को बन्ला मुकेश अम्बानीको व्यापारिक साम्राज्य सम्हाल्ने उत्तराधिकारी ? यस्ता छन् विकल्प



एजेन्सी । दक्षिण एशियाकै सबैभन्दा धनी व्यक्तिका रुपमा परिचित मुकेश अम्बानीले आफ्नो साम्राज्य कसलाई कसरी हस्तान्तरण गर्लान् भन्ने प्रश्न उठन थालेको लामै समय भयो ।

मानिसहरुमा जिज्ञासा छ, उनले कसरी आफ्नो व्यापारिक साम्राज्यलाई भावी पुस्ताका लागि पनि उस्तै र उहीरुपमा कायम राख्लान् कि नराख्लान ? यो जिज्ञासा स्वभाविक पनि छ । पिता धिरुभाई अम्बानीले बनाएको साम्राज्यलाई भाई अनिल अम्बानीलाई दिने वा नदिने विषयमा लामै विवाद भएको थियो ।

विवाद अन्त्यका लागि लामो प्रयास भएपनि सफल भएको थिएन । अन्त्यमा आमाको रोहवरमा दुई भाइले पिताले खडा गरेको साम्राज्यमा भागवण्डा गरेका थिए ।

मुकेश अम्बानी ६४ वर्षका भए । ६० वर्ष लाग्दा नलाग्दै उनको साम्राज्य कसरी बिस्तार होला वा कसले नेतृत्व गर्ला भन्ने जिज्ञासा स्वभाविक रुपमा उठ्न शुरु गरेको थियो ।

बेला बखतमा उनी स्वयम्ले नै अब नयाँ पुस्तामा हस्तान्तरण गर्ने समय आउन लागेको संकेत गरेपछि बजारमा त्यसको चर्चा हुनु स्वभाविक पनि छ । डलर अर्बपतिको हैसियतले उनले बनाएको साम्राज्यका बारेमा चासो स्वभाविक नै हुन जान्छ ।

अम्बानीको आफ्नो १६ लाख करोड भारुभन्दाबढीको विशाल व्यवसायिक विरासत भावी पुस्तालाई कसरी सुम्पेलान् भन्ने बारेमा उनको परिवारमा जस्तै आम विश्वका लागि समेत चासो हुनु स्वभाविक नै छ ।

अझ आगामी वर्षहरुमा यसबारेमा झनै ठूलो चर्चा र चासो हुनेवाला नै छ । यस्तो महत्वपूर्ण नेतृत्व परिवर्तनलाई लिएर फेरी पछिल्ला केही दिनदेखि चर्चा भइरहेको छ ।

बजारमा यसै विषयमा चासो र चिन्ता पनि भइरहेको छ । सुपरस्टार नै मानिएको व्यवसायिक विरासतको हस्तान्तरण गर्नुअघि कम्तीमा तीन वटा सफल व्यवसायिक रणनीति समेत तयार हुने अनुमान सार्वजनिक भएका छन् ।

उमेरले ६४ वर्ष पुगेको मुकेश अम्बानीका लागि कुनै पनि प्रकारको विवाद नगरिकन सहजताका साथ आफ्नो विरासत आफ्ना उत्तराधिकारीलाई सुम्पने विषय आफैमा महत्वपूर्ण रहेको छ ।

पिता धिरुभाई अम्बानीको साम्राज्य सन् २००२ मा कोही कसैलाई आधिकारिकरुपमा नसुम्पदै निधन भएपछि उत्पन्न विवादले पारेको असरका बारेमा मुकेश आफै जानकार छन् । उनी भाई अनिल अम्बानीसँग भएको विवाद कम्तीमा आफ्ना लागि नदोहोरियोस् भन्ने चाहन्छन् ।

विवाद देखिने अवस्था आएको खण्डमा त्यसबाट जोगाउन उनले रिलायन्स इन्डस्ट्रिजलाई एक ट्रष्ट जस्तै संरचना बनाएर अगाडि बढाउने सोच पनि राख्न सक्ने अनुमानहरु सार्वजनिक भएका छन् ।

यस्तै, ब्लूमवर्गले तयार पारेको समाचार विवरण अनुसार मुकेशले आफ्नो सम्पत्ति वालमार्ट इन्कका वाल्टन परिवारको जस्तै तरिका पनि अपनाउन सक्छन् । उक्त सम्भावित ट्रष्टको बोर्डमा मुकेश अम्बानी, उनकी पत्नी निता र उनका तीन छोरा छोरी आकाश, इशा र अनन्त सहभागी हुन सक्छन् ।

पूरा परिवारले नै संयुक्त रुपमा आफ्नो व्यापारिक साम्राज्यलाई अगाडि बढाउन सक्छन् । मौजुदा आयल र पेट्रोकेमिकल, टेलिकम र रिटेल विजनेलाई एक अर्काबाट छुट्टयाएर चलाउने तरिका पनि अर्को हुनसक्छ ।

रिलायन्सले जैविक इन्धनको विकल्पमा वैकल्पिक स्वच्छ ऊर्जाको क्षेत्रमा समेत काम गरिरहेको छ । त्यसमा भारी मात्रामा लगानी गरिएको छ । स्यानफोर्ड सी बर्नस्टेनका विश्लेषक नील बेवरिजका अनुसार यदि रिलायन्सले अझै यही क्षेत्रमा काम गर्दै जाने हो भने अझै धेरै सफलता हासिल गर्न सक्छ ।

जस्तै इन्धन प्रशोधन कम्पनीमार्फत् भएको कमाइबाट रिलायन्सले अग्रणी टेलिकम कम्पनीको रुपमा समेत आफूलाई स्थापित गरेको छ । भावी पुस्ताका लागि पनि स्वच्छ ऊर्जामा गरिएको लगानी अर्को जियो बन्ने सम्भवना रहन्छ । उनीहरुले स्वच्छ ऊर्जा, रिटेल र डिजिटल कारोबारमा अझै राम्रो गर्न सक्छन् ।

गुगलसँग साझेदारी गरेका कारण रिलायन्स जियोको अवस्था असाध्यै राम्रो छ । जियो प्लेटफर्मलाई सबैभन्दा बलियो प्लेटफर्मका रुपमा लिइएको छ । रिटेलको हकमा रिलायन्सको अवस्था भने खासै

राम्रो देखिदैन । उसको रिटेल विजनेसमा अमेजनसँग राम्रै प्रतिस्पर्धा भइरहेको छ ।

यस्तै, अडानी समूहका गौतम अडानीले पनि स्वच्छ ऊर्जाको क्षेत्रमा ठूलो लगानी गरिरहेका छन् । सन् २०३० सम्म संसारकै सबैभन्दा ठूलो ऊर्जा कम्पनीको रुपमा स्थापित हुने अडानी समूहको योजना देखिन्छ ।

अम्बानीले आगामी ३ वर्षमा मात्रै यस क्षत्रेमा ७४.३ हजार करोड भारु बराबरको लगानी गर्ने योजना अगाडि सारेका छन् । त्यसका लागि कयौं कामहरु अगाडि बढिसकेका छन् ।


क्लिकमान्डु