मेगा बैंकको साझेदारीमा फोहोरबाट ग्यास उत्पादन सुरु



काठमाडौं । मेगा बैंकको सहयोगमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरएको छ ।

भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान–६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो ।

निजी सार्वजनिक साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रबाट स्थापित यस आयोजनाको वित्तीय साझेदार मेगा बैंक रहेको छ । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले फोहोरबाट ग्यास तथा मल उत्पादन हुँदा फोहोर व्यवस्थापन मात्र नभई थोरै मात्रामा भए पनि देशलाई उर्जाको आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत मद्दत मिल्ने बताइन् ।

दीर्घकालिन महत्वका यस्ता आयोजनामा साझेदारी गर्न मेगा बैंक सँधै तत्पर रहेको उनले बताइन् । दैनिक ३० टन क्षमताको यस फोहोर प्रशोधन केन्द्रबाट दैनिक रुपमा करिब एक हजार किलोग्राम जैविक मल ग्यास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुनेछ । साथै, यो केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आए करिब ८० जनाले रोजगारी पाउने बताइएको छ ।

यस फोहोर प्रशोधन केन्द्रका संस्थापकद्वय विपुलराज पाण्डे र जेनेश श्रेष्ठका अनुसार, यहाँबाट उत्पादित जैविक ग्यासलाई शुद्दीकरण गरी सिएनजी ग्यास उत्पादन हुनेछ । जसबाट धरानमा रहेका तीन पांग्रे सवारी साधन (टेम्पो)मा प्रयोग गरिनेछ । धरानमा रहेका करिब ३ सय वटा टेम्पोहरुमा सिलिण्डरसहितको एक किटको जडान गरी सञ्चालन गर्न सकिनेछ ।

यहाँबाट उत्पादित सिएनजी ग्यासको प्रयोगले दैनिक करिब १५ सय देखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुनेछ । जसबाट हालको बजार मुल्यमा करिब १० करोड रुपैंयाको आयात कम हुने विश्वास लिइएको छ । विश्वका प्रायजसो मुलुकमा ठूलो मात्रामा प्रयोग भइरहेको सिएनजी ग्यास पेट्रोल भन्दा सस्तो हुने पेट्रोलभन्दा बढी माइलेज दिनुका साथै वातावरणमैत्री समेत रहेको छ ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० वटा तीन पांग्रे टेम्पोलाई सिएनजी ग्यासमा लाग्ने कन्भर्सन किट निःशुल्क सहयोग गर्ने तयारी गरेको छ ।


क्लिकमान्डु