नयाँ जीवन बीमा कम्पनीले बाँड्न थाले लाभांश, सँगै अनुमति पाएका ५ कम्पनीको आइपीओ अझै आएन



काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्न सैद्दान्तिक सहमति पाएका नयाँ जीवन बीमा कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गर्न थालेका छन् ।

सञ्चालनको अनुमति एकै पटक पाएका कम्पनीहरुले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गरी लाभांश बाड्दा पनि अझै पाँच कम्पनीले भने आईपीओ ल्याएका छैनन् ।

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये ज्योति लाइफ, यूनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिसकेका छन् ।

आईपीओ निष्काशन गरेका पाँच कम्पनीमध्ये ज्योति लाइफ र रिलायन्स लाइफले लगानीकर्ताका लागि लाभांश घोषणा गरेका छन् ।

ज्योति लाइफले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई १०.५२६३ प्रतिशत प्रतिफल दिएको छ । कम्पनीले सो आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद सो लाभांश दिएको हो ।

यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले पनि आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट लगानीकर्ताका लागि ५.२६३२ प्रतिशत लाभांश दिएको हो ।

पाँच कम्पनीको आइपीओ आउनै बाँकी
बीमा समितिले १० वटा जीवन बीमा कम्पनीलाई एकै पटक लाइसेन्स दिएको थियो । १० जीवन बीमा कम्पनीमध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्स भने कान्छो कम्पनी हो ।

पाँच नयाँ जीवन बीमा कम्पनी रिलायवल नेपाल, सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारणका लागि आईपीओ जारी गर्न बाँकी छ ।

पाँच कम्पनीले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन आउन बाँकी छ । यी पाँच कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको शेयर निष्काशन गर्नेछन् ।

रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले प्रिमियममा आईपीओ जारी गर्ने
सर्वसाधारणका लागि आईपीओ जारी गर्न बाँकी रहेका पाँच कम्पनीमध्ये रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् ।

रिलायबल नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । कम्पनीले प्रिमियम सहित प्रति कित्ता २१२ रुपैयाँका दरले ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन समेत दिएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले पनि वार्षिक साधारण सभाबाट प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले बीमा समितिबाट समेत स्वीकृत पाईसकेको छ ।

कुन कम्पनीको कहाँ पुग्यो प्रक्रिया ?
आईपीओ जारी गर्न बाँकी रहेका सबै कम्पनीहरुले बिक्री प्रबन्धक चयन गर्ने तथा रेटिङ गराउने कार्य समेत गराईसकेका छन् ।

सिटिजन लाइफको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी–आईआर बीबीबी (ट्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउछ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

आईएमई लाइफको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनी समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित रहेको जनाउँछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

सन नेपाल लाइफको आईपीओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ दिएको छ । जसले औसत भन्दा कमजोर वित्तीय अवस्था रहेको कम्पनी भन्ने जनाउँछ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन तथा विक्रि प्रबन्धकको काम सिभिल क्यापिटलले गर्ने छ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी ट्रीपल बी रेटिङ पाएको छ ।

महालक्ष्मी लाइफले पनि आइपीओ निष्कासन तथा विक्रि प्रबन्धकमा सानिमा क्यापिटललाई चयन गरेको छ ।

३ अर्ब १५ करोड रुपैयाँको आईपीओ आउने
पाँच बीमा कम्पनीले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छन् । पाँच कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ७५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ ।

अन्य चार बीमा कम्पनी आईएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६०÷६० करोड रुपैयाँको आईपीओ जारी गर्नेछन् ।


बिजया बास्कोटा