ग्वार्को फ्लाइओभर ठेक्काः निर्माण कम्पनीहरुले पेश गरेको प्राविधिक प्रस्ताव खोल्ने प्रक्रिया रोकियो



काठमाडौं । ग्वार्कोको फ्लाइओभर निर्माणको ठेक्का मूल्याङ्कनमा छनोट भएका कम्पनीहरुले पेश गरेको प्राविधिक प्रस्ताव खोल्ने प्रक्रिया रोकिएको छ ।

सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार शुरुको मूल्याङ्कनमा छनोट नभएको कम्पनीले समेत आफु पनि प्राविधिक प्रस्ताव पेश गर्न पाउनुपर्ने भनि उजुरी दिएपछि ७ वटा कम्पनीले पेश गरेका प्राविधिक प्रस्तावसमेत खोल्ने प्रक्रिया रोकिएको हो ।

शुरुको मूल्याङ्कनमा छनोट भएका ७ वटा कम्पनीहरुले मात्र प्राविधिक प्रस्ताव पेश गरेका थिए । प्राविधिक प्रस्ताव पेश गर्ने कम्पनीहरु सूर्य भ्याली विकास ब्रदर्स जेभी, शर्मा एन्ड कम्पनी, कालिका कन्स्ट्रक्सन, एएनके श्रेष्ठ ज्वाइन्ट भेन्चर, हिम सगरमाथा जेभी, टुन्डी रसुवा जेभि र आषिस समानान्तर जेभी रहेका छन् ।

तर, यदि छनोट नभएका कम्पनीले पनि आफ्नो गुनासोहरु भए ७ दिनभित्र उजुरी दिन मिल्ने प्रावधान रहेको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए ।

‘सोही प्रावधानअनुसार शुरुको मूल्याङ्कनमा छनोट नभएको कम्पनी इलाईट कन्सट्रक्सनले आफु पनि ठेक्का नियुक्तिको प्रक्रियामा समावेश हुन पाउनुपर्ने भन्दै उजुरी पेश गरेपछि प्राविधिक प्रस्ताव खोल्ने प्रक्रियाको समय थपिएको हो,’ उनले भने, ‘पहिला मूल्याङ्कन गर्ने क्रममा सो कम्पनी कालोसूचीमा रहेको तर पछि यसै दौरानमा फुकुवा भएछ ।’

त्यो कम्पनीले हालेको उजुरी मूल्याङ्कन समितिमा विचाराधिनमा भएको र हाल छलफलको क्रममा रहेको झाको भनाइ छ ।

निर्देशक झाकाअनुसार फ्लाइओभरको ठेक्का प्रक्रियामा शुरुको मूल्याङ्कनमा ९ वटा कम्पनीको आवेदन परेको थियो । यदि उजुरी हालेको कम्पनीले पनि प्राविधिक प्रस्ताव पेश गर्न पाउने भएमा ८ वटा कम्पनीहरु ठेक्का नियुक्तिको प्रक्रियामा समावेश हुने झाले बताए ।

गुनासो पेश गरेको कम्पनी इलाइट कन्स्ट्रक्सनले प्राविधिक प्रस्ताव पेश गर्न पाउने वा नपाउने भन्ने बारे सुनुवाई हुन ३ दिनको समयमा बाकी रहेको उनले बताए ।

त्यसको जे निर्णय आएपनि ठेक्का कुन कम्पनीले पाउने हो त्यो भने अबको केही दिनमा नै टुङ्ग्यो लाग्ने उनको भनाइ छ ।

‘उनीहरुले दिएको प्राविधिक प्रस्ताव खोलेर निर्माण प्रक्रिया अगाडि बढाउने छौं,’ उनले भने ।

निर्देशक झाले यो रिङरोडमा ट्राफिक जाम नहोस र सवारी कतै रोकिनु नपर्ने गरी ट्राफिक फ्रि सडक बनाउने प्रयासमा फ्लाइओभरको निर्माण गर्न लागिएको बताएका छन् ।

यो फ्लाइओभर निर्माणका लागि अर्थ मन्त्रालयले करिब ३३ करोड रुपैयाँको बजेट निश्कासन गरी सोही लागतमा निर्माण गराउने गरी विभाग अन्तर्गको केन्द्रले इपीसी (इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन) मोडेलमा गएको असारमा नै ठेक्का आह्वान गरेको थियो ।

ठेक्का पाउने कम्पनीले डिजाइनदेखि निर्माणको सबै कामलगायत एमएसी (मेकानिइकल्ली स्टेवलाइज अर्थ) वालको प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर फ्लाइओभर तयार गर्नुपर्ने छ । यो फ्लाइओभरको लम्बाइ कुल करिब ४ सय ५० मिटर हुनेछ ।

निर्माण कम्पनीले ठेक्का पाएको २ वर्षभित्र निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने झाले बताए ।


क्लिकमान्डु