मौद्रिक नीतिको समिक्षाले सेयर बजारलाई केही असर पर्दैन-विश्लेषक, बजारलाई हेर्ने राष्ट्र बैंकको दृष्टि गलत छ-लगानीकर्ता



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा गरेपछि सेयर बजारका जानकारहरुले यसले पार्ने प्रभावका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । सेयरबजार विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सेयर बजारको लागि सकारात्मक रहेको धारणा राखेका छन् ।

उनले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा नेपाली सेयर बजारको लागि सकारात्मक रहेको बताए । उनले सेयर बजारलाई मौद्रिक नीतिले कुनै पनि प्रभाव नपार्ने जिकिर गरे । भट्टराईले अहिले दैनिक ५ देखि ६ अर्बको सेयर कारोबार भइरहेको र प्रत्यक्ष सेयर कर्जा मात्रै ८७ अर्ब बढी पुगेको अवस्थामा सेयर कर्जा घटाएको कारण बजार बिग्रियो भन्नु गलत भएको टिप्पणी गरे ।

उनले पछिल्लो समय छोटो समयमा धेरै कमाउन चाहनेहरुले नियोजित रुपमा सेयर बजारमा चलखेल गर्नको लागि मौद्रिक नीतिको असर भन्ने गरिएको बताए । राष्ट्र बैंकले सेयर कर्जामा ४-१२ को नीतिले लगानीकर्तालाई असर नगर्ने उनले बताए । भट्टराईले लगानीकर्ता आफू सक्षम हुन आग्रह गरे । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना लगानीकर्तालाई संरक्षण गर्ने काम गरेको तर ठूला लगानीकर्ताहरुले चलखेल गरेको भट्टराईले दाबी गरे । अहिले राष्ट्र बैंकको मौद्रिक नीतिको विरोध गर्नु ठूला लगानीकर्ताको नाफा कमाउने तरिका मात्रै भएको उनको भनाइ छ ।

भट्टराइले सरकारले छोटो तथा लामो समय कारोबार गर्ने सेयर लगानीकर्ता छुट्याउनु पर्ने बताए । सरकारको उद्देश्य सेयर बजारलाई दीर्घकालिन लगानी ल्याउने उद्देश्य भएकाले लोमा समय सेयरमा लगानी गर्नेलाई सहुलियत र छोटो समयमा नाफाको लागि कारोबार गर्ने लगानीकर्तालाई कर बढी लगाउनु पर्ने भट्टराइले बताए । उनले यस्तो गरे मात्रै सेयर बजार स्थिर हुनसक्ने धारणा राखे । बैंकले सेयर बजारको लागि बनाएको नीति बजार घटबढ होस भन्ने हिसाबले नबनाएको भट्टराइको भनाइ छ । उनले राष्ट्र बैंकको प्रमुख उद्देश्य भनेको वित्तीय स्थायीत्व बनाउने हो बैंकलाई सेयर बजार ३२ सय वा १२ सयमा आए पनि इन्डेक्ससँग मतलब राख्ने बताए ।

‘सरकारले लगानीकर्तालाई छुट्याउनु पर्छ । लामो समय जसले लगानी गर्नेलाई विभिन्न बेनिफिट दिनुपर्छ । महिना दिन भित्र धेरै कारोबार गर्नेलाई धेरै कर लगाउनु पर्छ । दुईदेखि तीनवर्ष लगानी गर्नेलाई सहुलियत दिँदै जाने हो भने दिर्घकालिन लगानी ल्याउँछ । हाम्रो उद्देश्य पनि शेयर बजारलाई दिर्घकालिन लगानी ल्याउने हो । अहिले शेयर बजारमा चलखेल भएको हो’ उनले भने ‘४-१२ करोडको नीतिले धेरैलाई असर नै गदैन । दिर्घकालिन रुपमा शेयर बजारलाई हेर्दा शेयर बजारलाई आजको पाँच वर्ष, १५ वर्ष र ६ महिनामा कस्तो बनाउने गरी विभिन्न अवस्थामा विभिन्न नीति बनाउने गरिन्छ । तर नेपाल राष्ट्र बैंकले कुनै पनि हालतमा शेयर बजारको लागि बनाएको नीति बजार घटबढ होस भन्ने हिसाबले बनाउँदैन ।’

यता नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा धितोकर्जामा ४÷१२ को सिमा लगाएर परिमार्जन नगर्नु सेयर बजारलाई हेर्ने दृष्टि नै कुदृष्टि भएको बताइन् । उनले सेयर बजारमा ४÷१२ को सिमा नै राख्नु पर्ने अवस्था नभएको बताइन् । पोखरेलले सेयर धितो कर्जा लिँदा नै लगानीकर्ताले धितो मार्जिन राखेर कर्जा लिने गरेको बताइन् । उनले अहिले सरकार एउटा पार्टीको, अर्थमन्त्री अर्काे पार्टी र गभर्नर अर्को पार्टीको भएकाले सेयर बजारको लागि बन्ने नीति एक हप्ता,एक महिना तथा दिनैपिच्छे परिर्वतन हुने गरेकाले लगानीकर्ता मारमा परेको जिकिर गरिन् । मौद्रिक नीतिको समिक्षामा राष्ट्र बैंकले ४÷१२ को सिमा हुँदा हुँदै धितो कर्जा मार्जिन परिर्वतन गर्नु नियामक निकाय र सरकारले शेयर बजारलाई कुन रुपमा हेर्छ भन्ने ज्वलन्त उदाहरण भएको टिप्पणी गरिन् । बजार संधै बढाउने भन्दा पनि सेयर बजारप्रति सरकारले ल्याउने नीति स्थिर हुनु पर्ने बताइन् ।

‘सरकार एउटा पार्टीको छ । अर्थमन्त्री एउटाको हुनुहुन्छ । गभर्नर एउटाको हुनुहुन्छ । यसरी उहाँहरुले लिने नीति फरक फरक हुन्छ । त्यो नीति हप्ता, महिना र दिनैपिच्छे परिर्वतन हुने नीति रहेको छ । त्यसले सेयर लगानीकर्तालाई असर गरेको छ । उसै पनि सेयर धितोकर्जामा ४÷१२ को सिमा लगाउनु पर्ने अवस्था थिएन । सेयर बजारमा क्याप उसै पनि लागेको छ । किनभने हामीले सेयर धितो राखेर मार्जिन कर्जा लिन्छौँ । त्यसमा पनि क्याप लागि सकेको छ । त्यो सँगै बैंकले दिने कोर क्यापिटलको ४० प्रतिशत मात्रै शेयर बजारमा कर्जा आउँछ’ उनले भनिन् ‘राष्ट्र बैंकले धितोकर्जामा ४÷१२ को सिमा लगाउनु भनेको सेयर बजारलाई हेर्ने दृष्टि नै कुदृष्टि जस्तो लाग्छ । पछिल्लो नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको छ । मार्जिन हेरफेर हुने भन्ने कुरा आएको छ । यसले गर्दा नियामक निकाय र सरकार सेयर बजारलाई कुन रुपमा हेर्छ भन्ने यो नै ज्वलन्त उदाहरण हो । हामी सरकारलाई शेयर बजार बढाई देउ मात्रै पनि भन्दैनौँ । संधै बढाइ राख्नुपर्छ पनि भन्दैनौँ । यहाँ शेयर बजार प्रतिलिने नीतिहरु छन् । ती नीतिहरु स्थिर हुनु प¥यो ।’

कुनै लगानीकर्ताले केहीमा लगानी गर्दा नीति हेरेर लगानी गर्ने गर्दछ। आज यो कम्पनी राम्रो छ भनेर लगानीकर्ताले लगानी गर्दा शेयर बजारको नीति रातारात परिर्वतन हुन्छ । मौद्रिक नीतिको समिक्षाले अगाडिकै नीतिले लगानीकर्ता यो अवस्थामा पुगेका छन् । जहाँ धितोकर्जामा ४÷१२ को क्याप रहेको उनको भनाइ छ । समय–समयमा बैंकको ब्याजदर उतारचढाव भइरहेको तथा अर्थ मन्त्रालय र राष्ट्र बैंकले लिने नीति, नियामक निकायको गलत प्रचारले बजारमा असर परेको उनको भनाइ छ ।


क्लिकमान्डु