किवी खाने ट्रेन्ड बढ्दै, ५ वर्षअघि १ लाखको आयात नहुने अहिले वार्षिक करोडौंको आयात



काठमाडौं । पछिल्लो समय किवी खाने ट्रेन्ड बढ्दै गएको छ । नेपाली बजारमा उच्च रुपमा उत्पादन हुन थालेपछि किवी खानेको ट्रेण्ड बढ्दै गएको हो ।

खाँदा स्वादिलो र रसिलो मानिने फल अन्तर्राष्ट्रिय बजारमा प्रख्यात छ ।

किवीबारे इतिहास हेर्ने हो भने यसको नामाकरण सन् १९७४ मा यसको औपचारिक नामाकरण भएको देखिन्छ । बाहिरी झुस न्युजील्यान्डको राष्ट्रिय चरा किवीको भुवा जस्तो देखिने भएकाले किवी नामाकरण गरिएको यसको इतिहास छ ।

करिब ५ दशकअघि नामाकरण गरिएको किवी पछिल्लो समय नेपालमा पनि निकै देखिन थालेको छ । त्यस्तै ५ वर्षअघिसम्म विभिन्न डिपार्टमेन्टल स्टोर र ठूलो फलफूल पसलमा मात्र देखिने किवी अहिले भने सबैतिर देख्न थालेको छ ।

औषधीजन्यलगायत अन्य विभिन्न फाइदा रहेको किवी खेतीमा पनि आकर्षण बढ्दै देख्न सकिन्छ ।

विगतको दिनमा स्याउ, सुन्तला, अनार, अंगुर, मेवा, कटहरलगायत अन्य फलफूल पर्याप्त मात्रामा देखिन्थ्यो भने किवी विरलै मात्रा देख्न सकिन्थ्यो । तर, अहिले फलफूल बिक्री गर्ने स्थानमा किवीको माग बढेपछि किवी पनि राख्ने गरेको फलफूल व्यवसायीहरूको भनाइ छ ।


त्यस्तै, काठमाडौंको गणेशस्थानमा लामो समयदेखि फलफूलको बिक्री वितरण गर्दै आएको सञ्जय यादवले पछिल्लो समय मानिसहरूको किवीप्रति आकर्षण बढेको बताए ।

उनकाअनुसार विगत केही वर्षअघिसम्म मानिसहरू किवी फललाई धेरैले चिन्दैनथे । तर, अहिले किवीको कति रुपैयाँ केजी हो भन्दै सोध्न आउँछन् ।

‘मैले गणेस्थानमा करिब १० वर्षअघिदेखि फलफूल बिक्री गर्दै आएकोमा पछिल्लो तीन वर्षदेखि किवी बिक्री गर्दै आएको छु,’ उनले क्लिकमाण्डूसँग भने, ‘विगतका दिनमा कहिलेकाही मात्रै बिक्री हुन्थ्यो । अहिले मासिक ५० केजीभन्दा बढी बिक्री भइरहेको छ ।’

उनले सामान्यतया बाहिरीबाट आयात भएको किवी बिक्रीका लागि राखेको बताए । नेपालमा सिजनअनुसार उत्पादन हुने भएकाले सिजनमा नेपालकै किवी उच्च रुपमा बिक्री हुने उनको भनाइ छ । साथै, अन्य समयमा आयातित किवी बिक्री गर्दै आएको उनको अनुभव छ ।

नेपालमा सिजनअनुसार उत्पादन हुने भएकाले सिजनमा नेपालको किवी प्रतिकेजी २ सय रुपैयाँदेखि २ सय ५० रुपैयाँ केजी पर्ने गर्दछ । तर, अन्य सिजनमा भने आयातित किवीको मूल्य प्रतिकेजी नै ४ सय बढी पर्ने उनको भनाइ छ ।

त्यसैगरी, पुरानो नयाँ बानेश्वरस्थित रहेको रामेछाप फलफूल पसलकी राधिका थापाले पनि बजारमा किवीको माग उच्च रहेको बताइन् । केही वर्षअघि मात्रै व्यापार शुरु गरेकी उनले सिजन तथा अफसिजनमा किवीको माग आउने जानकारी दिइन् ।

नेपालमा मुख्यतया सिन्धुपाल्चोक, रामेछाप, दोलखा, मकवानपुरलगायत पछिल्लो समय उच्च रुपमा किवी उत्पादन हुँदै आएको छ ।

जसले गर्दा बजारमा पर्याप्त मात्रामा किवी देखिन थालेको व्यवसायीहरूको भनाइ छ । साथै, बजारमा उपलब्ध नभएको खण्डमा विभिन्न देशबाट आयात गरेको किवी बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् ।

व्यवसायीहरूका अनुसार नेपालमै अहिले उत्पादन बढेपनि अधिकांशलाई किवीबारे कम मात्रालाई थाहा छ । अन्य फूलफूलको तुलनामा केही महंगो भएकाले सीमित व्यक्तिहरूले मात्रै खरिद गर्ने उनीहरूको अनुभव छ ।

तर, पछिल्लो समय किवी खाने ट्रेन्ड हेर्दा बढ्दो क्रममा रहेको उनीहरूको भनाइ छ । साथै, अहिले देशभर फलफूल खेतीमा किवीमा पनि किसानहरूको आकर्षण बढ्दै गएको देखिन्छ ।

त्यसैगरी, आन्तरिक बजारको खपतसँगै वार्षिक करोडौंको किवी आयात हुने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । विगतको दिनमा वार्षिक १ लाखको पनि किवी आयात हुदैनथ्यो । तर, अहिले मासिक नै ५० लाख बढी आयात हुने गरेको छ ।

५ महिनामा २ करोड बढीको आयात
भन्सार विभागको तथ्याङ्कले किवी खाने ट्रेन्ड बढ्दै गएको तथ्याङ्कले उल्लेख गर्दछ । करिब ५ वर्ष अघिसम्म वार्षिक १ लाखको पनि आयात नहुने किवी अहिले मासिक करिब ५० लाखको हाराहारीका आयात हुन थालेको छ । उक्त तथ्याङ्कले पनि नेपाली बजारमा किवीको माग बढ्दै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७३/७४ मा नेपालले ८४ हजार रुपैयाँ बराबरको २ हजार ९ सय १८ केजी किवी आयात भएको तथ्याङकले उल्लेख गर्दछ ।
त्यसैगरी, आव २०७४/७५ मा १३ लाख ६९ हजार रुपैयाँ बराबरको ४ हजार ५ सय ९२ केजी आयात गरेको थियो ।

साथै, आव २०७५/७६ मा ३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बराबरको ८६ हजार ६ सय ४६ केजी, आव २०७६/७७ मा २ करोड ८२ लाख ५५ हजार रुपैयाँको ६३ हजार १२३ केजी र आव २०७७/७८ मा ५ करोड ३८ ला ७२ हजार रुपैयाँको १ लाख ७३ हजार ८ सय १७ आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी, चालु आवको ५ महिनाको अवधिमा २ करोड १७ लाख ६० हजार रुपैयाँको ८६ हजार २ सय ८४ केजी आयात भएको छ । सो उक्त आयातित भएको किवी हालसम्मकै उच्च हो ।


क्लिकमान्डु