दुई दिनमा ठूला करदाता कार्यालयले उठाए १९ अर्ब ५० करोड कर



काठमाडौं । ठूला करदाता कार्यालयले पुष महिनामा ३४ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् ।

कार्यालयका प्रमुख कर प्रशासक शिवलाल तिवारीका अनुसार बिहीबार १४ अर्ब रुपैयाँ र शुक्रबार (आज) ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

ठूला करदाता कार्यालयमा वार्षिक १ अर्ब रुपैयाँभन्दाबढी रकमको कारोबार गर्ने कम्पनीले कर बुझाउने गर्छन् । हाल नेपाल वार्षिक १ अर्ब रुपैयाँभन्दा धेरै रकमको कारोबार गर्ने कम्पनीको संख्या ५ सय ५५ रहेको छ ।

‘कोरोना महामारीको प्रभाव अझै पनि देखिएकाले लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेन्,’ तिवारीले भने, ‘यदी कोरोनाको असर कम भयो र आर्थिक क्रियाकलाप बढ्यो भने चैत र असारमा लक्ष्य अनुसार कर संकलन हुन सक्छ ।’

कार्यालयलाई पुष महिनामा ४३ अर्ब रुपैयाँ कर संकलनको लक्ष्य दिइएको थियो ।

यो वर्ष नेपाल आयल निगम लिमिडेट र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले आयकरको किस्ता बुझाएनन् ।

‘गत वर्ष सरकारको राजस्व कम हुने देखिएपछि ती कम्पनीले कमाउनेभन्दाबढी रकम कर तिर्न लगाइएको थियो,’ स्रोतले भन्यो, ‘यो वर्ष आयल निगम घाटामा छ । एचआइडिसिएलले विगतमा नै धेरै कर बुझाएकाले थप कर बुझाएको छैन् । जसले गर्दा लक्ष्य भन्दा केही कम कर संकलन भएको छ ।’

होटल र रेष्टुराँ क्षेत्र चलायमान भए पनि राजस्व तिर्ने अवस्थामा नपुगेकाले पनि कर संकलन लक्ष्यअनुसार नभएको आन्तरिक राजस्व विभाग स्रोतको भनाइ छ ।

पुष मसान्तमा आयकरको ४० प्रतिशत, चैत मसान्तमा ३० प्रतिशत र असार मसान्तमा पनि ३० प्रतिशत बुझाउनु पर्ने कानूनी व्यवस्था छ ।

कम्पनीले वर्षभरमा हुने अनुमानित आय विवरण तयार गरी वार्षिक नाफाको अनुमानित रकम निकाल्ने गर्छन् । उक्त अनुमानित नाफामा लाग्ने आयकर दायित्वको ४० प्रतिशत रकम पुष मसान्तमा बुझाउने गर्छ । यदि कोरोना महामारीले आर्थिक गतिविधीमा गिरावट आय व्यवसायीको अनुमानित नाफा घट्ने र त्यसले आयकरको दायित्व पनि घटाउने छ । र, चैत अनि असारमा लक्ष्यभन्दा कम कर पनि उठ्छ सक्छ ।


क्लिकमान्डु