चोरिएको मोबाइल खोजिदिनू भन्दै दैनिक ७ उजुरी, भेट्ने आस नगर्नुस् !



काठमाडौं । मुलुकमा स्मार्टफोनको प्रयोग बढ्दै गइरहेको बेला हराउने वा चोरी हुने क्रमम पनि तीव्ररुपमा बढेको छ । हराएको भनेर नियामक निकायमा निवेदन दर्ता गरे पनि त्यो भेट्टाउने सम्भावना भने लभगक शून्य बराबर छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइल हराएको भनेर निवेदन दर्ता गर्नेको संख्या दैनिक झन्डै ७ (६.५५ गोटा) रहेका छन् । त्यसमध्ये भेटिनेको संख्या शून्य छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको विवरणअनुसार २०७७ असार १ देखि २०७८ असार १ गतेसम्म २ हजार ३ सय ९४ वटा मोबाइल हराएको वा चोरी भएको भन्ने निवेदन दर्ता भएका थिए । वर्षदिनमा हराएका २ हजार ३ सय ९४ लाई दैनिक औषतमा हेर्ने हो भने झन्डै ७ (६.५५) वटा मोबाइल हराएको भनेर दर्ता भएका छन् ।

भेटिने आश गरेर निवेदन दिए पनि आशा भने निराशामा बनेको देखिन्छ । प्राधिकरणको विवरणअनुसार उक्त एक वर्षमा हराएका झन्डै २४ सय मोबाइलमध्ये एउटा पनि भेटिएका छैनन् ।

त्यसअघिको एक वर्षमा पनि २०७६ असार १ देखि २०७७ असार १ गतेसम्म १ हजार १ सय ६२ वटा मोबाइल हराएको भन्दै खोजिदन प्राधिकरणमा निवेदन दर्ता भएका थिए । हराएका ती मोबाइलमध्ये जम्मा २ वटामात्र भेटिएको विवरणमा उल्लेख छ ।

त्यस्तै, त्यसअघिको वर्ष २०७५ असार १ देखि २०७६ असार १ गतेसम्म १२ सय २ वटा मोबाइल हराएको निवेदन परेको थियो । उक्त वर्ष भने ६४ वटा मोबाइल भेटिएको थियो ।

त्यस्तै, २०७४ असार १ देखि २०७५ असार १ गतेसम्म ८२ वटा मोबाइल हराएका निवेदन परेको थियो । ८२ वटामध्ये ६ वटामात्र भटिएका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल हराएमा वा चोरी भएमा निवेदन दर्ता गर्न भने पनि भेटिने सम्भावना भने धेरै कम रहेको विवरणले देखाउँछ ।

त्यसरी दर्ता भएका मोबाइलको विवरणलाई प्राधिकरणले नेपाल प्रहरीसमक्ष बुझाउँछ । प्रहरीको सहयोगमा उक्त खाजी हुने हो । प्रहरीले खोजी प्रयास जारी राखेको भनेर पीडितलाई भनिए पनि भेटिएको जानकारी पाउन मुस्किलै हुन्छ ।

यसरी चोरिएका मोबाइलहरु प्रायः नेपालको नेटवर्क बाहिर अर्थात् भारतमा लगेर बेच्ने गरेको नियामक निकाय र प्रहरीले बताउँदै आएका छन् । भारतमा लगेपछि नेटवर्कमा भित्र नपर्ने भएपछि ट्रयास गर्न गाह्रो हुने उनीहरुको भनाइ छ ।

त्यस्तै, भारतमा चोरी भएका मोबाइल भने नेपालमा ल्याएर बेच्ने गरेको पाइएको छ ।

प्राधिकरणले यसरी चोरी भएका वा हराएका मोबाइल सजिलै पत्ता लगाउन भनेर मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने बताउँछदै आएको छ । एमडीएमएसमा दर्ता भएका मोबाइललाई सजिलै भेट्याउन सकिने भने पनि नेटवर्क बाहिर जाँदा भने ट्रयास गर्न गाह्रो हुनेदेखिन्छ ।

हराएका वा चोरी भएका मोबाइलबाट अपराधिक क्रियाकलाप भएको समेत भेटिएका छन् । ती मोबाइलबाट पैसा अशुल्ने, धम्की दिने, अपरहण गर्ने, गलत प्रयोजनको लागि प्रयोग गरेको भेटिएको छ ।

एमडीएमएस लागू भएमा चोरीएका मोबाइलबाट हुने यी क्रियाकलाप पनि नहुने नियामक निकायको दावी छ ।


क्लिकमान्डु