बलम्बु फ्लाइओभरको मुआब्जामा १ अर्बभन्दा बढी खर्च लाग्ने



काठमाडौं । बलम्बु फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणमा १ अर्ब १४ करोड मुआब्जा लाग्ने भएको छ ।

नागढुङ्गा सुरुङमार्गलाई जोड्न बलम्बुमा फ्लाइओभर पनि निर्माण गर्नुपर्ने छ । जसका लागि स्थानीयसँग जग्गा अधिग्रहण गर्ने क्रममा जग्गा धनीहरुसँग मुआब्जा वितरणको विषयमा धेरै लामो समयदेखि नै विवाद चलिरहेको थियो ।

मुआब्जा विवादका कारण सुरुङमार्ग निर्माण शुरु भएको २ वर्ष बित्दा पनि फ्लाइओभरको काम अघि बढ्न सकेको थिएन । तर हाल त्यो मुआब्जा रकमको विवाद टुङ्गिएको शाक्यले जानकारी दिए । सरकारले मुआब्जा वितरणका लागि १ अर्ब १४ करोड रुपैयाँ निर्धारण गरेको उनले बताए ।

‘१२ रोपनी जमिन र ५७ वटा घर तथा टहरासहित १ अर्ब १४ करोड रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ,’ उनले भने, ‘जग्गाधनीलाई प्रतिआना ५२ लाख रुपैयाँसम्म मुआब्जा तोकिएको छ ।’

मुआब्जाका लागि हाल सडक विभागबाट १ करोड ५० रुपैयाँ मात्र विनियोजन भएको छ । बाँकी रकम अर्थमन्त्रालयसँग माग गरिएको शाक्यले जानकारी दिए ।

अर्थमन्त्रालयले रकम उपलब्ध गराए ३ महिनाभित्र मुआब्जा वितरण गरिसक्ने आयोजनाको लक्ष्य रहेको उनले बताए ।

राजमार्गबाट सुरुङमार्गतिर मोडिदा जाम हुन सक्ने भन्दै फ्लाइओभर निर्माण गर्न लागिएको हो । यो फ्लाइओभर १२८ मिटरको लामो हुने आयोजनाले बताएको छ । यसमा दुई लेनको बाटो हुनेछ ।

सुरुङमार्गको काम २५ प्रतिशत सकियो
नागढुङ्गा सुरुङमार्गको निर्माण काम २५ प्रतिशत सकिएको छ । फ्लाइओभरको निर्माण कार्य यसै आयोजना अन्तर्गत पर्दछ । आयोजनाका निर्देशक नरेशमान शाक्यका अनुसार सुरुङमार्गको काम हाल २५ प्रतिशत मात्र भएको छ । सुरुङमार्ग निर्माणको काम भने तीव्रगतिमा भइरहेको पनि उनले बताए ।

तर आर्थिक रुपमा भने ३३ प्रतिशत खर्च आयोजनामा भइसकेको उनको भनाइ छ ।

सुरुमा केही समस्याले गर्दा छिटो काम हुन सकेको थिएन हाल त्यस्तो समस्याहरुको समाधान भएकाले अहिले काम सोचे भन्दा छिटो गतिमा भइरहेको शाक्यले क्लिकमाण्डूलाई बताए ।

‘हाल यस क्षेत्रको काम धामाधम अगाडि बढिरहेको छ,’ उनले भने, ‘अहिले दुई सिफ्टमा काम भइरहेको र दिनको लगभग २ मिटर सुरुङ खन्ने लक्ष्य राखेको छ ।’

सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर दुई लेनको रहेको छ ।

यो आयोजनाको काम अहिले सम्म कुल १ हजार ८ सय ८८ मिटर भएको रिर्पोटमा उल्लेख गरिएको छ । जस मध्य काठमाडौं तर्फको मुख्य सुरुङमार्गमा ३०६ मिटर र धादिङ तर्फ २९३ मिटर गरी ५९९ मिटर काम सम्पन्न भएको छ । त्यस्तै निकासी सुरुङमार्गमा हेर्ने हो भने धादिङ पट्टि ४४५ मिटर र काठमाडौं पट्टि ६७६ मिटर गरी जम्मा १,१२१ मिटर काम सकिएको छ ।

धादिङको र्ओकिङ अडिट क्षेत्रमा मात्र १२६ मिटर काम सम्मपन्न भएको आयोजनाले उल्लेख गरेको छ । काठमाडौं तर्फको क्रस प्यासेज २७ मिटर सकिएको छ । त्यस्तै धादिङ तर्फकोमा १५ मिटर क्रस प्यासेजको निर्माण कार्य सकिएको आयोजनाको साप्ताहिक रिर्पोटमा उल्लेख गरेको छ ।

आयोजनाका निर्देशक शाक्यका अनुसार दुई वटा अण्डरपास निर्माण हुनेमा एउटाको काम सम्पन्न भएको छ । एउटाको निर्माण कार्य भइरहेको छ । त्यस्तै, बक्स कल्र्भट ४ मध्ये ३ वटाको निर्माण सकिएको छ । ओभरपासको पनि निर्माण कार्य सकिएको उनले जानकारी दिएका छन् ।

यो सुरुङमार्गमा बन्ने ३ पुलमध्ये २ वटाको निर्माण सम्पन्न भएको शाक्यले बताए । शाक्यका अनुसार बलम्बुमा निर्माण हुने फ्लाइओभरको काममा भने निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा वितरण गर्ने प्रक्रियामा रहेको छ ।

अरु निर्माण कार्य भनेको वाटर सप्लाईको काम ७२ प्रतिशत सम्पन्न भएको रिपोर्टमा उल्लेख छ ।

शाक्यले भने अनुसार आयोजनाले धादिङ र काठमाण्डौं दुबैतर्फ ५ सय मिटर पहुँच सडक बनाउनु पर्नेछ । यो सुरुङमार्ग आयोजनाको निर्माण कार्य समयमै सकिने पनि उनले बताए ।


क्लिकमान्डु