नबिल, ग्लोबल र सनराइजले बढी ब्याज दिएर निक्षेप उठाएको भन्दै उजुरी



काठमाडौं । नेपाल राष्ट्र बैंकमा नबिल बैंक, ग्लोलब आइएमई बैंक र सनराइज बैंकले दूरसञ्चार प्राधिकरणको पैसा बढी ब्याजदर दिएर उठाएको भन्दै राष्ट्र बैंकमा उजुरी परेको छ ।

बैंकहरुले संस्थागत निक्षेपमा १०.०३ प्रतिशत ब्याजदर दिने सहमति गरेका छन् । राष्ट्र बैंकले बनाएको नियममा प्रकाशित दरभन्दा बढी दिन नपाइने व्यवस्था गरेको छ । नबिल, ग्लोलब आइएमई र सनराइजले १०.०३ प्रतिशत ब्याजदरमा ०.१० प्रतिशत बढी ब्याजदर कबोल गरी राष्ट्र बैंकको नियम उल्लंघन गरेको भन्दै अन्य बैंकले उजुरी गरेका हुन् ।

बैंकरहरुले बैंकर्स संघमा समेत उजुरी दिएका थिए ।

बैंकहरुले आफूसँग भएको संस्थागत निक्षेप नवीकरण गर्दा त्यो संस्थालाई ०.१० प्रतिशत थप ब्याजदर दिनसक्ने व्यवस्था छ । यसले संस्थागततर्फ मुद्दति निक्षेपमा रहेको पैसा ब्याजदरको कारण अर्को बैंकमा जाने सम्भावना हुने थिएन ।

प्राधिकरणले २ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा राख्नका लागि बोलकबोल प्रक्रियाको आह्वान गरेको थियो । जसमा सबैजसो वाणिज्य बैंक सहभागी भएका थिए ।

बोलकबोल प्रक्रियामा एउटै ब्याजदर भएको भए सबै बैंकले समानरुपले प्राधिकरणको पैसा पाउने सम्भावना थियो । तर, ०.१० प्रतिशत ब्याजदर प्रस्ताव गरेको कारण नबिल, ग्लोबल तथा सनराइज बैंकले ४० करोडका दरले १ अर्ब २० करोड रुपैयाँ लगेको बैंकरहरुले आरोप लगाएका छन् ।

‘ब्याजदरमा एउटा सहमति गर्ने र उलंघन गर्दै जाने हो भने कसरी बजारमा स्थिरता हुन्छ ? यो कामले बिकृत्ति निम्त्याउँछ,’ एक बैंकका सीइओले क्लिकमाण्डूसँग भने, ‘नविल जस्तो लिडर बैंक र त्यसका सीइओ अनिल शाह, रत्नराज ब्रजाचार्य जस्तो अनुभवी र सुमन शर्माजस्तो बौद्धिक बैंकरले नै नियम तोडेपछि हामी आश्चर्यमा परेका छौं ।’

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पब्लिस रेटमाा तोकिएकोभन्दा बढी दिने बैंकलाई कारबाही हुने बताए ।

‘केही बैंकले पब्लिस रेटभन्दा बढी ब्याज दिएर नेपाल दूरसञ्चार प्राधिकरणबाट निक्षेप उठाएको भन्ने गुनासो आएको छ, हामी यस विषयमा छानविन गरिरहेका छौं,’ प्रवक्ता भट्टले क्लिकमाण्डूसँग भने, ‘राष्ट्र बैंकको नियम उलंघन गरेको पाइए कारबाही हुन्छ ।’

तर, सम्बन्धित बैंकका अधिकारीहरुले भने आफ्नो बैंकले त्यस्तो कुनैपनि गलत काम नगरेको दाबी गरेका छन् ।

‘परिपक्क भएको निक्षेप नवीकरणका लागि नियममै बसेर ०.१० प्रतिशत बढी दिन पाउने सुविधाअनुसार नै बोलकबोल गरिएको हो,’ एक बैंकका एक अधिकारीले भने, ‘त्यो पनि पैसा आएको छैन । अरु बैंकले अनावश्यक हल्ला चलाएका मात्रै हुन् ।’

अहिले बैंकहरुमा लगानी योग्य पुँजी (तरलता)को अभाव छ । फागुन महिनामा बैंकहरुले एकवर्षे अवधिको मुद्दति निक्षेपको ब्याजदर ११.०३ प्रतिशत पुर्याएका छन् । बैंकहरुमा पैसा अभाव भएसँगै कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा माथि छ । यस्तै राष्ट्र बैंकको कारण अन्तर बैंक कारोबारको दर समेत ७ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु