चीनका यी विशाल मेगा परियोजना, जसले तान्दैछ संसारको ध्यान, खर्बाै लगानी



एजेन्सी । ठूला–ठूला भौतिक पूर्वाधार निर्माणका लागि चीनलाई संसारमा कोही कसैले पनि नभेट्ने भएको छ । उसले अगाडि सारेका ठूला मेगा प्रोजेक्टका कारण सारा संसार नै चकित भएको छ ।

भौतिक पूर्वाधारमा अग्रणी मानिएका केही देश समेत धेरै पछाडि परेका छन् । संसारभर नै चीन यस्तो देश बनिरहेको छ कि अब ठूला परियोजनामा अरुले आँक्न नै नसक्ने भएको छ ।

कोरोना भाइरसका कारण संसारका अन्य देश समस्यामा परिरहेको बेला चीनले लगातार प्रगति गरिरहेको छ । आर्थिक रुपमा समेत चीन शीर्ष स्थानमा छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा समेत चीनले अरुलाई धेरै पछाडि पारेको छ ।

कारण चीनले राज्य नियन्त्रित पूँजीवादलाई बढावा मात्रै दिएको छैन, बिस्तार पनि गरिरहेको छ । त्यसैको उदाहरणको रुपमा मेगा प्रोजेक्टहरूलाई लिन सकिन्छ ।

चीनले यतिबेला पानीमुनि रेलवे टनेलदेखि नदीको पानी डाइभसर्न गर्नेसम्मका योजना अगाडि बढाएको छ । चीनसँग योजना वा निर्माणाधीन ठूला पूर्वाधार परियोजनाहरू छन् ।

त्यसले चीनको अर्थतन्त्रको विकास र बिस्तारमा थप बल दिने विश्वास लिइएको छ । बेइजिङले परम्परागत रूपमा अर्थतन्त्रलाई टेवा दिन पूर्वाधारको क्षेत्रमा उल्लेख्य मात्रामा खर्च गरको छ ।

तर केही आलोचकहरूले भने अन्धाधुन्द मात्रामा गरिएको लगानीले आगामी दिनमा दिगो ऋण संकट निम्त्याउन सक्छ ।

सरकारी अधिकारी ठान्छन् कि जति बढी सुविधा दिन सकियो वा जति बढी यस्ता क्षेत्रमा लगानी गरियो, त्यसले अर्थतन्त्रको विकासमा नै बढावा दिन्छ । पैसाले पसा तान्छ भने जस्तै बढी पैसा लगानी गर्यो, त्यति नै धेरै पैसा फल्छ ।

चीनले आफ्नो अर्थतन्त्रलाई स्थिर बनाउन राज्यको नेतृत्वमा लगानी बिस्तार गरेको छ । यो बढ्दो रूपमा परिवर्तन गरिरहेको छ । आशा गरिएको छ कि मेगा पूर्वाधार परियोजनाहरूले स्थानीय व्यापारलाई उत्प्रेरित गर्नेछ र रोजगारी सिर्जना गर्नेछ ।

गत डिसेम्बरको अन्त्यमा, चीनको अर्थमन्त्रालयले स्थानीय सरकारहरूलाई लगानीलाई प्रोत्साहन गर्ने थप नीतिहरु अगाडि सारेको थियो ।

अर्थतन्त्रलाई सहयोग गर्न २०२२ विशेष–बहुउद्देश्यीय बन्डका लागि प्रारम्भिक रूपमा १.४६ ट्रिलियन युआन बराबरको कोटा छुट्याउने प्रस्ताव गरेको छ ।

बेइजिङले अगाडि सारेको २०२१ देखि २०२५ सम्मको विकास योजनामा कूल १०२ वटा थप मेगा–परियोजनाहरू पनि समावेश गरिएका छन् । जसलाई असाध्यै महत्व दिएर शीर्ष स्थानमा राखिएको छ ।

यद्यपि, पूर्वाधार खर्चलाई केही त्रैमासिकमा भने शंकाको दृष्टिले हेरिएको छ । आलोचकहरूले भनेका छन् कि त्यस्तो अन्धाधुन्द लगानीले देशलाई स्थानीय ऋणको अस्थाई स्तरमा समस्यामा पार्न सक्छ ।

तीमध्ये यस आलेखमा चीनले अगाडि सारेका तीनै ठूला परियोजनाको बारेमा चर्चा गरिएको छ । ती मेगा परियोजनाले चीनमा उत्साह र विवाद दुबै अगाडि बढाएको देखिन्छ ।

सिचुआन–तिब्बत रेल्वे
सिचुआन–तिब्बत रेल्वे सन् २००६ मा छिन्घाईसँग जोडिएपछि तिब्बत र भित्री भूभागहरू बीचको दोस्रो रेल लिंक परियोजना हो ।

सिचुआन प्रान्तको राजधानी छेङ्दु र तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासालाई जोड्ने यो परियोजनाले यात्राको समय ३६ घण्टाबाट घटाएर १३ घण्टामा सीमित गर्नेछ ।

सरकारी स्वामित्वको चाइना रेलवे समूहले यसलाई प्रमुख रणनीतिक परियोजनाको रूपमा सूचीबद्ध गरेको छ । राष्ट्रपति सी जिनपिङको समर्थन प्राप्त गरेपछि यसलाई चीनको रेलवे निर्माणको लागि उच्च प्राथमिकताको रूपमा हेरिएको छ ।

कूल ३१९.८ बिलियन युआन बराबरको लगानी रहेको परियोजनाको निर्माण २०२० को अन्त्यमा शुरु भएको थियो । यो परियोजना सन् २०२६ मा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

जानकारहरुका अनुसार यही रेल्वे परियोजना नै नेपालसम्मरेल ल्याउने परियोजनाको रुपमा समेत हेरिएको छ ।

नेपालको सीमा नजिक रहेको केरुङसम्म ल्याउने भनिएको रेल्वे लाइन पनि यही परियोजनामार्फत् जोडिएर आउँछ । तर नेपालतर्फको विस्तृत परियोजना प्रतिवेदनको काम भने हालसम्म अगाडि बढ्न सकेको छैन ।

छेङ्दु र सिचुआन प्रान्तको यान सहरलाई जोड्ने खण्ड सन् २०१८ मा खोलिएको थियो । जसमा तिब्बत स्वायत्त क्षेत्रको न्इङ्ची र ल्हासा बीचको ४३५ किलोमिटर खण्ड जुनमा खोलिएको थियो ।

बाँकी रहेको १ हजार ११ किलोमिटर खण्ड सुरुङ र पुलहरू प्रयोग गरेर निर्माण गरिनेछ । यो रेलमार्ग ९ हजार फिटभन्दा बढी उचाइमा रहेका क्षेत्रहरू भएर यात्रा गर्नेछ ।

दक्षिण–उत्तर जल स्थानान्तरण परियोजना
दक्षिणमा रहेको याङ्त्से नदीबाट वार्षिक दर्जनौं अरब घनमिटर पानी तीनवटा नहरहरूमार्फत उत्तरी क्षेत्रहरूमा लैजाने चीनको महत्वपूर्ण योजनाको बारेमा सन् १९५० को दशकको शुरुदेखि नै चर्चा हुँदै आएको थियो ।

सरकारले आयोजनामा कति लगानी गरिरहेको छ भन्ने यकिन तथ्यांक सार्वजनिक गरेको छैन । तर अघिल्लो बजार अनुमानले करिब ५०० अर्ब युआन रहेको अनुमान गरेको बताइएको छ ।

पूर्वी नहर ऐतिहासिक ग्रान्ड नहरको दिशा पछ्याउँछ र जिङ्सु, साङदोङ र हुवेई प्रान्तहरुमा यो नहर जानेछ ।

कूल १ हजार ४३२ किलोमिटर लम्बाइ भएको केन्द्रीय नहर हुबेईको मध्य प्रान्तको डान्जियाङकोउ जलाशयबाट शुरु हुन्छ । जबकि पश्चिमी नहर बायानहर पर्वतको छेउमा याङ्त्जे नदीको तीन सहायक नदीहरूबाट सुरु भएर छिङहाइ, गान्सु, शान्सी प्रान्तहरू हुँदै जान्छ । शान्सी र इनर मंगोलिया र निङ्जिीयाङमा जोडिनेछ ।

चीनले सन् २००२ मा पूर्वी मार्ग र केन्द्रीय मार्गको पहिलो चरणको निर्माण स्वीकृत गरेको थियो । गत वर्षको अन्त्यसम्ममा ९४.२ प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

सन् २०२१ मा कुल पानीको मात्रा ९.७ बिलियन क्यूबिक मिटर थियो । जुन ३.२ मिलियन ओलम्पिक स्विमिङ पुल बराबर रहेको छ ।

सन् २०२१ को अन्त्यसम्ममा पूर्वी मार्ग खोलिए देखि करिब ४९.९ अर्ब घनमिटर पानी डाइभर्ट गरिएको जलस्रोत मन्त्रालयले जनाएको छ ।

लगानी, वाष्पीकरण र वातावरणीय क्षतिको चिन्ताको अतिरिक्त, स्थानीय बासिन्दाहरूको पुनर्वास परियोजनाको लागि एक प्रमुख चुनौती रहेको सरकारी विवरणमा जनाइएको छ ।

विवरणमा ३ लाख ३० हजार मानिस जलाशय नजिकै र केन्द्रीय मार्गमा बसोबास गरिरहेका छन् । गत मे मा राष्ट्रपति सी ले केन्द्रीय मार्गको भ्रमण गरेका थिए ।

त्यहाँ एक गोष्ठी आयोजना गरिएको थियो । जहाँ उनले भनेका थिए कि परियोजना जनताको आवश्यकताहरू पूरा गर्न, साथै पर्यावरणीय सुरक्षा र दिगोपन सुनिश्चित गर्नको लागि आवश्यक छ ।

जलस्रोत मन्त्री ली गुओइङले जनवरीमा २०२२ को वार्षिक कार्य सम्मेलनमा भनेका थिए कि अधिकारीहरूले पूर्वी र मध्य नहरहरूमा फलो–अप परियोजनाहरू अगाडि बढाउनेछन्, साथै पश्चिमी मार्गको लागि प्रारम्भिक चरणको काम पनि शुरु गर्नेछन् ।

यानताई–डालियन अन्डरसी टनेल
पूर्वी सहर यानताई र उत्तरमा डालियान बीचको प्रस्तावित सुरुङ बोहाइ सागर मुनि ९० किलोमिटर लम्बाईको हुनेछ । यो इङ्गल्याण्ड र फ्रान्सबीचको च्यानल सुरुङभन्दा दोब्बरभन्दा बढी छ ।

यो परियोजना पहिलो पटक सन् १९९० को दशकमा शुरु भएको थियो, तर आवश्यक जटिल प्रविधि र कम यातायातको मागका कारण यसको सम्भाव्यतामा लामो समयदेखि प्रश्न उठेको छ ।

केन्द्रीय सरकारले सन् २०१४ मा उत्तरपूर्वी चीनलाई पुनरुत्थान गर्ने योजनामा समावेश गरेपछि यसले थप महत्व पाएको छ ।

यो सुरुङ बेइजिङ–ताइपेई एक्सप्रेसवेको एक हिस्साको रूपमा प्रस्ताव गरिएको थियो । जुन पूरा भएमा मुख्य भूमिलाई ताइवानसँग जोड्नेछ । यसलाई पछि चीनको रेलवे विकास योजनामा समावेश गरिएको छ ।

उच्च गतिको रेल्वेको फुझोउ–ताइपेई खण्डलाई राज्य परिषदले फेब्रअरी २०२१ मा जारी गरेको २०२१–३५ यातायात सञ्जाल विकास योजनामा पनि समावेश गरिएको छ ।

परियोजनामा १२६ किलोमिटर सुरुङ समुद्रमुनि निर्माण गरिनेछ । जुन धेरै शैक्षिक छलफल र सम्भाव्यता अध्ययनको विषय भएको छ । जसमा राज्यको स्वामित्वमा रहेको चाइना रेलवे इन्जिनियरिङ कर्पोरेशनले अगाडि बढाएको छ ।

मुख्य भूमि चीनमा उत्साह देखिएपनि ताइवानले स्पष्ट चासो देखाएको छैन । जसलाई बेइजिङले एक छुट्टिएको प्रान्तको रूपमा लिन्छ । जुन आवश्यक भएमा बल प्रयोगबाट एकताबद्ध गराइनेछ ।

यसलाई सामान्यतया एकीकरणका लागि बेइजिङको घोषणापत्रको एक भागको रूपमा हेरिएको छ । विशेष गरी पछिल्ला २ वर्षदेखि ताइवानमा तनाव बढेको छ ।

हेङसी नदी परियोजना
हेङसी नदी परियोजना वा रातो झण्डा नदी परियोजना अर्को महत्वपूर्ण छ । सन् २०१७ मा सामाजिक कार्यकर्ता गाओ गानद्वारा यो परियोजना प्रस्ताव गरिएको थियो ।

जसको उद्देश्य तिब्बतको पानी सिन्जियाङको सुख्खा भूमिमा सार्ने उद्देश्य राखिएको छ । यसलाई कुनै सरकारी समर्थन नभए पनि सामाजिक सञ्जालमा यसलाई अगाडि बढाउँदा सनसनी नै मच्चियो ।

यो यार्लुङ जाङ्बो ग्रान्ड क्यानल नजिकैबाट सुरु हुनेछ । चीनको दक्षिणपूर्वका प्रमुख नदीहरू, जस्तै लान्काङ र उत्तरपश्चिमी प्रान्त गान्सुको हेक्सी कोरिडोर हुँदै सिन्जियाङ पुगेर पानी स्थानान्तरण गर्नेछ ।

शाखा नहरहरू सहित, यो कूल ६ हजार १८८ किलोमिटर लामो रहेको छ । यो याङ्जी नदीको लम्बाइ भन्दा थोरै कम छ । जबकि ६० अर्ब घन मिटर पानी वार्षिक रूपमा स्थानान्तरण गरिनेछ । याल्लो रिभरको वार्षिक प्रवाहभन्दा बढी पानी उपलब्ध हुनेछ । यो पूरा हुन १० वर्ष लाग्नेछ र ४ ट्रिलियन युआन खर्च हुनेछ । यो परियोजना छलफलको विषय भएको छ ।


क्लिकमान्डु