सेयरको लगानीमा तपाईं कति सफल ?



व्यवसायमा सफलता थाहा पाउन आफूले गरेको कामको मूल्यांकन गर्ने आधार हुनुपर्छ । यसरी मूल्यांकन वा तुलना गर्ने आधार सामान्यतया ४ वटा हुन्छन् ।

पहिलो, विगतको कार्यसम्पादन । यसको अर्थ अघिल्लो (अघिल्ला) वर्षको प्रतिफल ।

दोस्रो, आफूले तय गरेको मापदण्ड वा लक्ष्य ।

तेस्रो, प्रतिस्पर्धिको कार्य सम्पादन । र, चौथो समग्र उद्योगको औषत कार्यसम्पादन ।

कतिपय व्यवसाय चरम प्रतिस्पर्धाबाट गुज्रिरहेका हुन्छन् । जस्तैः बैंक, बीमाजस्ता व्यवसायमा हेर्यौं भने तीव्र प्रतिस्पर्धा देखिन्छ । तर, सेयरको व्यवसाय गरेर स्वरोजगार हुनेहरुलाई हेर्ने हो भने त्यहाँ प्रतिस्पर्धा देखिँदैन । तपाईं सेयर कारोबार गर्नुहुन्छ भने न राम्रो गरेर ग्राहक बढाउनु छ, न त प्रतिस्पर्धीलाई उछिनेर बजारमा एकनम्बर हुनु नै छ । न खराब नतिजाका कारण तपाईंको बजार हिस्सा घट्दै जाने वा राम्रो गरेका कारण बजार हिस्सा बढ्दै जाने भन्ने जोखिम नै हुन्छ । यसैले यहाँ प्रतिस्पर्धा शून्य छ । ग्राहक नबनाउने गरी गरिने सेयर बजारसँग सम्बन्धित व्यवसाय त्यस्तो ठाँउ हो, जहाँ कसैसँग प्रतिस्पर्धा नै हुँदैन । यद्यपि, राम्रो गर्न पाए हुन्थ्यो भन्ने चाहना सबैमा हुन्छ नै ।

प्रतिस्पर्धा नै नभएको बजारमा संसारकै सफल सेयर लगानीकर्ता मानिने वारेन वफेटले भने प्रतिस्पर्धी भेटेका छन् । उनी आफ्नो व्यवसाय वा लगानी वा पोर्टफोलियोको प्रगतिको प्रतिस्पर्धी बजार परिसूचक (समग्र बजार)लाई मान्छन् । वफेटमात्र हैन धेरैभन्दा धेरै लगानी सम्बन्धी कम्पनी र लगानीकर्ताले बजार परिसूचकलाई लगानीको प्रतिस्पर्धीकारुपमा लिन्छन् ।

सन् १९५६ मा गुरु बेन्जामिन गह्रामको कम्पनीमा काम गरेर जन्मस्थान फर्केपछि बफेटले आफन्तहरुको पैसा व्यवस्थापन गर्ने गरी साझेदारी कम्पनी शुरु गरे । उनी सीधै साझेदारी कम्पनी शुरु गर्नुभन्दा पनि पहिला साझेदारसँग केही विषयमा सम्झौता गर्न चाहन्थे । सोही सम्भौताको कुनै बुँदामा साझेदारी कम्पनीको कामको मूल्यांकन गर्न उनले प्रतिस्पर्धी पनि खडा गरेका थिए ।

साझेदारसँगको छलफलका क्रममा लगानीको नाफा नोक्सान कसरी विश्लेषण गर्ने ? भन्नेबारे पनि वफेटले साझेदारहरुलाई त्यसबेला बताएका थिए । साझेदारलाइ उनले भनेका थिए, ‘सेयर बजारको दैनिक वा हप्ता वा महिनाका उतारचढालाई वेवास्ता गर्नुहोस् ।’ यसलाई थप प्रष्ट्याउँदै उनले भने, ‘त्यसमाथि आफ्नो कुनै नियन्त्रण हुँदैन ।’

यस्तै कुनै एकवर्षको नाफा नोक्सानलाई लिएर हामीले कति राम्रो गर्यौं वा नराम्रो गर्यौं भनेर बढी महत्व नदिन पनि साझेदारलाई आग्रह गरे । एकवर्षको नतिजाको तुलना गर्न अर्को कुनै आधार हुने छैन । एकवर्षको नाफा नोक्सानलाई राम्रो वा नराम्रो भन्नु आफैंमा एक्लै दौडेर प्रथम भएँ भन्नुजस्तो मात्रै हो । उनले थपे, ‘लगानीको नतिजाको मूल्यांकन गर्न ३ वर्ष वा ५ वर्ष वा अझ त्योभन्दा बढी समयलाई आधार मान्न सक्यौं भने त्यो अझ राम्रो हुनेछ । वफेटले साझेदारी लगानीको प्रतिफल वा नतिजालाई सेयर बजार परिसूचक (मार्केट इन्डेक्स) डाउजोन इन्डस्ट्रियल एभरेज (डिजिआइए)को वृद्धिसँग पनि तुलना गर्न अनुरोध गरे । र, उनले भने, ‘यो नै हाम्रो प्रमुख प्रतिस्पर्धी र मूल्यांकनको प्रमुख आधार हुनेछ ।’

डाउजोन इन्डस्ट्रियल एभरेजलाई छोटकरीमा डिजिआइए पनि भनिन्छ । यो अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्ज र नाज्ड्याकमा कारोबार हुने ३० राम्रा कम्पनीको सेयरमूल्यका आधारमा गणना गरिने बजार परिसूचक हो । जसको शुरुवात सन् १८८५ मा भएको थियो ।

साझेदारी व्यवसाय शुरु गरेदेखि नै बफेटले यही बजार परिसुचकलाई प्रतिस्पर्धीका रुपमा खडा गरेका थिए । यसको अर्थ समग्र बजार नै उनको प्रतिस्पर्धी हो । उनले हरेक वर्ष सोही परिसूचकको वृद्धि र केही लगानी व्यवस्थापकको कार्यसम्पादनसँग आफ्नो प्रगतिको तुलना गर्दै आए ।

प्रायः देशहरुमा पोर्टफोलियो वा लगानी व्यवस्थापक कम्पनीको कार्यसम्पादनलाई बजार परिसूचकको बृद्धिसँग तुलना गरिन्छ । जस्तो डाउजोन वार्षिक १० प्रतिशतले बढ्दा लगानी व्यवस्थापकको पोर्टफोलियो ८ प्रतिशतमात्र बढे बजारलाई जित्न सकिएन भन्ने हुन्छ । यस्तै बजारको बृद्धिभन्दा बढी प्रतिशतले पोर्टफोलियोको भ्यालु बढे बजारलाई जित्न सकियो भनिन्छ । लगानीकर्ताको पहिलो उदेश्य समग्र बजारलाई जित्नु हुन्छ । हुन त तुलना गर्ने आधारहरु अन्य धेरै हुन सक्छन् । जस्तो निक्षेपको व्याजदर, ऋणको व्याजदर, सरकारी ऋणपत्रको व्याजदर, घरजग्गाको मूल्य वृद्धि, मुद्रास्फिति आदि । तर, तुलना गर्दा जोखिमको तहलाई मिलाएर तुलना गर्न सकिएमा त्यसले वास्तविक नतिजा दिनसक्छ ।

हामीले पनि लगानीमा कस्तो गर्यौं भनेर हाम्रो पोर्टफोलियोको वृद्धिलाई नेप्से परिसूचकको वृद्धिसँग तुलना गर्न सकिन्छ । एउटा निश्चित सयम जस्तो १ वर्ष वा २ वर्ष वा ५ वर्षमा नेप्सेको वृद्धिभन्दा पोर्टफोलियोको वृद्धि बढी भए बजारभन्दा राम्रो गर्न सकियो भन्ने हुन्छ भने नेप्सेको वृद्धिभन्दा पोर्टफोलियोको वृद्धि कम भए बजारभन्दा राम्रो गर्न सकिएन भन्ने हुन्छ ।

बजारभन्दा राम्रो गर्न सकिएन भने पोर्टफोलियोमा कम्पनी छनौट गर्ने तरिकामा केही कमजोरी हुनसक्छ वा लगानी रणनीतिमा पुनरावलोकन गर्नुपर्ने हुन्छ । अल्पकालिन कारोबारीले पनि आफ्नो कारोबार रणनीतिमा पुनरावलोकन गर्नुपर्ने हुनसक्छ । यदि हामी कुनै उद्योग विशेषमा मात्र लगानी गर्छौं । जस्तो वाणिज्य बैंक, बीमा वा जलविद्युत्, लघुवित्त समुह भने हाम्रो पोर्टफोलियोको प्रतिफल उक्त उद्योग विशेषको इन्डेक्स र समग्र बजार परिसुचकसँग अलग अलग तुलना गर्न सकिन्छ ।

प्रतिफलको गणना गर्दा कुनै धितोपत्र विशेष । जस्तो कुनै कम्पनीको सेयर, पोर्टफोलियो र समग्र बजार गरेर ३ प्रकारले गणना गर्न सकिन्छ । नेप्सेको बृद्धिलाई बजारको प्रतिफल पनि भनिन्छ । यदि नेप्से परिसूचक एकवर्षमा १० प्रतिशतले बढेमा बजारले १० प्रतिशत नाफा बनायो वा बजारको प्रतिफल १० प्रतिशत भनेर भन्छौं वा बुझ्छौं । यदि नेप्से १० प्रतिशतले घटेमा समग्र बजारको प्रतिफल ऋणात्मक १० प्रतिशत भन्छौं । बजारको प्रतिफल (नाफाको प्रतिशत)को गणना अहिलेको नेप्से परिसुचक र एकवर्ष अघिको नेप्से परिसुचकको फरक निकालेर एकवर्ष अघिको नेप्सेले भाग गरिन्छ । यसरी भाग गरेर आएको अंकलाई १०० ले गुणन गरेर वृद्धिको प्रतिशत निकालिन्छ । वृद्धि धनात्मक या ऋणात्मक कुनै पनि आउन सक्छ ।

उदाहरणका लागि एकवर्ष अघिको नेप्से परिसुचकः २५३०.२५

आजको नेप्से परिसूचकः २८३७.६७

एकवर्षको नेप्सेको वृद्धिः (२८३७.६७-२५३०.२५)/२५३०.२५= ०.१२१५ = ०.१२१५×१०० = १२.१५ प्रतिशत ।

माथिको उदाहरणमा एकवर्षमा नेप्से परिसूचक १२.१५ प्रतिशतले बढेको छ । यसलाई हामी बजारको प्रतिफल भन्छौं । यसलाई बजारले बनाएको नाफा पनि भनिन्छ । यसपछि बजारबाट कम्पनी छानेर हामीले बनाएको पोर्टफोलियोको कुल मूल्य सोही समयमा कति प्रतिशतले बढ्यो वा घट्यो भनेर गणना गर्न सक्छौं । यसका लागि पोर्टफोलियोको अहिलेको भ्यालु र एकवर्ष अघिको भ्यालुका आधारमा परिवर्तन गणना गरिन्छ । यदि हाम्रो पोर्टफोलियोको भ्यालु १० प्रतिशतले मात्र बढ्यो भने हामीले बजारभन्दा राम्रो गर्न सकेनौं वा बजारलाई जित्न सकेनौं भन्ने हुन्छ । यसबाट हाम्रो कम्पनी छनौटमा केही कमजोरी छ भन्ने बुझ्नुपर्छ । हाम्रो प्रतिफल बजारको भन्दा बढी हुनुपर्छ । यदि हाम्रो पोर्टफालियोको मूल्य बजारको भन्दा धेरैले बढेमा भने हामीले बजारभन्दा राम्रो गर्यौं भन्ने हो ।

बजार सँधै बढ्छ भन्ने छैन । नेप्से परिसूचक अघिल्लो वर्षको तुलनामा घट्न पनि सक्छ । उदाहरणका लागि नेप्से १५ प्रतिशतले घट्दा हाम्रो पोर्टफोलियो ५ प्रतिशतले मात्र घट्यो भने हामीले बजारभन्दा राम्रो गरेका छौं भन्ने हुन्छ । तर, हाम्रो पोर्टफोलियोको भ्यालु १५ प्रतिशतभन्दा बढी प्रतिशतले घटे हामीले कमजोरी गरिरहेका छौं भन्ने हो । यस्तो अवस्थामा हाम्रो पोर्टफोलियोमा सुधार आवश्यक छ ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् । उनले सेयरबाट करोडपति, सेयरमन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इनभेष्ट इन स्टक मार्केटजस्ता किताबहरु लेखेका छन् ।)


रविन्द्र भट्टराई