दुधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ बढ्यो, तर खुसी छैनन् व्यवसायी



काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साविकको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेशप्रसाद यादवले जानकारी दिए ।

सरकारले यसअघि प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा कायम गरेको थियो । त्यस्तै, हाल बढाएको मूल्य पश्चात अबदेखि दुधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा कायम भएको छ ।

सरकारले यसअघि दुधको समर्थन मूल्य ४९ रुपैयाँ ५२ पैसा बजारमा कायम गर्दा खुद्रा बजारमा दुधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ कायम गरेको थियो ।

अहिले सरकारले ६ रुपैयाँ ५२ पैसा बढाएको छ । तर, बजार मूल्यबारे डीडीसीको सञ्चालक समितिले बोर्ड बैठक गरेर निर्णय गर्ने भएको छ । जसमा बोर्ड बैठकले बजार मूल्य कति कायम गर्ने भन्ने विषयमा निष्कर्ष निकालेर बजार मूल्य कायम गर्ने भएको यादवको भनाइ छ ।

सरकारले साढे ६ रुपैयाँ मूल्य बढाएपनि व्यवसायीहरू भने उत्साहित छैनन् । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ र दूग्ध विकास संस्थानले दुधको मूल्य बढाउनुपर्ने माग गर्दै आएका थिए । सोहीअनुसार उक्त संघसंस्थाले राष्ट्रिय दुग्ध विकास बोर्डमा मूल्य बढाउनुपर्नेमा प्रस्ताव गरेको थियोे ।

विभिन्न संघसंस्थाले मूल्य बढाउनुपर्ने माग गरेसँगै बोर्डले अध्ययनका लागि समिति गठन गरेको थियो । उक्त समितिले २७ वटा जिल्लालाई नमूनाका रुपमा लिई प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गरेको थियो ।

तर, उक्त पेश गरेको प्रतिवेदनअनुसार मूल्य नबढेको व्यवसायीहरूको भनाइ छ । समितिले तयार गरेको प्रतिवेदनको आधारमा १० रुपैयाँ बढाउने भन्ने निर्णय भएको थियो । तर, अहिले मन्त्रिपरिषद्बाट ६ रुपैयाँ ५२ पैसा मात्रै बढाएको नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए ।

उनकाअनुसार हाल बढाएको मूल्य न्यायोचित छैन ।

‘बोर्डले जुन किसिमले समिति गठन गरेर मूल्य सिफारिस गरेको थियो । सोअनुसार भएन,’ उनले क्लिकमाण्डूसँग भने, ‘समितिले १० रुपैयाँ बढाउनेमा ७ रुपैयाँ किसानलाई र ३ रुपैयाँ उद्योगीलाई भनेको थियो ।’

तर, हाल सरकारले किसानको समर्थन मूल्य मात्रै बढाएको छ ।

सरकारले बढाएको मूल्यमा बाक्लो पदार्थ ८ र फ्याकट ४ दुधमा हुनुपर्छ । उक्त मूल्यमा किसानको मात्रै मूल्य बढेको उनको भनाइ छ ।

‘किसानको मूल्य बढ्यो तर, उद्योगीको मूल्य बढेन,’ उनले भने, ‘किसानको लागत बढ्ने हाम्रो नबढ्ने हुँदैन । उद्योगीको लागत मूल्यमा धेरै बढेको छ । त्यसैले, उद्योगीको पनि बढ्नुपर्छ ।’

उनकाअनुसार २ वर्षको अवधिमा बत्ति, पेट्रोल, घरभाडा, तलबलगायत अन्य धेरै क्षेत्रमा मूल्य बढेको छ । सोहीअनुसार सरकारले पसनि दुधको मूल्य बढाउनुपर्ने हो ।

सरकारले हाल कायम गरेको मूल्यमा उद्योगीहरूका समर्थन नरहेको उनको भनाइ छ । सरकारले बढाउने मूल्यमा किसानलाई ६९ प्रतिशत र ३१ प्रतिशत उद्योगलाई हुनुपर्ने नियम छ । सोहीअनुसार बजारमा पनि मूल्य कायम हुन्छ । तर, हाल कायम भएको मूल्य कसरी तय हुन्छ उक्त निर्णय कुरिरहेको उनको जानकारी दिए ।


क्लिकमान्डु