वाणिज्य बैंकको लाभांश घोषणा: नबिलको ३८%, कसको कति ?



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।

कूल २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७÷०७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस शेयरसमेत दिने गरी लाभांश घोषणा गरेका हुन् ।
घोषणा भएका लाभांशमध्ये केही बैंकले साधारणसभा सम्पन्न गरी वितरणको निर्णयसमेत पारित गराइसकेको तथा केही चाहिँ साधारणसभाको तयारीमा छन् ।
सार्वजनिक पछिल्लो तथ्याङ्कअनुसार नवील बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ । नवीलले ३३.६ प्रतिशत बोनस शेयर तथा ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।

त्यस्तै गत आवको वितरणयोग्य नाफाका आधारमा सिभिल बैंकले सबैभन्दा कम ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको घोषित लाभांशमध्ये पाँच प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद हुने बैंकले जनाएको छ ।

त्यस्तै, हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१.३८ प्रतिशत बोनस शेयर तथा ४.६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ ।
धैरै लाभांश दिनेमध्ये कृषि विकास बैंकले २० प्रतिशत बोनस र १.५२६ प्रतिशत नगद गरी २१.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सानिमा बैंकले १७ प्रतिशत बोनस तथा ०.८९४७ प्रतिशत नगदसहित १७.८९४७, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा ३ प्रतिशत नगदसहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंकले १२.६११ प्रतिशत बोनस तथा ३.३८९ प्रतिशत नगदसहित १६ प्रतिशत र सिटिजन्स बैंकले १२.९१३ बोनस तथा ३.०८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने जनाएका छन् ।

लाभांश घोषणा गरेको एनएमबी बैंकले आफ्ना शेयरधनीलाई १२.५ प्रतिशत बोनस शेयर तथा ३.३ प्रतिशत नगदसहित १५.८ प्रतिशत, एनआइसी एसिया बैंकले १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद गरी १५.७८९५, नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद, सिद्धार्थ बैंकले १४.२५ बोनस र ०.७५ प्रतिशत नगदसहित १५ प्रतिशत, माछापुच्छ्रे बैंकले १३.३ बोनस तथा ०.७ प्रतिशत नगदसहित १४ प्रतिशत, बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १४ प्रतिशत, ग्लोबल आइएमई बैंकलेले १० प्रतिशत बोनस तथा ३.५ प्रतिशत नगदसहित १३.५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस तथा ३.०६ प्रतिशत नगद गरी १३.०६ प्रतिशन लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगदसहित १२.६३ प्रतिशत लाभांश दिने भएको छ ।

मेगा बैंकले १० प्रतिशत बोनस तथा २.०७ नगदसहित १२.०७ प्रतिशत आफ्ना शेयरधनीलाई दिने भएको छ ।

लक्ष्मी बैंकले ८ प्रतिशत बोनस तथा ३.५ प्रतिशत नगद गरेर ११.५ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत बोनस शेयर र ४.३२ प्रतिशत नगद, कुमारी बैैंकले छ प्रतिशत बोनस तथा दुई दशमलव ६७ प्रतिशत नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसी)ले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद र सनराइज बैंकले ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगदसहित ७ प्रतिशत लाभांश वितरण गर्ने बताएका छन् ।

सेन्चुरी बैंकको लगानीकर्तालाई बैंकले ५.७५ प्रतिशत बोनस तथा ०.३ प्रतिशत नगद गरी ६.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
त्यस्तै नेपाल एसबिआई बैंकले ३.५ प्रतिशत बोनस शेयर र १.८१ प्रतिशत नगद गरी जम्मा ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
घोषणा भएका लाभांश नियामकको अनुमति र साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले प्राप्त गर्छन् ।

शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज)को दिनसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन् । घोषित लाभांशमध्ये नगद लगानीकर्ताले उपलब्ध गराएको बैंक खाता र बोनस शेयर डिम्याट खातामा सोझै जम्मा हुन्छ ।


क्लिकमान्डु