६ महिनामै १० खर्बको आयात, नाकाबन्दीले घट्यो चीनतर्फको निर्यात, व्यापार घाटा ८ खर्ब ८० अर्ब पुग्यो



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा आयात ५१.१ प्रतिशतले वृद्धि भएको छ । उच्च दरमा बढेको आयातले व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको आयात भएको छ । गत वर्ष ६ महिनामा यस्तो आयात ६ खर्ब ६१ अर्ब रुपैयाँमा सिमित थियो ।

उच्च दरका बढेको आयातले विदेशी मुद्राको सञ्चितीमा गिरावट आउनुको साथै सोधानान्तर स्थिति (नेपाल भित्रिने र बाहिरिने विदेशी मुद्राबीचको अन्तर) पनि घाटामा गएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा शोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब रुपैयाँले घाटामा छ । जबकी गत वर्ष सोधानान्तर स्थिति १ खर्ब २४ अर्ब रुपैयाँले बचतमा थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स ५.५ प्रतिशतले घट्दै ४ खर्ब ६८ अर्ब कायम हुँदा त्यसको असर विदेशी मुद्राको सञ्चिती र सोधानान्तर स्थितीमा परेको हो ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा ११ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले कमी आई ९ अर्ब ८९ करोड कायम भएको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट हुने आयात ३७.५ प्रतिशतले बृद्धि हुदाँ चीनबाट हुने आयात ५१.५ प्रतिशतले बढेको छ । यस्तै अन्य मुलुकबाट हुने आयात भने ९८.२ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक लगायतका वस्तुको आयात घटेको छ ।

कच्चा पाम तेल र कच्चा सोयाविन तेलको आयात बढेको प्रभाव निर्यातमा पनि देखिएको छ ।

नेपालले चालु आर्थिक वर्षको ६ महिनामा अहिले सम्मकै धेरै १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । यो वर्षको ६ महिनामा गत वर्ष भन्दा ९५.५ प्रतिशतले निर्यात बढेको हो ।

गत वर्ष ६ महिनामा ६० अर्ब ८० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

चीन सरकारले अघोषित नाकाबन्दी गरेको असर चीनतर्फको निर्यातमा देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा चीनतर्फको निर्यात १०.२ प्रतिशतले घटेको छ ।

भारतमा पाम तेल र सोयाबिन तेलको निर्यात उच्चदरका बृद्धि हुँदा समग्र भारततर्फको निर्यात १२१.८ प्रतिशतले बढेको छ । गत वर्ष भने भारततर्फको निर्यात ८.४ प्रतिशतले बढेको थियो । यस्तै अन्य मुलुकतर्फको निर्यात भने ३०.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, जुस, ऊनी गलैंचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, जस्तापाता, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

निर्याततर्पm कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।


क्लिकमान्डु