टाटा नेक्सन ईभीकै जिपट्रेन प्रविधिमा अर्को गाडी ईभीमा छट्टै नेपाल आउँदै




काठमाडौं । नेपाली बजारमा सर्वाधिक बिक्री हुने सेडानमध्ये टाटाको टिगोर पर्छ । पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरे सँगै ग्राहकमाझ लोकप्रियता कमायो । गाडीको आवरण, विशेषता र सुरक्षाको हिसाबमा अग्रपन्तिमा रहेको टाटा टिगोर सन् २०१७ मा सार्वजनिक भएको हो । नेपालमा भने यो सन् २०१८ को अन्त्यतिर सार्वजनिक भयो ।

आन्तरिक र बाह्य बजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केही महिना अघि मात्रै भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर सार्वजनिक गरेको छ। टिगोर ईभीले पनि छोटो समयमै राम्रो बजार पायो । झन्डै तीन महिना सार्वजनिक टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुवाती मूल्य भारु ११ लाख ९९ हजार तोकेको छ ।

नेपाली बजारमा पनि टिगोर ईभी छिट्टै भित्रने अनुमान छ । यदि यसो भयो भने नेपाली बजारमा टाटाको दुई वटा विद्युतीय मोडल उपलब्ध हुनेछ – टिगोर ईभी र केही समय अघि सार्वजनिक नेक्सन ईभी । नेपालमा नेक्सन ईभी सन् २०२१को मध्यतिर सार्वजनिक भएको हो । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ ।

टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ ।
यस्ता छन् टिगोर ईभीको अन्य विशेषता ः

विद्युतीय मोटर
टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । जुन २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च उर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ । अर्थात् गाडीलाई हाम्रो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सकिन्छ। यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशतले चार्ज हुन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।

भित्री डिजाइन/इन्टेरिअर
गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ। टिगोरको सिट ग्रेनाइट कालो रंगमा छन् भने गाडीको आन्तरिक थिम विद्युतीय केन्द्रित छ ।

यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ। त्यस्तै, गाडीमा स्मार्ट की पुस–बटन स्टार्ट छ भने पोर्टेबल चार्जिङ केबल पनि छ । चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् । जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् ।

सुरक्षाको हिसाबले हेर्दा कम्पनीले यो टिगोर ईभीमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ ।

गाडीमा २,४५० एमएम ह्विलबेस र १७२ एमएम ग्राउन्ड क्लेरेन्स छ । यो भनेको नेपाली बाटोहरूको लागि पनि गाडी निकै उपयुक्त हुने बुझिन्छ ।
टाटा मोटर्सले यो टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात् १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । भारतमा यसको एक्सई भेरियन्टको मूल्य भारु ११ लाख ९९ हजार, एक्सएम भेरियन्टको मूल्य भारु १२ लाख ४९ हजार, एक्सजेड प्लसको मूल्य भारु १२ लाख ९९ हजार र एक्सजेड प्लस डुअल टोनको मूल्य १३ लाख १४ हजार भारु तोकेको छ ।

नेपालमा भने हालसम्म यसको मूल्य वा गाडी सार्वजनिक हुने मितीबारे कम्पनीले कुनै घोषणा गराएको छैन ।


क्लिकमान्डु