जनताका लागि गरिने काममा अस्वस्थ्य प्रतिस्पर्धा हुनुहुँदैन: मेयर शाक्य



काठमाडौं । काठमाडौंको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास भएको छ ।

नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेश द्वारको महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले संयुक्त रुपमा शिलान्यास गरेका छन् । दक्षिणकाली मन्दिरलाई व्यवस्थित गर्न ६ वटा क्षेत्रमा काम भइरहेको बताइएको छ । नगर-नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरबाट प्राप्त अनुदानबाट नगरपालिकाले परियोजना अगाडि बढाएको हो । यो बर्ष सञ्चालन हुने परियोजनाको लागत १ करोड २४ लाख रुपैयाँ रहेको थियो । खुल्ला प्रतिस्पर्धाबाट ठेक्केदारले ८६ लाख ३३ हजार रुपैयाँमा निर्माण कबोल गरेको छ ।

कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले जनताले उपभोग गर्ने वा जनताले लाभ पाउने कुरामा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने बताए । ‘काठमाडौँ उपत्यकाका समस्याहरु एउटै छन् । एउटा ठाउँलाई छोडेर अर्को ठाउँ मात्र विकास गर्छौँ, भनेर काम गर्दा खण्डीकृत हुन्छ । हामी उपत्यकाको एकीकृत विकास गर्न चाहन्छौँ । यसका लागि नगरहरुकाविचमा सहकार्य आवश्यक थियो । त्यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरले नेतृत्व गरिरहेको छ’ मेयर शाक्यले भने, ‘हामीले काठमाडौँका सवै पालिकासँग सहकार्य गरेपछि भक्तपुरका २ वटा नगरसँग साझेदारी सहयोग ग¥यौँ । यसै गरेर एक प्रदेश एक भगिनी सहरको नीति लियौँ । त्यसअनुसार विभिन्न ५ वटा नगरसँग भगिनी सम्बन्ध स्थापना भएको छ । ती नगरलाई पनि पार्क निर्माण गर्न अनुदान सहयोग गरेका छौँ । पहिले लिएका नीति र कार्यक्रमलाई असर नहुने गरी थप सहयोग गर्न तयार छौँ ।’

कार्यक्रममा दक्षिणकाली नगरका मेयर मोहन बस्नेतले, काठमाडौं महानगरले छिमेकी नगरको भौतिक समृद्धिमा सहयोग गरेको बताए । ‘काठमाडौँका जनतालाई आवश्यक पर्ने उत्पादन तथा सामग्री हाम्रो नगरमा छन्’ उनले भने ‘हामी पनि महानगरका जनताको समस्या समाधानमा सघाउन चाहन्छौँ ।’

सबै नगरहरुको समृद्धिलाई साथमा लिएर काठमाडौं महानगरपालिका अगाडि बढेको बताउँदै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सहरी विकासका सानातिना समस्या समाधान गर्ने हो भने ठूला र जटिल ठाउँमा पुग्नै नपर्ने धारणा राखिन । ‘महानगर एक्लै समृद्ध भएर हुँदैन । यो अनुभूति गरेर हामीले साझेदारी कार्यक्रमलाई बढाएका हौँ’ उनले भनिन् ‘महानगरमा पार्क बनाउने जग्गा छैन छिमेकी नगरमा जग्गा छ । अब महानगरका जनता छिमेकी नगरमा घुम्न जाने संस्कार बनाउन चाहन्छौँ ।’


क्लिकमान्डु