्द गरेमा त्यसको मार युरोपले बेहोर्नुपर्ने स्पष्ट देखिन्छ ।

एक रिपोर्टका अनुसार रुससँग कुनै पनि आर्थिक संकट बिना आगामी दुई वर्षसम्म आपूर्ति रोक्न सक्ने शक्ति रहेको छ । भर्खरै, स्वीडेनका लागि रुसी राजदूतले एक अखबारसँग भनेका थिए कि हामीलाई पश्चिमी प्रतिबन्धहरूमा अलिकति पनि आपत्ति छैन । हामी पश्चिमासँग लड्न सक्छौं ।


क्लिकमान्डु