बच्चालाई करोडपति बनाउने दुई विकल्प



एकजना शुभचिन्तकले मसँग जिज्ञासा राखे । रविन्द्रजी भर्खर जन्मेको मेरो बच्चालाई ३० वर्षको उमेर पुग्दा नपुग्दै करोडपति बनाउनु पर्यो । तर, मसँग लगानी गर्ने त्यत्रो धेरै पैसा भने छैन ।

३० वर्ष नै किन ? भनेर मैले पश्न गरिन किनकि उनको आफ्नै कुनै लक्ष्य हुनसक्छ । मेरो ध्यान करोड र उपायतिर केन्द्रित भयो ।

करोड १ का पछि ७ वटा शुन्ना । अंक अघिका शून्नाको महत्व शून्य भए पनि अंकपछिका हरेक शुन्नाको महत्व बढेर जान्छ । लगानी, व्यवसाय, जागिर कुनै पनि क्षेत्रमा मानिसको चाहना तिनै अंकपछिका शुन्नाको संख्या बढाउँदै लैजानु नै देखिन्छ । ३० वर्षमा एकका पछि ७ वटा शुन्ना जम्मा गर्ने उपायको खोजीमा छन् उनी ।

चाहे बैंक खातामा नगदै होस् वा सेयरको मूल्य गणना गरेर होस् वा जग्गाको मूल्य वा सुन वा अन्य व्यवसायआदि । करोड बनाउने धेरै विकल्पहरु हुन सक्छन् । तर, कुन विकल्प र कसरी भन्ने महत्वपूर्ण हुनजान्छ ।

सेयर बजारका बादशाह वारेन वफेटले ६ वर्षको उमेरमा एफ सि मिनाकरले लेखेको १००० डलर कमाउने १००० उपाय किताब पढेका थिए । जस्ले उनलाई व्यवसाय र पैसातिर आकर्षित गर्यो जसको तागतमा ९१ वर्षिय बफेट अहिले ११५ अर्ब डलरभन्दा बढीको मालिक छन् ।

मैले ती शुभचिन्तकलाई भने करोड कमाउने धेरै उपाय हुन सक्छन् । र, त्यो असम्भव पनि छैन । त्यसका लागि २ वटा तरिका अपनाउन सकिन्छ । र, त्योभन्दा पहिले तपाईंले कम्पाउन्डिङ र त्यसको महत्वका बारेमा बुझ्न आवश्यक छ । वारेन बफेटजस्ता विश्वका धनीका कुरा सुन्ने हो भने कम्पाउन्डिङ सम्पत्ति बनाउने मेसिन नै हो । जसले सानो अंकलाई ठूलो र थोरैलाई धरै बनाउँछ ।

२०÷२५ वर्षको उमेरमा वफेटले कम्पाउन्डिङको महत्व बुझ्दै गर्दा यस्तो पनि सोचेका थिएकी कम्पाउन्डिङका कारण भविश्यमा मेरो सम्पत्ति अत्यधिक बढ्न गई मेरो परिवार बिग्रने त होइन ?

अलवर्ट आइन्सटाइनले कम्पाउन्डिङ (चक्रवर्ती)लाई विश्वको ८औं आश्चार्यको संज्ञा दिएका थिए । उनका अनुसार सम्पत्ति निमार्ण गर्न र समृद्ध जीवन जीउन चक्रवर्ती ब्याज (आम्दानी) यो बम्हान्डमा सबैभन्दा शक्तिशाली माध्यम हो । र, यसको महत्व जस्ले बुझ्छ उसले कमाउँछ जस्ले बुझ्दैन उस्ले तिर्छ (गुमाउछ)। सर आइज्याक न्युटन पनि कम्पाउन्डिङको महत्वबाट प्रभावित थिए । उनले कम्पाउन्डिङलाई वित्तीय क्षेत्रकै सबैभन्दा ठूलो आविष्कार भनेका थिए ।

कम्पाउन्डिङ बुझ्नुअघि ब्याज गणना गर्ने २ वटा तरिका बारेमा बुझ्न आवश्यक हुन्छ । साधारण ब्याज (सिम्पल इन्ट्रेष्ट) र चक्रवर्ती ब्याज (कम्पाउन्ड इन्ट्रेष्ट) । उदाहरणका लागि हामीले ५ प्रतिशत ब्याज पाउने गरी १००० रुपैयाँ बैंकमा जम्मा गर्यौ भने हरेक वर्ष ५० रुपैयाँ ब्याज पाउँछौं । १० वर्ष बैंकमा राख्दा प्रतिवर्ष ५० रुपैयाँका दरले १० वर्षमा ५०० रुपैयाँ ब्याज प्राप्त हुन्छ । १० वर्षको अन्त्यमा साँवा १००० र ब्याज ५०० गरी कुल १५०० रुपैयाँ हुन्छ । ब्याज गणनाको यो विधिमा ब्याजको पनि ब्याज पाइँदैन । ऋणपत्रमा गरिने लगानी यसको राम्रो उदाहरण हो ।

ब्याज गणनाको अर्को विधि भनेको ब्याजको पनि ब्याज पाउने विधि हो । जसलाई हामी चक्रवर्ती ब्याज (कम्पाउन्ड इन्ट्रेष्ट) भन्छौं । आएको ब्याजलाई फेरि ब्याज पाउने गरी लगानी गर्नुलाई कम्पाउन्डिङ भनिन्छ । गाँउ घरको भाषामा चक्रवर्ती ब्याज भनेको ब्याजको स्याज (व्याजको पनि व्याज) कमाउनु हो । उदाहरणका लागि हामीले बैंकको बचत खातामा ५ प्रतिशत वार्षिक ब्याज पाउने गरी १००० रुपैयाँ जम्मा गर्यौ र एक वर्षसम्म बैंक खाताबाट पैसा झिकेनौं । वर्षको अन्त्यमा १००० रुपैयाँमा ५ प्रतिशतका दरले ५० रुपैयाँ ब्याज प्राप्त गर्छौं ।

ब्याजसहित अब हाम्रो खातामा १०५० रुपैयाँ हुन्छ । यो पैसा हामीले अर्को वर्ष पनि बैंक खाताबाट झिकेनौं । अर्को वर्ष पनि हामीले ५ प्रतिशतका दरले नै ब्याज पायौं । दोस्रो वर्षको अन्त्यमा १०५० मा ५ प्रतिशतका दरले ५२.५० रुपैयाँ ब्याज प्राप्त हुन्छ । यो अघिल्लो वर्ष पाएको ५० रुपैयाँ ब्याजभन्दा २ रुपैयाँ ५० पैसा बढी हो । यो २ रुपैयाँ ५० पैसा अघिल्लो वर्ष पाएको ५० रुपैयाँ ब्याजमा ५ प्रतिशतका दरले पाएको ब्याजको पनि ब्याज (स्याज) हो । दोस्रो वर्षको अन्त्यमा हाम्रो खातामा कुल ११०२.५० रुपैयाँ हुन्छ ।

तर, हामीले कम्पाउन्ड नगर्दा हाम्रो खातामा मात्र ११०० रुपैयाँ हुन्छ । यसरी नै यो पैसालाई ५ प्रतिशतका दरले १० वर्षसम्म बैंकमा राख्यौं भने हाम्रो खातामा १६२८.८९ रुपैयाँ हुन्छ । यस्तै १००० रुपैयाँलाई १० प्रतिशतका दरले १० वर्ष लगानी गर्यौ भने २५९३.७४ रुपैयाँ हुन्छ । यदि १५ प्रतिशतका दरले १० वर्ष राख्यौ भने ४०४५.५६ रुपैयाँ हुन्छ । जति बढी दरमा लगानी गर्न सक्यो त्यति नै बढी रकम प्राप्त हुन्छ । त्यस्तै जति छिटोछिटो ब्याज पायो र पुनः लगानी गर्यो त्यतिनै छिटो कम्पाउण्ड हुँदै जान्छ । र, अंकमा कम्पाउन्डिङको जादु देखिँदै जान्छ । यस्तै जति लामो समय लगानी गरिरहन सकियो त्यति नै धेरै सम्पत्ति बनाउन सकिन्छ ।

कम्पाउन्डिङले ब्याजमा पनि ब्याज पाउनुलाई मात्र जनाउँदैन । व्यवसायमा कमाएको नाफा पूनः त्यही वा अन्य कुनै व्यवसायमा लगाएर व्यवसायको आकार बढाउदै जानु पनि कम्पाउन्डिङ नै हो । उदाहरणका लागि एउटा ट्याक्सीबाट व्यवसाय शुरु गरेको कसैले ५ वटा ट्याक्सी पनि बनाइरहेको हुन्छ । ५ वटा कसरी बनाउनु भयो ? भनि प्रश्न गर्दा जवाफमा कमाएको बचाएर अर्को किने र थप्दै गए भन्ने पाउछौं । यो पनि कम्पाउन्डिङ हो । यसरी नै एउटा मात्र रेष्टुराँ हुँदा जति कमाइ हुन्छ २ वटा वा ३ वटा वा ४ वटा हुदा झन् बढी हुन्छ ।

ठूला व्यवसायिक घरानाले हर समय नयाँ व्यावसाय थप्दै जानु वा भएको व्यवसाय बिस्तार गर्दै जानुको कारण पनि कमाएको बचाएर पुनः लगानी गर्दै जानु हो । यस्तै बैकले निरन्तर शाखा बिस्तार गर्दै जानुको उद्देश्य पनि फेरि लगानी र व्यवसाय बिस्तार गर्दै जानु हो । यी सबै कम्पाउन्डिङका प्रकारहरु हुन्। कम्पाउन्डिङको प्रमुख उद्देश्य र तरिका भनेकै कमाएको बचाएर थप कमाउन पुनः लगानी गर्दै जानु हो ।

सेयरमा गरिने लगानीलाई पैसा बनाउने मेसिनमा परिणत गर्न पनि कम्पाउन्डिङमा जोड दिनुपर्छ । जति छिटो कम्पाउन्डिङ गर्न शुरु गर्छौं त्यति नै धेरै सम्पत्ति बनाउन सक्छौं। सेयरमा कम्पाउन्डिङको एउटा तरिका दीर्घकालीन लगानी गर्नु र कम्पनीले दिएका बोनस तथा जारी हकप्रद सेयर लिँदै जानु र बोनसमा पनि बोनस पाउदै जानु हो। यस्तै कम्पनीले दिएको नगद लाभांश फेरि सोही कम्पनी वा अन्य राम्रा कम्पनीको सेयरमा लगानी गर्दै जानु पनि कम्पाउन्डिङ हो । यसलाई लाभांश पुनः लगानी (डिभिडेन्ड रि–इन्भेष्टमेन्ट) पनि भनिन्छ ।

उदाहरणका लागि छिमेक लघुवित्त विकास बैंकको ६ वर्षको सेयर मूल्य र ६ वर्षको लाभांशको विश्लेषण गर्दा सेयरमा सम्पत्ति कसरी हिउँको डल्लोझैँ बढ्दै जान्छ भन्ने कुरा प्रस्ट हुन्छ । आर्थिक वर्ष २०६९/७० को अन्तिम (२०७० असार मसान्त)मा छिमेकको अन्तिम कारोबार मूल्य ५११ रुपैयाँ प्रतिकित्ता थियो । त्यस मूल्यमा २०० कित्ता सेयरमा १ लाख २ हजार २०० रुपैयाँ (कमिसन बाहेक) लगानी गरेर २०७६ साउनसम्म होल्ड गर्दा एक लाख लगानी गर्नेको सम्पत्ति नगद र बोनस लाभांशसहित १२ लाख रुपैयाँ हुन्छ ।

पाँच लाख लगानी गर्नेको ६० लाख र १० लाख लगानी गर्नेको १ करोड २० लाख रुपैयाँको सम्पत्ति हुन जान्छ । यो वार्षिक करिब ३५ प्रतिशतको कम्पाउन्डिङ (चक्रवृत्ति) वृद्धि (प्रतिफल)हो । तर शुरुको २०० कित्ता सेयर केही दिन वा महिना होल्ड गरेर बिक्री गरिदिएको भए यसरी बोनसको पनि बोनस प्राप्त हुने र मूल्य बढ्दै जाँदा सम्पत्ति थुप्रदै जाने सम्भावना रहँदैन थियो ।

कम्पाउन्डिङलाई ‘स्नो वल इफेक्ट’ पनि भनिन्छ । हिउँको सानो डल्लोलाई हिउँमा गुडाउँदै लग्यौं भने डल्लोको आकार बढ्दै जान्छ । त्यसको आकार जमिनमा भएको हिँउको मात्रा र हिउँमा गुडाउने समयमा भर पर्छ । जति लामो समयसम्म हिउँको डल्लो गुडाउछौं त्यति नै डल्लोको आकार बढ्दै जान्छ । यसैले कम्पाउन्डिङको पूरा फाइदा लिन लगानीलाई लामो समय कम्पाउन्ड हुन र बढ्न दिनुपर्छ ।

तर, धेरै लगानीकर्ता एकदमै छोटो सोच र उद्देश्य लिएर बजारमा छिर्छन् । जसकारण कम्पाउन्डिङले दिने वास्तविक फाइदा लिनबाट चुक्छन् । कतिपय लगानीकर्ता त्यस्ता कम्पनीमा लगानी गर्छन् जसमा कम्पाउन्डिङको कुनै सम्भावना नै हुँदैन । छोटो समय (अल्पकालीन) लगानी गर्दा र आयको पूनः लगानी हुन नसक्दा कम्पाउन्डिङले काम गर्न सक्दैन ।

जस्तो आज सेयर किनेर आजै बिक्री गर्ने, कम्पनीले दिएको लाभांश कुर्न नसक्ने र पाएको लाभांशलाई पुनः लगानी नगर्ने र वृद्धिको कुनै सम्भावना नै नभएका कम्पनीमा लगानी गर्ने हो भने हामी कम्पाउन्डिङको भरपूर फाइदा लिन सक्दैनौं । यसैले कम्पाउन्डिङको भरपूर फाइदा लिन धैर्य आवश्यक हुन्छ।

शुरुका वर्षमा हाम्रो सम्पत्ति बिस्तारै कम्पाउन्ड हुन्छ भने पछिल्ला वर्षमा तीव्ररुपमा बढ्दै जान्छ । उदाहरणका लागि कुनै सेयरको ६०० रुपैयाँ मूल्य हुँदा १० प्रतिशत बढेमा ६० रुपैयाँले बढ्छ । त्यही सेयरको मूल्य १५०० पुगेर १० प्रतिशतले बढ्दा १५० रुपैयाँले बढ्छ । यसैले सम्पत्तिलाई तीव्र रुपमा बढाउन लामो समय होल्ड गर्नुपर्ने हुन्छ ।

कम्पाउन्डिङमा तीनवटा कुरा महत्वपूर्ण हुन्छन् । पहिलो कुरा शुरुको लगानीलाई बचाएर राख्नु वा लगानी गरिरहनु । दोस्रो कमाएको नाफा (आय, ब्याज)लाई पूनः लगानी गर्नु (गरिरहनु) र तेस्रो समयावधि वा निश्चत समयसम्म लगानी गरिरहन सक्नु हो। यसको अर्थ लामो समयसम्म लगानीलाई राखी रहन सक्नु हो । जति लामो समयसम्म शुरुको लागानीलाई लगानी गरिरहन सकियो त्यति नै धेरै त्यसले आम्दानी सिर्जना गर्ने र सम्पत्तिलाई दौडाउन सक्ने सम्भावना रहन्छ । कम्पनीका संस्थापक वा संसारका ठूला लगानीकर्तालाई हेर्यौं भने उनीहरुमा लामोसम्म होल्ड गर्ने र पूनः लगानी गर्ने धैर्य देख्न सकिन्छ ।

कम्पाउन्डिङ केवल सम्पत्तिलाई दौडाउनका लागि मात्र प्रयोग गरिँदैन । यी शुभचिन्तकजस्तै धेरैको लक्ष पूरा गर्नका लागि पनि यसको प्रयोग गरिन्छ । जस्तो ३० वर्षपछि उनलाई १ करोड रुपैयाँ बराबरको सम्पत्ति चाहिएको छ । यो लक्ष्य पूरा गर्नका लागि २ वटा विकल्प छन् ।

एउटा विकल्प आज एकमुष्ट रुपमा पैसा लगानी गर्ने र त्यसलाई कम्पाउन्ड गर्दै लगेर ३० वर्ष पछि १ करोड बनाउने । दोस्रो विकल्प हरेक महिना निश्चित रकम लगानी गर्दै जाने र ३० वर्षमा एक करोडको लक्ष्य पूरा गर्ने ।

विकल्प नं १ः आज एक मुष्टरुपमा १ लाख रुपैयाँ लगानी गरेर वार्षिक १६.६ प्रतिशतका दरले प्रतिफल (आम्दानी, ब्याज) कमाउने र प्राप्त प्रतिफललाई फेरि लगानी (कम्पाउन्डिङ) गर्दै जाने हो भने ३० वर्षपछि १ करोड बराबरको सम्पत्ति हुनसक्छ ।

विकल्प नं २ः आज एकमुष्ट १ लाख लगानी गर्न नसक्ने हो भने हरेक महिना निश्चित रकम लगानी गरेर पनि लक्ष्य पूरा गर्न सकिन्छ । जस्तो प्रत्येक महिनाको अन्त्यमा ९९१ रुपैयाँ लगानी गर्ने हो र वार्षिक १६.६ प्रतिशतका दरले प्रतिफल कमाउने हो भने ३० वर्षमा १ करोड बनाउन सकिन्छ । यदि प्रतिफलको दर अझ बढी हुनसके लगानीको रकम घटाउन सकिन्छ भने प्रतिफलको दर कम हुने हो भने लगानी रकम बढाउनु पर्छ । कुन विकल्पमा जाने शुभचिन्तकको छनौटमा भर पर्नेछ । तर, यो एक दिन वा एक हप्ता वा महिनामा सम्भव छैन ।

राम्रा कुरा निर्माण गर्ने क्रममा एउटा भनाइ छ– रोम (इटालीको राजधानी) एकै दिनमा बनेको होइन । यस्तै हाम्रो घर पनि एकै दिनमा बनेको होइन। अनि एउटामात्र इँटाले बनेको पनि होइन । ठूलो घर बनाउन त्यहाँ धेरै स–साना इँटाहरु र लामो समयको योगदान छ । इँटामाथि इँटा छन् । यस्तै सम्पत्ति बनाउन बचतको इँटाहरु बनाउने बानी बसाल्नुपर्छ । एकै पटक अर्ब बनाउन नसकिएला ।

तर, स–सानो बचतलाई लगानी गर्ने निरन्तरता दिँदै गर्यौ भने अर्ब असम्भव छैन । शुरुमा यो निकै दिक्दार लाग्दो पनि हुनसक्छ । तर, जब यो बढ्दै जान्छ र ठूलो आकार लिँदै जान्छ । त्यसपछि भने यसले निकै आनन्द दिनेछ । दुरविनको सानो प्वालबाट संसार चिहाउन सक्ने ताकत भएझैं पैसाको थोपालाई समुद्र बनाउन सक्ने ताकत कम्पाउन्डिङमा छ ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् । विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इनभेष्ट इन स्टक मार्केटजस्ता किताबहरु लेखेका छन् ।)


रविन्द्र भट्टराई