नयाँ कम्पनी गाउँ पस्दा बीमाको पहुँच बढ्यो, ६ वर्षमा १० प्रतिशतबाट २८ प्रतिशत पुग्यो




काठमाडौं । नेपालमा बीमा गर्ने चलन र बीमा कम्पनी स्थापना भएको लामो समय भएपनि बीमाको पहुँच बिस्तार भने पछिल्लो ६ वर्षमा मात्रै भएको छ ।

पछिल्लो ६ वर्षमा बीमाको पहुँच १० प्रतिशतबाट बढेर २८.०१ प्रतिशतमा पुगेको छ । यसको कारण हो नयाँ बीमा कम्पनीको प्रवेश । नयाँ कम्पनीको प्रवेशसँगै उनीहरुले गाउँ-गाउँसम्म पुग्ने गरी अपनाएको रणनीतिका कारण बीमाको पहुँच उल्लेख्यरुपमा बिस्तार भएको जानकारहरुको बुझाइ छ ।

राष्ट्रिय बीमा संस्थान स्थापना भएको ४७ वर्षसम्म जम्मा १० प्रतिशत जनसंख्यामा बीमाको पहुँच बिस्तार भएपनि त्यसयता भने बीमाको पहुँच बिस्तार तीव्रगतिमा भइरहेको देखिन्छ । २०२५ सालमा राष्ट्रिय बीमा संस्थान स्थापना भएयता आर्थिक वर्ष २०७२/७३ सम्ममा जम्मा बीमाको पहुँच भएको जनसंख्या १० प्रतिशतमात्रै थियो । यसबीचमा केही निजी बीमा कम्पनीहरुको प्रवेश नभएको होइन तर उनीहरु पनि सहरमा मात्रै केन्द्रित हुँदा अपेक्षाकृत रुपमा बीमाको पहुँच बिस्तार हुन सकेको थिएन ।

तर, पछिल्लो समयमा नयाँ बीमा कम्पनीहरुले ग्रामीण क्षेत्रसम्म पुगेपछि बीमा गर्नेहरुको संख्या उल्लेख्य रुपमा बढेको बीमा समितिको तथ्यांकमा उल्लेख छ । समितिको तथ्यांकअनुसार गत आवको अन्तिमसम्मा २४ प्रतिशत जनसंख्यामा बीमाको दायरा बिस्तार भएकोमा मंसिरसम्मा २८.०१ प्रतिशत जनसंख्यामा बीमाको दायरा बिस्तार भएको छ ।

बजारमा नयाँ बीमा कम्पनीको प्रवेश र बीमा सम्बन्धी सचतेना बढ्दै जाँदा बीमाको दायरा बिस्तार भएको जानकारहरुको तर्क छ ।
२०७३ सालमा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षमा डा. फत्तबहादुर केसी थिए । फत्त बहादुर केसीको कार्यकाल सकिएपछि बीमा समितिले अध्यक्षकारुपमा चिरञ्जीवि चापागाईंलाई पायो ।

चापागाईंको कार्यकालमा नयाँ ३ निर्जीवन बीमा र १० जीवन बीमा कम्पनीले लाइसेन्स पाएर व्यवसाय शुरु गरे ।

नयाँ कम्पनीहरुले पुराना कम्पनीसँग प्रतिष्पर्धा गर्नका लागि मुलुकका ग्रामीण क्षेत्रसम्म पुगे । ती कम्पनीहरुले बीमा गर्नका लागि प्रोत्साहन गरे ।
बीमाको दायरा बढ्दै जानुमा तीनै नयाँ बीमा कम्पनीको मुख्य भूमिका रहेको उनको भनाइ छ ।

बीमाविज्ञ भोजराज शर्मा नेपालमा बीमाको दायरा बिस्तारै बढ्दै गएको बताउँछन् । तर, बजारमा भएका कम्पनी र बीमाको इतिहासलाई हेर्दा सोचे अनुरुप भने दायरा बिस्तार हुन नसकेको उनको भनाइ छ ।

बजारमा नयाँ कम्पनी एकै पटक धेरै संख्यामा आउनु, बीमा कम्पनीहरु सहर केन्द्रितमात्रै नभई गाउँमा पुग्नु, बीमा सचेतनाका कार्यक्रम बिस्तार हुँदै जानुले पनि बीमाको दायरा बढ्दै गएको शर्माको बुझाइ छ ।

सर्वसाधारणमा बिस्तारै बीमा पपुलर हुँदै जाने क्रम चलेको उनको भनाइ छ । बीमाको दायरा बढ्नुमा बीमा कम्पनीहरु सहरको साटो गाउँमा जानु एक कारण रहेको उनको बुझाइ छ ।

‘जीवन बीमा बढ्दै छ । पपुलर हुँदै छ । पहिले सहर केन्द्रित भए पनि अहिले गाउँमा केन्द्रित हुन थाले । सोही अनुसार कम्पनीका शाखा पनि बिस्तार भए । साथै बैंकका शाखा पनि बिस्तार भए,’ शर्माले क्लिमाण्डूसँग भने, ‘मोटर इन्स्योरेन्सको व्यवसाय पनि बढ्यो । सम्पत्तिको पनि बीमा बढ्दै गयो । दायरा बढ्दो क्रममा नै रहेको छ ।’

बीमाको दायरा बढ्दै जानुमा बीमा सचेतनाको प्रभाव रहेको उनको भनाइ छ । तर, जति हुनुपर्ने हो त्यति सफलता भने नभएको उनको भनाइ छ ।

‘सचेतना पनि बिस्तारै फैलिएर गयो । त्यस्ता कार्यक्रमले पनि काम गरेको छ । तर, जुन मात्रामा फैलिनु पर्ने हो त्यति मात्रामा भने फैलिएको छैन,’ उनले भने, ‘पछिल्लो समयमा आफैले बीमा गर्ने वातावरण सृजना भएको छ । केहीमा बीमा अनिवार्य पनि छ । अनिवार्य भएका कारणले गर्दा पनि बीमा गर्छन् ।’

बीमाको दायरा बढ्ने अर्को कारण अनिवार्य पनि हो । सरकारले अहिले मोटर बीमामा तेस्रो पक्षको बीमा अनिवार्य गरेका कारणले पनि बीमाको दायरा बढेको अनुमान शर्माको छ ।

‘व्यवसायमा पनि लगानी थपिँदै गएको छ, करोडका व्यवसाय खर्बमा पुगेका छन्, त्यसले गर्दा पनि दायरा बढाएको छ, सबै कुराले बढेको छ, दायरा बढ्दो क्रममा नै छ,’ शर्माले भने ।

बीमाको दायरामा आएको जनसंख्यालाई कतिपय विज्ञहरुले यकिन तथ्यांक नभएको समेत बताउँछन् । तर, शर्मा भने मोटामोटीरुपमा ५ प्रतिशत पोलिसी मात्रै दोहोरिने बताउँछन् । त्यो संख्या घटाएर नै तथ्यांक राखिने उनको भनाइ छ ।

‘पुराना बीमा कम्पनीहरु सहरी क्षेत्रमा मात्रै केन्द्रित थिए । कृषि बीमा गर्न बाहिर जाऊ भन्दा पनि नमान्ने प्रवृत्ति थियो । जसले गर्दा चिठ्ठा प्रथा समेत लागू गरिएको थियो,’ शर्माले भने ।

तर, चिठ्ठा प्रथाले पनि नमानेर बल्ल तल्ल गाउँमा गएर कृषि बीमा गर्नका लागि तयार भएको अवस्थासमेत रहेको उनले बताए ।

जब बजारमा नयाँ कम्पनी आए उनीहरु विकट ठाउँमा गए । अब सहर बसेर प्रतिष्पर्धा गर्न सकिदैन भनेर गाउँ जाने रणनीति बनाए । जसमा उनीहरु सफल भएको उनको बुझाइ छ ।

जहाँ मोटर बाटोले छोएको छ त्यहाँ त्यहाँसम्म नयाँ बीमा कम्पनीहरु पुगे । नयाँ बीमा कम्पनी गाउँ गाउँमा पुगे पछि पुराना बीमा कम्पनी पनि त्यता तर्फ लागको शर्माले बताए ।

सामान्यतया डिमाण्डले सप्लाई गर्नुपर्ने हो । डिमाण्ड अनुसार सप्लाई त्यहाँ पुग्नुपर्ने हो । तर, बीमामा भने सप्लाईले डिमाण्ड हुन पुगेको उनी बताउँछन् ।

‘नयाँ कम्पनी आएपछि सप्लाईले डिमाण्ड सिर्जना गर्यो । सप्लाई भए पछि डिमाण्ड बढ्यो । जीवन बीमामा अभिकर्ता बढे । गाउँ गाँउका घरहरुमा गए बीमा गरे । बीमाको फाइदा देखाए र बीमा गरे,’ शर्माले भने, ‘सोचेअनुसार दायरा बढेको छैन । सबै कम्पनी प्रोफिक्टमा छन् । कोही तल होलान् कोही माथि होलान् । मर्जरमा जान कोही चाँहिरहेका छैनन् ।’

बीमा कम्पनीहरुलाई व्यवसाय बिवस्तार गर्नका लागि अझै पनि बजार खाली रहेको उनको भनाइ छ । कम्पनीहरुलाई अझै पनि दायरा बढाउने ठाँउ रहेको शर्माको भनाइ छ ।

अझै पनि बीमा कम्पनीहरुले माइक्रो इन्स्योरेन्सलाई जोड नदिएको अवश्था छ । माइक्रो इन्स्योरेन्स गरे पनि थोरै मात्रामा गर्ने गरेको उनको बुझाइ छ ।

नेपाल जस्तो मुलुकमा मध्यम वर्गभन्दा तल्लो तहको जनसंख्या धेरै छ । जसले गर्दा माइक्रो इन्स्योरेन्सको दायरा बढ्ने ठाउँ रहेको शर्माको भनाइ छ । ३० प्रतिशतसम्म पनि माइक्रो इन्योरेन्सको व्यवसाय गर्न सक्ने बजार रहेको उनी बताउँछन् ।

‘मिडियम क्लास भन्दा अलि तल्लो लेभलको जनसंख्या धेरै छ । त्यस्तो संख्या धेरै रहेका कारणले गर्दा बीमा कम्पनीहरु त्यतातर्फ लाग्नु पर्छ,’ उनले भने, ‘माइक्रो फाइनान्सले दिएको विजनेशमा बढी लागेका छन् । जसले व्यवसाय गर्छ, उसले लोन लिन्छ । त्यसको बीमा गर्छ । लोन लिएको आधारमा उसको जीवन बीमा र सम्पत्तिको बीमा गर्छ ।’

जसले व्यवसाय गर्दैनन् । आफ्नै खेतीपातीमा मात्रै केन्द्रित भएर बसेको संख्या बढी छ । आफ्नै खेतीपाती नभएर अरुकोमा काम गर्नेको संख्या पनि धेरै छ । त्यो संख्यालाई बीमाको दायरामा ल्याउन बाँकी रहेको शर्माको भनाइ छ ।

बीमाको दायरालाई अझै बिस्तार गर्न स्थानीय निकायमा बीमा समिति

बीमा समितिले बीमाको दायरालाई बढाउनका लागि भन्दै देशका स्थानीय तहमा गएर सचेतना कार्यक्रम गर्दै आएको छ । प्रदेश स्तरमा समेत गएर कार्यक्रम गर्दै आएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

तथ्यांकलाई हेर्दा बीमाको दायरामा आएको जनसंख्याको ग्राफ उकालो लाग्दै गएको उनले बताए ।

अझै दायरा बिस्तार गर्नका लागि स्थानीय सरकारलाई नै जोड दिएको उनले बताए । स्थानीय सरकारलाई बीमा बुझाएर नै बीमाको दायरा बढ्न सक्ने कुरामा उनको जोड छ ।

बैंकका शाखा प्राय जसो सबै स्थानीय तहमा पुगेझैं जीवन बीमाका अभिकर्ता पनि सबै स्थानीय तहमा पुगेको उनले बताए । तर, मर्यादित नभएको र अस्वस्थ्य प्रतिष्पर्धा देखिएको उनले बताए ।

जति प्रचार–प्रसार गर्न सकियो त्यत्ति नै मात्रामा दायरा विस्तार हुने उनको तर्क छ । क्रमशः दायरा बिस्तार हुँदै गएको उनले बताए । बीमाको दायरा बैंकको जस्तो नबढ्ने उनी बताउँछन् ।

बीमा कम्पनीलाई सहरी क्षेत्रमा मात्रै नभई गाउँ गाउँमा जान निर्देशन दिएको पौडेलले बताए । कृषि, बाली तथा लघु बीमालाई पनि प्रोत्साहन गरेको उनले बताए । ती बीमातर्फ कम्पनीलाई जोड दिन समेत समितिले लागि परेको उनको भनाइ छ । भर्खरै दुर्घटना बीमालेख जारी भएको छ । त्यसले गर्दा पनि बीमाको दायरा बढ्ने उनको अनुमान छ ।

‘बीमा कम्पनीहरुलाई पनि सहरी क्षेत्रमा भन्दा पनि गाउँमा जाऊ भन्दै आएका छौं । जीवन बीमातर्फ संस्थापक बीमा अभिकर्तातर्फ जोड दिएका छौं,’ क्लिमाण्डूसँग पौडेलले भने, ‘इेसेवा, आइएमई पेलाई संस्थागत बीमा अभिकर्ताको लाइसेन्स दिएका छौं । उनीहरुले पनि बीमाको दायरा बढाउन सहयोग गर्छन् । बिक्री वितरणको च्यानल फरक हुन्छ ।’

यस्तो छ नेपालमा बीमाको इतिहास

नेपालमा वि.स. ११९४ मा नेपाल बैंकको स्थापना गरियो । औद्योगिक प्रतिष्ठानको स्थापना पछि बीमा कम्पनीको आवश्यकता महसुुस हुन थाल्यो र वि.स २००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना भयो । उक्त कम्पनी नेपाल कम्पनी ऐनअन्र्तगत पाँच लाखको मूलधनमा नेपाल बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको थियो ।

१२ वर्षपश्चात अर्थात् २०१६ सालमा बीमा कम्पनी खारेज गरेर नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी खोलियो ।

त्यय समयमा भने नेपालमा भारतीय बीमा कम्पनीहरुले बीमा गर्ने चलन थियो । भारतीय कम्पनीहरुले २०२५ सालमा काठमाडौंमा शाखा विस्तार गरेर बीमा व्यवसाय चलाए । उनीहरुले बीमा व्यवसाय बढाएपछि रुवि जनरल इन्स्योरेन्स कम्पनी हालको नेशनल इन्स्योन्स स्थापना गरिएको इतिहास छ ।

सरकारले राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ ल्याएपछि बीमा संस्थानको स्थापना भयो । जसले २०२९ सालदेखि जीवन बीमा व्यवसाय शुरु गर्न थाल्यो । बीमा कम्पनीहरु थपिँदै गए ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानमात्रै भएको अवस्थामा बीमाको बजार फस्टाउन सकेन । वि.स. २०५८ मा पुनः तीन कम्पनीलाई बीमा बजारमा प्रवेश गराइयो । नेपाल लाइफ, एलआईसी नेपाल र मेट लाइफ नेपाली बीमा बजारमा आए ।

वि.स.२०६५ सालमा चार वटा कम्पनी बीमा बजारमा प्रवेश भए । त्यसपछि २०७४ सालमा बीमा बजारमा १० जीवन बीमा कम्पनी र ३ निर्जीवन बीमा कम्पनी थपिए ।

अहिले नेपालमा बीमा कम्पनीको संख्या ४१ पुगेको छ । नेपालमा १९ जीवन बीमा कम्पनीले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । यस्तै, २० वटा निर्जीवन बीमा कम्पनीले निर्जीवन बीमाको व्यवसाय गर्दै आएका छन् । भने दुई वटा पुनर्बीमा कम्पनीले पुनर्बीमाको व्यवसाय गर्दै आएका छन् ।

बीमा समितिले उपलब्ध गराएको पछिल्लो ६ वर्षको तथ्यांक अनुसार नेपाली बीमा बजारमा बीमाको दायरमा विस्तार हुँदै गएको देखिन्छ । समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२÷२०७३ मा बीमाको दायरामा आएको जनसंख्या १० प्रतिशत मात्रै थियो ।

आव २०७३÷७४ मा आईपुग्दा बीमाको दायरमा आएको जनसंख्या ११ प्रतिशतमा पुग्यो । २०७४/७५ मा आईपुग्दा बीमाको दायरा अझै बढ्दै गएको देखिन्छ । सो आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या बढेर १४ प्रतिशतमा पुग्यो । आव २०७५/७६ मा आईपुग्दा बीमाको दायरामा आएको जनसंख्या १७ प्रतिशत पुग्यो ।

बीमाको दायरमा आएको दायरा २०७६/७७ मा आइपुग्दा २२ प्रतिशत पुग्यो ।

गत आर्थिक वर्ष २०७७/७८ मा आईपुग्दा बीमाको दायरामा आएको जनसंख्या २५ प्रतिशत पुग्यो । चालु आवको मंसिर मसान्तसम्ममा बीमाको दायरामा आएको जनसंख्या २८.०१ प्रतिशत पुगेको छ ।


बिजया बास्कोटा