सुनचाँदी खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन हुन्छः गृहमन्त्री



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।

मन्त्रालयमा आज आयोजित सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न यसअघि तयार गरिएको कार्यविधिलाई परिमार्जन गरी राजपत्रमा प्रकाशन गरी पूर्णरूपमा कार्यान्वयन गर्ने जानकारी दिए ।

सम्बन्धित मन्त्रालय, सरोकार राख्ने सङ्घ÷संस्था र विज्ञसँगको पर्याप्त छलफल र सुझावका आधारमा कार्यविधि परिमार्जन गरिने उहाँको भनाइ छ ।

‘सुनचाँदीको नेपालमै उत्खनन गर्न सक्ने सम्भावना छ, अब नेपालमै उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्छ,’ उनले भने ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मानिकरत्न शाक्यले नेपालमा दैनिक २० केजी मात्रै सुन आयात हुने तर माग ३० केजीभन्दा बढी हुने भएका कारण माग पूर्ति गर्न समस्या भएको बताए ।

नेपालको जनसङ्ख्या र बढ्दो सहरीकरण, अर्थतन्त्रको विकासका कारणले पनि दैनिक २० केजी सुनको आयातले माग पूरा गर्न नसकिने उनको तर्क छ ।

उनले सुनचाँदीलाई चल सम्पत्तिका रूपमा मान्यता दिनुपर्ने, व्यवसायीको सुरक्षा सुनिश्चित गर्नुपर्ने, खरिद बिक्री मापदण्ड बनाउनुपर्ने, ओसारपसार तथा तस्करीमा कडाइ गर्नुपर्ने र ज्याला तथा जर्ती बढाउनुपर्ने माग गरे ।

उनले सुनचाँदी व्यवसायमा देखिएका समग्र समस्याको दीर्घकालीन समाधानको निम्ति ऐन बनाएर कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए ।

सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष सुरेशमान श्रेष्ठले विदेशमा बस्ने नेपालीले नेपालमा बनेको नेपाली सुनका गहना लगाउन माग गरेका हुन्छन्, तर हाल आफूहरुसँग विदेशमा पुर्याउने सुन नभएको बताए ।


क्लिकमान्डु