भारतमा हालसम्मकै ठूलो बैंकिङ घोटाला, साढे ३ खर्बबढी ऋण नतिरी शिपयार्ड बेपत्ता



एजेन्सी । भारतको बैंकिङ इतिहासमा सबैभन्दा ठूलो घोटाला भएको सार्वजनिक भएको छ । यो घोटालालाई यसअघि नीरव मोदीले गरेको भन्दा ठूलो र रणनीतिक घोटालाका रुपमा लिइएको छ ।

विवरणहरुमा जनाइएअनुसार गुजरातको पानी जहाज निर्माण एवम् मर्मत गर्ने एबीजी शिपयार्डले कूल २८ बैंकको २ खर्ब २८ अर्ब ४२ करोड भारु अर्थात् ३ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । भारतको केन्द्रीय बैंकको आग्रहका आधारमा सीबीआईले एफआईआर दर्ता गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो बैंकिङ इतिहासकै सबैभन्दा ठूलो घोटाला गुजरातमा सार्वजनिक भएको भन्दै अन्य बैंकमा समेत त्यस्तै प्रकारको समस्या त रहेको छैन भनी खोज तलास शुरु भएको छ ।

भारतीय स्टेट बैंकको उजुरीमा, केन्द्रीय अनुसन्धान ब्यूरोले सो शिपयार्डका तत्कालीन अध्यक्ष तथा प्रबन्ध निर्देशक ऋषि कमलेश अग्रवालसहित ८ जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।

जानकारी अनुसार सो कम्पनीले विभिन्न २८ बैंकको २ खर्ब २८ अर्ब ४२ करोड भारु बराबरको धोखाधडी गरिएको पाइएको छ ।

जानकारी अनुसार एबीजी शिपयार्ड कम्पनीले जहाज निर्माण एवम् मर्मतको काम गर्ने गरेको छ । सो कम्पनीलाई भारतमा राम्रामध्येको एकका रुपमा लिने गरिन्थ्यो ।

यसको शिपयार्डहरू गुजरातको दहेज र सुरतमा छन् । एफआईआरमा जनाइए अनुसार यो घोटाला अप्रिल २०१२ देखि जुलाई २०१७ सम्म गरिएको थियो । एफआईआरमा भनिएअनुसार यो घोटाला बैंकिङ ठगीको सबैभन्दा ठूलो रहेको छ । यो नीरव मोदीको भन्दा ठूलो अपराध रहेको समाचारमा उल्लेख गरिएको छ ।

सबैभन्दा बढी आईसीआईसीआई बैंकको मात्रै ७८ अर्ब ९० करोड भारु बराबरको रकम सो मामिलामा डुबेको छ । एसबीआईका डीजीएमको उजुरी अनुसार कम्पनीसँग आईसीआईसीआई बैंकले सो रकम उपलब्ध गराएको थियो ।

यस्तै आईडीबीआई बैंकको ३६ अर्ब ३४ करोड भारु , एसबीआई बैंकको २४ अर्ब ६८ करोड भारु , बैंक अफ बडौदाको १६ अर्ब १४ करोड भारु , पञ्जाब नेशनल बैंकको १२ अर्ब ४४ करोड भारु इण्डियन ओभरसिज बैंकको १२ अर्ब २८ करोड भारु र एलआइसीको १ अर्ब ३६ करोड भारु बराबरको रकम डुबेको छ । घोटाला गरिएको पैसाले विदेशमा सम्पत्ति किनेको पाइएको छ ।

सीबीआईले एफआईआरमा उल्लेख गरे अनुसार ठगीमा संलग्न दुई ठूला कम्पनीहरूको नाम एबीजी शिपयार्ड र एबीजी इन्टरनेशनल प्राइभेट लिमिटेड हो । दुवै कम्पनी एउटै समूहका हुन् । बैंकबाट ठगी गरेर उनीहरुले विदेशमा धेरै सम्पत्ति किनेको आरोप लागेको छ । सबै नियम–कानून मिचेर एक कम्पनीबाट अर्को कम्पनीमा पैसा पठाइएको बताइएको छ ।

पहिलो उजुरी तीन वर्षअघि गरिएको भएपनि कुनै सुनुवाई भएको थिएन । बैंकले पहिलो पटक नोभेम्बर ८, २०१९ मा उजुरी दायर गरेको थियो । जसमा सीबीआईले १२ मार्च, २०२० मा केही विषयमा स्पष्टीकरण मागेको थियो । बैंकले सोही वर्षको अगस्टमा नयाँ उजुरी दायर गरेको थियो । डेढ वर्षभन्दा बढी अनुसन्धान पछि, सीबीआईले उजुरीमा कारबाही गरेको हो । सोही अनुसार ७ फेब्रुअरी २०२२ मा एफआईआर दर्ता गरेको हो ।

कम्पनीले २४ अर्ब ६८.५१ करोड भारु बराबरको ऋण लिएको थियो ।

कम्पनीले एबबीआईलगायत २८ बैंक तथा वित्तीय संस्थाबाट २४ अर्ब ६८.५१ करोड भारु बराबरको ऋण स्वीकृत गरिएको थियो ।

लेखापरीक्षणले २०१२/१७ को बीचमा अभियुक्तले रकम दुरुपयोग र आपराधिकलगायतका गैरकानूनी क्रियाकलाप गरेको बताइएको छ ।

सिबीआईले अग्रवाल बाहेक, एजेन्सीका तत्कालीन कार्यकारी निर्देशक सन्थानम मुथास्वामी, निर्देशक अश्विनी कुमार, सुशील कुमार अग्रवाल र रवि विमल नेभेतिया र अर्को कम्पनी एबीजी इन्टरनेशनल प्रालिलाई पनि आपराधिक षड्यन्त्र, धोका, विश्वासको आपराधिक उल्लंघन र आधिकारिक दुरुपयोग गरेको आरोपमा मुद्दा दायर गरेको छ ।


क्लिकमान्डु