बीमा कम्पनीहरु गाउँ पसेनन्, सुगममै केन्द्रित



काठमाडौं । बीमा समितिले ग्रामिण क्षेत्रमा जान निर्देशन दिए पनि बीमा कम्पनीहरु भने अझै पनि सुगम क्षेत्रमा नै बढी आकर्षित देखिएका छन् ।

बीमा समितिको तथ्यांकअनुसार तुलनात्मक रुपमा सुगम मानिने बाग्मती प्रदेशमामात्रै बीमा कम्पनी केन्द्रीत भएका हुन् ।

बीमा समितिले देशका सबै क्षेत्रमा बीमाको पहुँच पुर्याउन भन्दै बीमा कम्पनीहरुलाई ग्रामीण क्षेत्रमा जान निर्देशन नै दिएको छ । निर्जीवन बीमा कम्पनीहरुलाई कृषि बीमा जारी गर्न समितिले जिल्ला नै तोकिदिएको छ ।

तर, कम्पनीहरू अझै पनि सहर केन्द्रीत नै रहेको देखिएको हो ।

तथ्यांकअनुसार बीमा कम्पनीका शाखा कार्यालय, अभिकर्ता संख्या, बीमितको संख्या तथा व्यवसाय नै बाग्मती प्रदेशमा बढी देखिएको हो ।

अन्य प्रदेशको तुलनामा दुर्गम मानिने कर्णाली प्रदेशमा भने बीमा कम्पनीको उपस्थिति कम छ ।

बीमा साक्षरता नपुग्दा दुर्गम क्षेत्रमा बीमाको पहुँच पुग्न नसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।

जसका लागि समिति र बीमा कम्पनीले साक्षरताका कार्यक्रम चलाउँदै आएको उनले बताए । समिति र कम्पनीहरुले चलाएका त्यस्ता कार्यक्रमले ग्रामीण भेगका मानिसमा बीमा पहुँच पुग्ने उनको भनाइ छ ।

अन्य प्रदेशको तुलनामा बाग्मती प्रदेशमा सेवा सुविधा बढी भएकाले गर्दा पनि बीमा कम्पनीहरु ग्रामीण भेगमा जान नखोजेको उनले बताए । कम्पनीहरुलाई आफ्नो कम्पनीको प्रचार प्रसार गर्न समेत निर्देशन दिने तयारीमा रहेको उनले बताए ।

बीमा विज्ञ भोजराज शर्मा विस्तारै बीमा कम्पनीका शाखा कार्यालय ग्रामीण भेगमा जान थालेको बताउँछन् । नयाँ कम्पनी बजारमा आएपछि देशका ग्रामीण भेगमा कम्पनीहरुका शाखा कार्यालय पुगेको उनले बताए ।

‘पुराना बीमा कम्पनीहरु सहरी क्षेत्रमा मात्रै केन्द्रित थिए । कृषि बीमा गर्न बाहिर जाऊ भन्दा पनि नमान्ने प्रवृत्ति थियो । जसले गर्दा चिठ्ठा प्रथासमेत लागू गरिएको थियो,’ शर्माले क्लिकमाण्डूसँग भने, ‘नयाँ कम्पनी आएपछि गाउँ जाने प्रवृत्ति बढ्दो छ ।’

पछिल्लो समय बीमाको पहुँच पनि विस्तारै विस्तार हुँदै गएको बताउँछन् उनी । तर, अझै पनि बीमा कम्पनीहरुलाई व्यवसाय विस्तार गर्नका लागि बजार खाली रहेको शर्माको भनाइ छ ।

कम्पनीहरुलाई अझै पनि दायरा बढाउने ठाँउ रहेको शर्माको भनाइ छ । जसका लागि बीमा कम्पनीहरु सहर केन्द्रीत नभई गाउँ गाउँमा पुग्नु पर्ने उनको तर्क छ ।

कम्पनीहरुले अझै पनि बीमा कम्पनीहरुले माइक्रोइन्स्योरेन्सलाई जोड नदिएको उनले बताए । नेपाल जस्तो मुलुकमा मध्यम वर्गभन्दा तल्लो तहको जनसंख्या धेरै छ । जसले गर्दा माइक्रो इन्स्योरेन्सको दायरा बढ्ने ठाउँ रहेको शर्माको भनाइ छ ।

‘बीमा व्यवसाय र पहँुच अन्य प्रदेशको तुलनामा बाग्मती प्रदेशमा बढी छ । सेवा, सुविधा बढी भएकै कारणले गर्दा पनि त्यही भएर हामीहरु स्थानीय निकायमा गएर साक्षरताको कार्यक्रम चलाईरहेका छौं,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘कम्पनीहरुलाई पनि हामीले सबै क्षेत्रमा जानु भनेका छौँ ।’

ग्रामीण क्षेत्रमा बीमा पहुँच पुर्याउने माध्यम लघुबीमा र कृषिबीमा रहेको उनले बताए । बीमा कम्पनीका शाखा सबै जिल्लामा विस्तार भए पनि सदरमुकाममा मात्रै केन्द्रीत हुने गरेको उनको भनाइ छ ।

बीमा समितिको पुस मसान्तसम्मको तथ्यांक हेर्दा जीवन तथा निर्जीवन बीमा व्यवसायमा बाग्मती प्रदेशको मात्रै हिस्सा बढी देखिन्छ । जीवन बीमा कम्पनीको कुल व्यवसायमा ४२ प्रतिशत हिस्सा बाग्मती प्रदेशको छ । निर्जीवन बीमा व्यवसायमा बाग्मती प्रदेशको हिस्सा ४२ प्रतिशत छ । यस्तै, शाखा कार्यालयमा समेत बाग्मती प्रदेशको हिस्सा बढी छ ।

बीमाको पहुँचमा आएका बीमितको संख्या पनि बाग्मती प्रदेशमै बढी छ ।

बाग्मती प्रदेशमा बीमाको पहुँच ६६ प्रतिशत, कर्णालीमा करीब २ प्रतिशत

बीमा समितिका अनुसार पुस महिनासम्ममा जीवन बीमाको पहुँच ३५ प्रतिशत जनतामा पुगेको छ । उक्त तथ्यांकअनुसारबाग्मती प्रदेशका ६६.७० प्रतिशत जनतामा जीवन बीमाको पहँच पुगेको छ ।

तर, कर्णाली प्रदेशका १.९३ प्रतिशत जनतामा मात्रै बीमाको पहुँच पुगेको छ ।

बाग्मती प्रदेशमा कुल ७३ लाख ६४ हजार ४९२ बीमालेख जारी भएका छन् । कर्णाली प्रदेशमा २ लाख १२ हजार ६५८ वटा बीमालेख जारी भएका छन् ।

यस्तै, प्रदेश १ मा १०.०४ प्रतिशत, मधेश प्रदेशमा ४.७५ प्रतिशत, गण्डकी प्रदेशमा ४.५१ प्रतिशत, लुम्बिनी प्रदेशमा ७.८० प्रतिशत र सुदुरपश्चिम प्रदेशका ४.२७ प्रतिशत जनतामा जीवन बीमाको पहुँच पुगेको छ ।

जीवन बीमा व्यवसायमा ४२ प्रतिशत हिस्सा बाग्मती प्रदेशको

चालु आवको पुस महिनामा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले १२ अर्ब ७८ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त अवधिमा बाग्मती प्रदेशको हिस्सा ४२.८९ प्रतिशत रहेको छ । वाग्मती प्रदेशबाट जीवन बीमा कम्पनीहरुले कुल ५ अर्ब ४८ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

निर्जीवन बीमा व्यवसायमा बाग्मती प्रदेशको हिस्सा ६७ प्रतिशत

चालु आवको पुस महिनामा सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले तीन अर्ब ६७ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त अवधिमा बाग्मती प्रदेशको हिस्सा ६७.६१ प्रतिशत रहेको छ । वाग्मती प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले कुल २ अर्ब ४८ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

कर्णाली प्रदेशबाट ३ करोड २७ लाख रुपैयाँमात्रै बीमाशुल्क संकलन गरेका छन् ।

३० प्रतिशत अभिकर्ता बाग्मती प्रदेशमा

बीमा समितिले उपलब्ध गराएको तथ्याकंअनुसार नेपालमा जीवन बीमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२६ जना छ ।

बागमती प्रदेशमा साढे २ लाखभन्दा बढी अभिकर्ता छन् ।

शाखा कार्यालयको हिस्सा पनि बाग्मती प्रदेशमा बढी

नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीले मुलुकभर २ हजार २६९ शाखा स्थापना गरेका छन् । त्यसमध्ये बागमती प्रदेशमा मात्र ५९३ वटा शाखा छन् । कर्णाली प्रदेशमा भने जीवन बीमा कम्पनीका १४८ वटा मात्र शाखा खोलिएका छन् ।

निर्जीवनतर्फ २० कम्पनीले मुलुकभर १ हजार ८ वटा शाखा स्थापना गरेका छन् । जसमध्ये बागमती प्रदेशमा मात्र ३०५ वटा शाखा कार्यालय छन् । कर्णाली प्रदेशमा भने बीमा कम्पनीका ४३ वटा शाखा मात्रै पुगेका छन् ।


बिजया बास्कोटा