तरलता अभावले सुस्ताएको घरजग्गा कारोबार झनै घट्ने



काठमाडौं । तरलता अभावका कारण निकै सुस्ताएको घरजग्गा कारोबारमा राष्ट्र बैंकले कडाइ गरेको छ । करिब ४ महिनादेखि निरन्तर तरलता अभाव खेपिरहेको घरजग्गा व्यवसायीहरूलाई हालै राष्ट्र बैंकले जारी गरेको अर्धवार्षिक मौद्रिक नीतिले झन कठिन बनाएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिटलगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिबसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा उल्लेख गरेको छ ।

अहिले यस्तो जोखिम भार शतप्रतिशत छ । राष्ट्र बैंकले निर्देशिकामार्फत जोखिम भार बढाएको नीति कार्यान्वयन गर्नेछ । यसले घरजग्गा तथा गाडी खरिदका लागि जाने ऋण कम हुनेछ । जसले गर्दा सो क्षेत्रमा जोखिम भार बढाउँदा ऋण प्रवाहमा समस्या आई संकट थपिन सक्ने देखिन्छ ।

कोेभिड–१९ का उच्च विन्दुमा कारोबार हुँदै आएको घरजग्गा कारोबारमा अहिले भने ब्रेक लागेको छ । हाल बजार तरलता अभावको चरम संकटको अवस्था छ । उक्त संकटले गर्दा बजारमा ग्राहकले चाहेअनुसारको कर्जा प्रवाह हुन सकेको छैन ।

बैंक तथा वित्तीय संस्थाबाट सबैभन्दा बढी कर्जा प्रवाह हुने क्षेत्र घरजग्गा अर्थात् रियल स्टेट क्षेत्र रहेको छ । कर्जा प्रवाहमा ठूलो हिस्सा रहेको घरजग्गा कारोबार तरलता अभावका कारण मन्दी आएको छ । सोही अवधिमा भने हाल राष्ट्र बैंकले कडाई गर्दै लैजाने नीति ल्याएको छ । जसले गर्दा आगामी दिनमा घरजग्गा कारोबारमा झन खस्किने धेरैले अनुमान गरेका छन् ।

तरलता अभावका कारण घरजग्गा कारोबारमा मन्दी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले देखाउँदछ । साथै, व्यवसायीहरूले तरलता अभावका कारण कारोबारमा केही मन्दी आएको बताएका छन् ।

हाल राष्ट्र बैंकले ल्याएको नीतिले साना व्यवसायीभन्दा ठूलो व्यवसायीलाई बढी मारमा पारेको व्यवसायीहरूको भनाइ छ । ठूला व्यवसायीहरूले कारोबार गर्दा बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा ठूलो लगानी गरेको छ । तर, सोही घरजग्गा बिक्रीका लागि पर्याप्त कर्जा प्रवाह नहुँदा संकटतर्फ धकेलिने व्यवसायीहरूको दाबी छ ।

घरजग्गा व्यवसायीहरूको छाता संगठन नेपाल जग्गा तथा आवास विकास संघका महासचिव पुरुषोत्तम पौडेलले राष्ट्र बैंकले लिएको नीतिले यस क्षेत्रमा केही समयको लागि भएपनि मन्दी ल्याउने बताए । उनकाअनुसार तरलता अभावले गर्दा कारोबार मन्दी आएको थियो । थप अहिले राष्ट्र बैंकले लिएको नीतिले ठूला व्यवसायीलाई संकटतर्फ धकेल्ने देखिएको छ ।

तर, राष्ट्र बैंकले लिएको नीतिले हालको अवस्थालाई हेरेर आगामी दिनमा धेरै संकट आउन सक्ने अनुमान लगाउन कठिन रहेको बताए ।
‘अहिले राष्ट्र बैंकले लिएको नीतिले घरजग्गा कारोबारमा मन्दी तथा संकटतर्फ धकेलिन्छ भन्न सकिन्न,’ उनले भने, ‘आगामी दिनमा तरलता अभावको समस्या हट्ने वित्तिकै यस क्षेत्रमा कारोबार बढ्नेछ ।’

ई–प्रोपर्टीका सञ्चालक सन्दीप अधिकारीले राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक नीतिले केही समयमा लागि कारोबारमा झनै मन्दी आउने बताउँछन् । तरलता अभावले केही मात्राका कारोबार कम भएको अवस्थामा मौद्रिक नीतिले उल्लेख गरेअनुसार जोखिम भार बढाउँदा झन कारोबार खस्किने उनको दाबी छ ।

तरलता अभाव र राष्ट्र बैंकले नीतिले तत्कालको लागि असर देखाए पनि आगामी दिनमा कर्जा प्रवाह सहज हुने वित्तिकै कारोबार बढ्ने उनको भनाइ छ ।

‘अहिले बैंकसँग नै पैसा नभएको अवस्थामा व्यवसायीलाई रकम दिने कुरा हुँदैन,’ उनले भने, ‘आगामी दिनमा बैंकमा पैसा धेरै भएको अवस्थामा घरजग्गा कारोबारमै सबैभन्दा बढी कर्जा प्रवाह हुने भएकाले लामो समयसम्म मन्दी नहुन सक्छ ।’

सिबिफीनले गरेको एक अध्ययनले घरजग्गा कारोबारलाई अनुत्पादित क्षेत्र भनिएको छ । उक्त क्षेत्रमा बढी कर्जा प्रवाह हुँदा तरलता अभाव देखिएको सो अध्ययनले देखाएको थियो ।

बैंक तथा वित्तीय संस्थाले नै सबैभन्दा बढी लगानी गर्ने भएकाले यस क्षेत्रको मूल्य अप्रत्याशित बढेको छ । सो मूल्यलाई केही समयका लागि स्थिर राख्न पनि नीति ल्याएको व्यवसायीहरूको बुझाइ छ ।

व्यवसायीका अनुसार विगतको दिनमा यस्ता संकट भोगिरहेकै हुनाले यस क्षेत्रमा धेरै समयसम्म संकटतर्फ नधकेलिने दाबी गरेका छन् ।
ई–प्रोपर्टीका सञ्चालक अधिकारीले बैंकमा पैसाको फ्लो बढ्ने वित्तिकै उक्त पैसा घरजग्गा कारोबारमै आउने बताउँछन् ।

‘बैंकहरूमा पैसा हुने वित्तिकै बैंकले कर्जा नदिई आम्दानी गर्ने भन्ने हुँदैन,’ उनले क्लिकमाण्डूसँग भने, ‘घरजग्गा धितो राखेर नै सबैभन्दा बढी ऋण पाउने भएकाले हालको व्यवस्थाले आगामी दिनमा असर पार्न सक्दैन ।’

धेरैले घरजग्गा कारोबारमा कमी आउने वित्तिकै मूल्य के हुन्छ भन्ने चासो हुन्छ । अन्य क्षेत्रमा माग घट्ने वित्तिकै मूल्य घट्छ । तर, यस क्षेत्रमा कुनै हालतमा मूल्य घट्न नसक्ने व्यवसायीहरूको धारणा छ । उनीहरूका अनुसार केही समयमा लागि मूल्य स्थिर रहन सक्छ । तर, घर जग्गाको मूल्य अर्थतन्त्रमै विकराल अवस्था पुगे मात्रै जग्गाको मूल्य घट्न सक्छ । साथै, अहिलेको राष्ट्र बैंकको नीतिले खासै असर नपर्ने व्यवसायीहरूको दाबी छ ।


क्लिकमान्डु