के अब फेसबुकका दिन सकिदै गएका हुन् ?



एजेन्सी । सामाजिक सञ्जालमा अग्रणी स्थानमा रहेको भनिएको फेसबुक प्रयोगकर्ताको संख्यामा गुणात्मक रुपमा गिरावट आएको छ ।

मानिसहरुले यस सञ्जाललाई अब असाध्यै सस्तो र काम नभएका मानिसले चलाउने सञ्जालको रुपमा टिप्पणी गरिरहेका छन् । किनक यस्तो टिप्पणी शुरु भयो त भन्ने विषयमा भने आम रुपमा चासो शुरु भएको छ ।

अग्रणी सामाजिक सञ्जाल मानिएको फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ताको संख्या घटेको यो अरुले होइन त्यसैको माऊ कम्पनी मेटाले जानकारी दिएको हो ।

सस्तो, अप्राकृतिक एवम् समाजमा विखण्डन खडा गर्ने तथा गलत समाचारहरुको बाढी लाग्दा फेसबुकको विश्वसनीयतामा दैनिक ह्रास आएको छ । मानिसहरु भन्छन् अब के आधारमा कसरी यसलाई विश्वास गर्ने ?

फेसबुकको माउ कम्पनी मेटाका अनुसार दैनिक सक्रिय प्रयोगकर्ताको संख्या सन् २०२१ को अन्तिम तीन महिनामा एक १ अर्ब ९२ करोड ९० लाख रहेको थियो । विवरण अनुसार त्यसअघिको त्रैमासिकमा त्यस्ता प्रयोगकर्ताको संख्या एक अर्ब ९३ करोड थियो ।

मेटाले टिकटक र यूट्युबजस्ता प्रतिद्वन्द्वीले विज्ञापन लैजाँदा आफ्नो आम्दानी कम हुनसक्ने चेतावनी पनि दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उक्त विवरण आएको केही घण्टापछि न्यूयोर्क स्टक एक्सचेञ्जमा मेटाको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको थियो । यसबाट सबैभन्दा बढी झट्का फेसबुकका प्रमुख मार्क जुकरवर्गलाई लागेको छ । उनी यस समय असाध्यै बढी चिन्तामा देखिएका छन् ।

उक्त गिरावटले कम्पनीको मूल्यमा करिब २०० अर्ब डलर ह्रास आएको छ । यो रोकिने अवस्थामा नरहेको पाइएको छ । किनकी, खबरहरु सकारात्मक छैनन्, केवल नकारात्मक मात्रै छन् । अवस्था यस्तो बनेको छ कि सकारात्मक समाचार आउन नै छाडेका छन् ।

मानिसको मनोविज्ञानमा नै फेसबुक केवल नकारात्मक सामग्री प्रस्तुत गर्ने थलो हो भन्ने भएपछि त्यसलाई सुधार गर्न समय लाग्छ । त्यो समय कति लाग्छ भन्ने कुरामा स्वयम् मार्क जुकरवर्गले पनि भन्न सक्ने अवस्था छैन ।

टीवटर, स्न्यापच्याट र पिनट्रिस्टको मूल्य पनि खस्किएको छ । तर फेसबुकको जत्तिको छैन ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले कम्पनीको विस्तारमा बाधा पुग्नुको कारण प्रतिस्पर्धी माध्यमहरूमा युवाहरूको आकर्षण बढ्नु भएको बताएका छन् ।

उनले प्रतिस्पर्धीको तुलनामा आफूहरु पछाडि परेको स्वीकार गरेका छन् । त्यसमा अब गहिरो तरिकाले सोच विचार गरी अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।

गुगलपछि विश्वको दोस्रो ठूलो डिजिटल विज्ञापन प्लेटफर्मको स्वामित्व मेटामा छ । उसले एपलको अपरेटिङ सिस्टमले लागु गरेका गोपनीयता सम्बन्धी परिवर्तनहरूले पनि आफूलाई प्रभाव पारेको जनाएको छ ।

एपलको परिवर्तनले ब्रान्डहरूलाई आफ्ना लक्षित समूदाय पहिचान गर्न एवम् फेसबुक र इन्स्टाग्राममा गरिएका आफ्ना विज्ञापनको मापन गर्न अप्ठ्यारो पारिदिएको थियो ।

यो वर्ष उक्त कदमका कारण १० अर्ब डलरसम्म प्रभाव पर्न सक्ने मेटाका प्रमुख वित्तीय अधिकारी डेभ वेह्नरले बताएका छन् ।

मेटाको कूल आम्दानीको अधिकांश हिस्सा विज्ञापनबाट आउँछ र त्यो उक्त अवधिमा बजारको अनुमानभन्दा विपरीत ३३ अर्ब ६७ करोड डलर पुगेको थियो ।

आगामी त्रैमासिकमा सो आम्दानी २७ अर्ब डलरदेखि २९ अर्ब डलरको बीचमा हुने र त्यो विज्ञहरूले अपेक्षा गरेभन्दा कम रहेको बताइन्छ । मेटाले चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको स्वामित्व रहेको टिकटकसँग प्रतिस्पर्धा गर्न भिडिओमा लगानी गरिरहेको छ।

जकरवर्गले विगतमा मोबाइल विज्ञापन र इन्स्टाग्राम स्टोरीमा गरेको लगानी जस्तै भिडिओ र भर्चुअल रियालिटीमा गरेको लगानीले सकारात्मक परिणाम दिनेमा विश्वास व्यक्त गरेका छन् । तर प्रतिस्पर्धी पनि कमजोर भने छैनन् ।

उनीहरुले पनि फेसबुकलाई माथ खुवाउन सक्दो प्रयास गरिरहेका छन् । त्यसमा सबैभन्दा अगाडि टिकटक देखिन्छ ।

फेसबुक सधैं वृद्धि भइरहेको प्ल्याटफर्मका रूपमा देखिन्थ्यो । सञ्चालनमा आए यता प्रत्येक त्रैमासिकमा उसको विश्वव्यापी आँकडा सधैं अगाडि बढेको देखिन्थ्यो ।

तर पछिल्लो केही वर्षमा युरोप र अमेरिकामा उक्त वृद्धि रोकियो । तर त्यसलाई बाँकी विश्वमा बढेको प्रयोगकर्ताको संख्याले ठिकठाक देखाइदिएको थियो ।

फेसबुक विगतमा जस्तै युवा प्रयोगकर्तामाझ लोकप्रिय छैन भन्दा अन्यथा मान्नुपर्ने अवस्था छैन । तर त्यसबाहेक अन्य कारणहरूले पनि लगानीकर्ताहरू मेटालाई लिएर चिन्तित देखिएका छन् ।

मेटाले मेटाभर्समा केन्द्रित हुन आफ्नो नाम परिवर्तन गरेको भएपनि सफलता नजिक पुग्नसकेको छैन । मेटाभर्समा सफलताको सम्भावना रहेको जुकरवर्गले ठानेका छन् र अर्बौँ डलर लगानी पनि गरिएको छ । तर नतिजा भने सकारात्म्क छैन ।

तर त्यसमा ठूलो जोखिम छ । बीबीसीका उत्तर अमेरिका प्रविधि संवाददाता जेम्स क्लेटनका अनुसार मेटाको तत्कालको समस्याको समाधान टिकटकलाई खरिद गर्नु हो । तर अमेरिकी नियामक निकायले एकाधिकारसम्बन्धी कानुनका कारण त्यसो गर्न कहिल्यै दिने छैनन् ।

फेसबुकलाई धेरैले विषाक्त ब्रान्डका रूपमा लिइरहेका छन् । त्यहाँ काम गर्नु १० वर्षअघि जस्तो रमाइलो छैन र त्यस कारण अब्बल प्रतिभाहरू आकर्षण गर्ने कार्य चुनौतीपूर्ण देखिएको छ ।

मेटाका लागि आगामी दिनमा थप गम्भीर समस्या आउन सक्छन् । अहिलेको तथ्यांक त्यसको शुरुवात मात्रै हुनसक्ने क्लेटनको विश्लेषण छ ।

मेटाका सीईओ मार्क जुकरबर्गले भने कि यसका प्रयोगकर्ताहरू, विशेष गरी युवाहरू टिकटक र यूट्यूबमा लागेकाले कम्पनीको वृद्धि मा फरक पारेको छ । यसै समयमा, विज्ञापनदाताले पनि आफ्नो लागत कटौती गरिरहेका छन् ।

‘हामी विश्वास गर्छौं कि प्रतिस्पर्धी सेवाहरूले वृद्धि दरमा नकारात्मक प्रभाव पारिरहेको छ, विशेष गरी युवा प्रयोगकर्तामा,’ डेभ वेइनर, कम्पनीका प्रमुख वित्तीय अधिकारीले भनेका छन् ।

यसअघि गत वर्ष अक्टोबरमा फेसबुकले आफ्नो नाम परिवर्तन गरी मेटा राख्ने घोषणा गरेको थियो ।

वेनरले भने कि यो परिवर्तनले अब कुनै पनि ब्रान्डलाई फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताहरूलाई आफ्ना विज्ञापनहरू पुर्याउन र तिनीहरूको नम्बरहरू ट्रयाक गर्न धेरै गाह्रो भएको छ । उनका अनुसार यसले यस वर्ष करिब १० अर्ब डलर बराबरको अर्डरलाई पूर्णरुपमा असर गर्न सक्छ ।

अर्कोतर्फ, टिकटकले गत सेप्टेम्बरमा नै भनेको थियो कि यसका विश्वव्यापी १०० करोड सक्रिय प्रयोगकर्ताहरू छन् । छोटो भिडियोका लागि बनाइएको र असाध्यै प्रसिद्ध यो वेबसाइट चीनको बाइटडान्स कम्पनीको हो । यो तिव्रतर रुपमा शिखरको यात्रामा छ ।

सामाजिक सञ्जाल वेबसाइटको कुरा गर्दा टिकटकका प्रयोगकर्ताको वृद्धिदर निकै बढेको छ । चार वर्षअघि सन् २०१८ जनवरीमा टिकटकका प्रयोगकर्ताको संख्या ५ करोड ५० लाख मात्र थियो ।

एक वर्षपछि यसको प्रयोगकर्ता बढेर २७ करोड पुग्यो । र एक वर्षमा यो संख्या १०० करोड बढी पुग्यो ।

टिकटकसँग प्रतिस्पर्धा गर्न अब फेसबुक र यसको पार्टनर प्लेटफर्म इन्स्टाग्रामले पनि छोटो भिडियो बनाउन लगानी गर्न थालेको छ । जसका कारण कम्पनीको नाफामा समेत असर परेको छ ।

जुकरबर्गले भिडियो उत्पादन र भर्चुअल रियालिटीको विकासमा आफ्नो फोकसले सकारात्मक नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको पटक पटक बताएका छन् ।

कम्पनीले पहिले मोबाइल विज्ञापन र इन्स्टाग्राम स्टोरीहरूमा बाजी लगाएको छ । कम्पनीले इन्स्टाग्राम रिल्स नामक भिडियो फिचर पनि लञ्च गरेको छ ।

तर जुकरबर्गले भने कि उनको कम्पनी टिकटकसँग प्रतिस्पर्धा गर्न इच्छुक छैन । तिनीहरू विश्वास गर्छन् कि हाम्रा साधनहरुले राम्रो प्रदर्शन गरिरहेका छन् र त्यो द्रुत रूपमा बढिरहेको छ ।

खासमा फेसबुकले जति गरेपनि गलत सन्देशहरु रोक्न सकेको छैन । जसको परिणाम उसले भोग्नु परेको छ । सरकारहरुको पनि सरकार सुपर सरकारको रुपमा उसले आफूलाई उभ्याएको छ । जसले सकारात्मक भन्दा नकारात्मक परिणामहरु देखाइरहेको छ ।


क्लिकमान्डु