‘भ्यालेन्टाइन डे’का लागि २ लाख बढी गुलाफको माग, ९०% भारतबाट आयात



काठमाडौं । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस नजिकिँदै छ । भ्यालेनटाइन डे नजिकिँदै गर्दा बजारमा चहलपहल शुरू भइसकेको छ ।

प्रेम दिवसमा विशेष गरी आफुले मन पराएका व्यक्तिसँग प्रेम प्रकट गर्ने अर्थात् युवायुवती एक आपसमा आफ्ना प्रेम प्रस्तुत गर्ने दिन भनिन्छ ।

सोही दिनका लागि विभिन्न व्यवसायीहरूले अफरहरू सार्वजनिक गरिसकेका छन् । साथै, बजारलाई आवश्यक गुलाफको फूल व्यापारीहरूले आयात गर्न थालिसकेका छन् ।

पश्चिमा मुलुकबाट शुरु भएको भ्यालेन्टाइन नेपालमा पनि चाडपर्व झैं मनाइने गरिन्छ । बिशेषगरी युवा पुस्ताका महिला पुरुषहरुमा भ्यालेन्टाइन कार्ड, शो–पिस गिफ्ट, फ्रेम, गुलाफ, डलहरु आदानप्रदान गरी मनाउने चलन छ ।

जसमा भोलिदेखि विश्वभर आगामी फेब्रअरी १४ गतेसम्म ‘भ्यालेनटाइन विक’को रुपमा मनाउने गर्दै आएका छन् । जसमा भोलि फेब्रअरी ७ गते ‘रोज डे’ छ ।

उक्त दिन सबैभन्दा बढी गुलाफको फूल खपत हुने गर्दछ । त्यसैगरी, भ्यालेनटाइनमा ‘रोज डे’ का दिन गुलाफ, भने टेडी वियरका दिन टेडी, चकलेट डे का दिन चकलेट र अरु भ्यालेन्टाइन डे का लागि विभिन्न प्रकारका गिफ्टहरु आफ्ना प्रेमीप्रेमीकाले दिने चलन रहेको पाइन्छ ।

भ्यालेनटाइन डेमा सबैभन्दा बढी बिक्री हुने वस्तु हो स्टिम गुलाफको फूल । भ्यालेनटाइन दिवसमा अत्यधिक गुलाफको फूलको माग उच्च भएकाले सोहीअनुसार माग आउने गर्दछ । यो वर्ष भ्यालेनटाइन नेपालभर २ लाख ३० हजार गुलाफको फूल खपत हुने फ्लोरिकल्चर एशोशिएसन अफ नेपालले अनुमान गरेको छ ।

एशोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले यो वर्षको भ्यालेनटाइनको माग बढेकाले २ लाख ३० हजार गुलाफको फूल माग भएको बताए ।

उनकाअनुसार गत वर्ष दोस्रो लहरको कोरोना महामारीले गर्दा बजार निकै थलिएको थियो । साथै, बजारपनि सुस्त अवस्थामा चलेको हुनाले कम माग आएको थियो । यो वर्ष कोरोना महामारीकै समय भएपनि वातावरण सहज हुँदा माग बढेको छ ।

गत वर्ष भ्यालेनटाइन डेको समयअवधिको लागि १ लाख २० हजार स्टिम गुलाक फूल खपत हुने अनुमान गरेके थियो । तर, पछि उक्त भ्यालेनटाइन अवधिभर १ लाख ८० हजारको हाराहारीमा गुलाफको फूल खपत भएको थियो ।

९० प्रतिशत भारतबाट आयात
यो वर्षको भ्यालेनटाइनमा करिब अढाइ लाख गुलाफको फूल खपत हुनेमा ९० प्रतिशत भारतबाट आयात हुने गरेको छ ।

एशोसिएसनका अनुसार व्यवसायीहरूले भ्यालेनटाइन डेका लागि फुल डच रोज तथा कलकत्ताको लोकल रोज मात्र आयात गर्ने गर्दछ ।

एशोसिएसनका अध्यक्ष तामाङ्ले भारतबाट ९० प्रतिशत अर्थात् २ लाख ७ हजार भारतबाट आयात हुने बताए । साथै, अन्य १० प्रतिशत (२३ हजार) मात्रै आन्तरिक बजारको गुलाफको फूल खपत हुने उनले जानकारी दिए ।

नेपालको उत्पादन निकै कम भएकाले गुलाफको फूल आपूर्तिका लागि भारतबाटै आयात गर्नुपर्ने अवस्था रहेको छ ।

‘यो वर्ष नेपालको उत्पादन निकै कम छ,’ उनले भने ।

कोरोना महामारीका कारण उत्पादनमा सहज वातावरण सिर्जना नहुँदा यो वर्ष १० प्रतिशत मात्रै आन्तरिक उत्पादनबाट खपत हुने भएको उनको भनाइ छ ।

‘अहिले धेरै नर्सरी र ग्रीनरी खालीखाली छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘कोभिडपश्चात फ्लोरिकल्चर क्षेत्रमा थप लगानी गरेका छैनन् । विगतको दिनको भएको विरुवा बुढो भएको हुनाले कम उत्पादन हुन्छ ।’

यस क्षेत्रमा नयाँ थप लगानी गर्न कोभिडले गर्दा त्रसित भएकाले आयातमै भर पर्नुपरेको उनले जिकिर गरे ।

त्यसैगरी, माघ महिनाबाट निरन्तर चिसोले कम फूल फुलेकोले कम उत्पादन भएको उनको भनाइ छ । भ्यालेनटाइनको १ हप्ताको अवधिमा उपत्यकामा ६० प्रतिशत र बाँकी ४० प्रतिशत स्टिम गुलाफको फूल उपत्यका बाहिरको शहरहरुमा खपत हुनेछ । जसमा आन्तरिक उत्पादन उपत्यकाका तीन जिल्ला, चितवन र काभ्रेको फूल बजारमा खपत हुनेछ ।

बजारमा आयातित र आन्तरिक उत्पादन भएको गुलाफको फूलको गुणस्तरअनुसार प्रतिस्टिम मूल्य ८० रुपैयाँदेखि १५० रुपैयाँसम्म मूल्य छ ।


क्लिकमान्डु