करिब १२२० किलोमिटर खानेपानीको नयाँ वितरण संजाल तयार



काठमाडौं । मेलम्चीको खानेपानी दीगो एवम् भरपर्दो प्रणाली मार्फत उपत्यकाबासीको घर घरमा पानी उपलब्ध गराउन १२ सय २० किलोमिटर खानेपानीको नयाँ वितरण संजाल तयार पारेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूबकेएल) आयोजना कार्यान्वयन निर्देशनालय पीआइडी)बाट काठमाडौं उपत्यकाको चक्रपथभित्र विभिन्न क्षेत्रमा १२ सय २० किलोमिटर नयाँ खानेपानी पाइपलाइन बिच्छाउने काम सकिएको छ । नयाँ खानेपानी वितरण संजाल तयार भएको छ ।

यसबाट ती क्षेत्रका करिव एक लाख घरधुरीमा खानेपानीका नयाँ पाइपलाइन पुगेको छ । यसैगरी, काठमाडौं उपत्यकाको चक्रपथभित्र खानेपानी संजाल सुधार एवम् विकास गर्ने क्रममा बाँकी रहेका क्षेत्रहरू र चक्रपथ बाहिरका विभिन्न स्थानमा समेत नयाँ खानेपानी पाइपलाइन विच्छ्याउने कार्यलाई तीब्रता दिइएको छ ।

त्यसक्रममा काठमाडौंको चपक्रपथभित्रका गोंगबु, म्हेपी, नयाँबजार, स्वयम्भु, बाफल, कलंकी, कालीमाटी, सोल्टीमोड र डल्लुक्षेत्रमा गरी २२४ किलोमिटरमध्ये ५० किलोमिटर र बसुन्धरा, बालुवाटार, धुम्बाराही, रानीबारी, कपुरधारा, सामाखुशी, उत्तरढोका, लाजिम्पाट, गौरीघाट, महाराजगञ्ज, विशालनगर, सुकेधारा, चाबहिल, लैनचौर र हाँडिगाउँ क्षेत्रमा गरी २४९ किलोमिटरमध्ये ६० किलोमिटर खानेपानी वितरण पाइपलाइन बिच्छ्याइएको छ । जसबाट ती क्षेत्रका जम्मा ५३,१०६ घरधुरीमध्ये ११,६२८ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ ।

यसैगरी, काठमाडौंको चक्रपथ बाहिरका मण्डिखाटार, कपन, गल्फुटार, चावहिलको बाहिरी भाग र तीनचुली लगायतका क्षेत्रमा जम्मा २९० किलोमिटरमध्ये हाल ६४ किलोमिटर पाइपलाइन बिच्छ्याउने कार्य सम्पन्न भएको छ । जसबाट ती क्षेत्रका जम्मा ९७७६ घरधुरीमध्ये ४०३६ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ ।

यस्तै, खानेपानी चुहावट नियन्त्रणका लागि हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खानेपानी वितरण संजालका पाइपलाइनहरूको परीक्षण गर्ने कार्य समेत भइहेको छ । यसका साथै, वितरणका लागि खानेपानी भण्डारण गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कूल ७४ हजार ५०० घनमिटर क्षमताका १० वटा ठूला खानेपानी भण्डारण ट्याङ्कीको निर्माण सम्पन्न भएको छ ।

ती ट्याङ्कीसम्म खानेपानी लैजान निर्माण गरिएको ७७ किलोमिटर थोक वितरण संजालको परीक्षण गर्ने कार्य सम्पन्न गरी संचालनका लागि तयारी अवस्थामा राखिएको छ । यसैगरी, केयूकेएलका मौजुदा आठवटा खानेपानी भण्डारण ट्याङ्कीहरूलाई समेत नयाँ खानेपानी वितरण प्रणालीसँग जोडिएको छ ।


क्लिकमान्डु