१२ बीमा कम्पनीको बोनसदर: ५ कम्पनीको घट्दा दुईको बढ्यो



काठमाडौं । १२ जीवन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् ।

बोनस दर सार्वजनिक गर्ने कम्पनीमा नेशनल लाइफ, मेट लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, एशियन लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, एलआईसी नेपाल, रिलायन्स लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स छन् ।

कम्पनीहरुले सञ्चालनमा ल्याएका मुनाफामा आधारित(बोनस आर्जन गर्ने) गरी जारी भएका बीमालेखका लागि बोनस दर सार्वजनिक गरेका हुन् । कम्पनीहरुले सार्वजनिक गरेको बोनस दर तालिकाअनुसार पाँच कम्पनीको बोनस दर घटेको छ ।

एशियन लाइफ, रिलायन्स लाइफ, एलआइसी नेपाल, सन नेपाल लाइफ र मेट लाइफको बोनस दर घटेको हो ।

तालिकाअनुसार दुई वटा बीमा कम्पनीको बोनस दर बढेको छ । भने पाँच कम्पनीको बोनस दर स्थिर छ ।

आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा प्राइम लाइफ र प्रभु लाइफले बोनस दर बढाएका हुन् ।

प्रभु लाइफको आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा सावधिक जीवन बीमालेखअन्तर्गत सबै बीमा अवधिमा प्रति हजार ३ रुपैयाँले बोनस बढेको हो ।

यस्तै, प्राइम लाइफको पनि बोनस दर बढेको छ । प्राइमले सावधिक जीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्षे बीमा अवधि, १५ देखि १९ वर्षे बीमा अवधि र २० देखि २४ वर्षे बीमा अवधिमा बोनस दर बढाएको हो ।

यस्तै, बोनस दर सार्वजनिक गरेका कम्पनीमध्ये पाँच कम्पनीको बोनस दर स्थिर छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ ज्योति, नेशनल, सूर्या, सिटिजन र महालक्ष्मी लाइफको बोनस दर स्थिर छ ।

ज्योति लाइफले आर्थिक वर्ष २०७५/७६ मा बीमितलाई न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर कायमा गरेको थियो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि सोही बोनस दर निर्धारण गरेको छ ।

नेशनल लाइफले आर्थिक वर्ष २०७५/७६ का लागि प्रतिहजार न्यूनतम ६३ रुपैयाँ र अधिकतम ८५ रुपैयाँसम्म बोनस दर कायम गरेकोमा आर्थिक वर्ष २०७६/७७ मा सोही बोनस दर निर्धारण गरेको छ ।

सूर्या लाइफले आर्थिक वर्ष २०७५/७६ मा बीमितका लागि प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर कायम गरेको थियो । आर्थिक वर्ष २०७६/७७ का लागि पनि कम्पनीले सोही बोनस दर कायम गरेको छ ।

सिटिजन लाइफले आर्थिक वर्ष २०७५/७६ मा बीमितका लागि प्रति हजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँ बोनस दर तोकेको थियो । आर्थिक वर्ष २०७६/७७ का लागि पनि कम्पनीले सोही बोनस दर कायम गरेको छ ।

यस्तै, महालक्ष्मी लाइफले आर्थिक वर्ष २०७५/७६ का लागि कम्पनीले प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको थियो । आर्थिक वर्ष २०७६/७७ का लागि पनि कम्पनीले बीमितलाई सोही बोनस दर कायम गरेको छ ।

एशियनको १२ र एलआइसीको १० रुपैयाँले घट्यो
एशियन लाइफले आर्थिक वर्ष २०७५/७६ मा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म बोनस दर घोषणा गरेको थियो । तर, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले बीमितलाई बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ३२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।

एलआइसी नेपाललले आर्थिक वर्ष २०७५/७६ मा बीमितलाई न्यूनतम प्रतिहजार ६६ रुपैयाँ र अधिकतम ८० रुपैयाँसम्म बोनस दर दिएको थियो । त्यस्तो बोनस दर घटेर आर्थिक वर्ष २०७६/७७ मा बीमितले न्यूनतम ४५ रुपैयाँ र अधिकतम ७० रुपैयाँ पुगेको छ ।

मेट लाइफले बीमितलाई दिने अधिकतम बोनस दर ५ रुपैयाँले घटेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ मा प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको थियो । जुन आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा न्यूनतम प्रति हजार न्यूनतम ४५ रुपैयाँ र अधिकतम ८० रुपैयाँमा सीमित भएको छ ।

रिलायन्स लाइफले आर्थिक वर्ष २०७५/७६ मा बीमितलाई २५ वा सोभन्दामाथि अवधिका बीमालेखमा अधिकतम ७० रुपैयाँसम्म बोनस दर कायम गरेको थियो । जुन आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा ६० रुपैयाँमा झरेको छ ।

सन नेपाल लाइफले आर्थिक वर्ष २०७५/७६ मा बीमितलाई न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर तोकेको थियो । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले बीमितलाई न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा वितरण हुने बोनसलाई मुनाफामा सरिक हुने बोनसदर भनिन्छ ।

बीमितले कम्पनीले नाफा आर्जन गरेअनुसार बोनस प्राप्त गर्छन् । जीवन बीमा कम्पनीहरूले नाफाको आधारमा बोनसदर घोषणा गर्छन् ।

कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ ।

यसरी बीमितले पाउने बोनस दर हरेक वर्ष थपघट हुन्छ ।

आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा कम्पनीहरुको बोनस दर बीमा समितिको फ्युचर बोनसको व्यवस्थाले प्रभावित पर्न गएको हो ।

बीमा समितिले बीमा कम्पनीहरुले बीमितलाई दिने बोनस दरमा एकरुपता कायम गर्नका लागि भन्दै फ्युचर बोनसको अवधारणा अघि सारेको छ । जसको प्रभाव बीमा कम्पनीले बीमितलाई दिने बोनस दरमा पर्न गएको देखिन्छ ।

तर,बीमा कम्पनीहरुको बोनस दरमा उतारचढाव आउनुमा बीमा समितिको फ्युचर बोनस प्रोभिजनिङको व्यवस्थाको असर मात्रै नभएको जीवन बीमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठले बताए ।

उनका अनुसार बीमा कम्पनीको नाफा, बीमा दाबी धेरै पर्नु लगायतका अन्य पक्षले पनि बीमितलाई दिने बोनस दरमा प्रभाव पार्छ ।

तर, कम्पनीहरुको बोनस दर धेरै रुपैयाँले घट्नुमा समितिले दिएको फ्युचर बोनस प्रोभिजनिङ पनि एउटा कारण रहेको उनको भनाइ छ ।

‘कम्पनीले आम्दानी गरेको कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरूलाई नै हुन्छ । बोनस दर जति नाफा हुन्छ त्यस मै आधारित हुन्छ,’ मेट लाइफका सीइओ समेत रहेका श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘बोनस दर घट्नुका कारणहरुमध्ये एउटा कारण बीमा समितिको फ्युचर बोनस सम्बन्धी नयाँ व्यवस्था पनि हो ।’

उनका अनुसार कम्पनीहरुको बोनस दर प्रभावित हुनुमा समितिको नयाँ व्यवस्थाको प्रभाव नै मूख्य कारण हो । तर, कम्पनीहरुको नाफा घटेको छ भने बीमितलाई दिने बोनस दर पनि घट्ने उनको भनाइ छ ।

‘कम्पनीहरुको नाफा के अवस्थामा छ । त्यसको प्रभाव पनि पर्छ । खाली फ्युचर बोनस प्रोभिजनिङको व्यवस्था मात्रै मात्रै मूख्य कारण हँुदैन,’ उनले थपे, ‘कम्पनीहरुको नाफा नकारात्मक छ भने बोनस दर पनि घट्छ ।’

उनका अनुुसार अन्य कारणहरुले पनि बोनस दर प्रभावित हुन्छ । नाफामा ग्रोथ भएको अवश्थामा भने कम्पनीहरुको बोनस दर स्थीर हुने वा बढ्न सक्ने अवश्था रहने उनको बुझाइ छ ।

‘ल्याप्स रेसियो बढ्दा बोनस दर घट्छ । सरेण्डर दर बढ्दा पनि बोनस दर प्रभावित हुन्छ । मृत्युदर बढ्दापनि घट्छ,’ उनले भने, ‘क्लेमहरु बढ्यो भने पनि घट्छ । ब्याजदर घट्यो भने पनि प्रभावित हुन्छ ।’

मृत्युदर बढ्नु, सरेण्डर बढ्नुु लगाएतका कारणले पनि बोनस दर प्रभावित हुने उनको भनाइ छ ।

बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको थियो । सो निर्देशिका बमोजिम जीवन बीमा कम्पनीहरुले आगामी ५ वर्षसम्म २० प्रतिशतका दरले फ्युचर बोनसका लागि प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था गरेको थियो ।

बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ मा फ्युचर बोनसका लागि २० प्रतिशतले प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु