अर्थतन्त्रका सूचकले संकटको संकेत, बचाउनुपर्ने व्यक्तिहरु ‘इगो’को लडाइमा



काठमाडौं । चालु आर्थिक वर्षमा अघिल्लो वर्षको मंसिर मसान्तसम्ममा अघिल्लो वर्षको भन्दापनि कम विकास खर्च भएको छ । अर्थमन्त्रीले विकास खर्च बढाउने भाषण गरेपनि लक्ष्य हासिल भएको छैन ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ४ महिनाको तथ्यांकले शोधानान्तर घाटा १ खर्ब ५० अर्ब रुपैयाँ पुगेको देखायो । राष्ट्र बैंकले ७ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी सन्चिती राख्नुपर्ने बताएको हुन्छ । यस्तो सन्चितीको रकमले अब ७.२ महिनाको मात्र वस्तु तथा सेवा आयात धान्न सकिने देखिएको छ ।

उच्च आयात तथा रेमिट्यान्स नबढेको शोधानान्तर घाटामा गएको छ । बैंकहरुमा तरलताको यती ठूलो अभाव छ कि ऋण लिने व्यक्तिले पहिला निक्षेप खोजिदिएपछि मात्र ऋण पाउने अवस्था छ ।

शोधानान्तर १ खर्ब ५० अर्बले घाटामा जानु तथा विदेशी सन्चिती ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्नको लागि विदेशी सन्चिती हुनु राम्रो संकेत होइन ।

तर,अर्थतन्त्रका सूचकले स्थिती जटिलता तर्फ गएको भएपनि अर्थतन्त्र चलाउने नेतृत्व भने गम्भिर देखिएको छैनन् । अहिले अर्थमन्त्रालयको नेतृत्व माओवादीले गरेको छ ।

सरकारको आर्थिक सल्लाहकारको रुपमा रहने नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी छन् । कार्यकारी भूमिका नभएपनि प्रधानमन्त्रीलाई आर्थिक विषयको सल्लाह दिने भूमिका योजना आयोगका उपाध्यक्षको हो । तर,तीनजनाबीच सम्बन्ध सहज नै हुन नसकेको देखिन्छ ।

अर्थमन्त्री कुनैबेला माओवादीले युद्ध गर्दाका लडाकु कमाण्डर हुन् । अर्थमन्त्रालय चलाउनको लागि अर्थतन्त्र जान्नु नै पर्ने कुरा हुँदैन । अर्थतन्त्र जानेका व्यक्ति डा युवराज खतिवडा अर्थमन्त्री बन्दापनि सूचक खराब थिए उनको बोलीले निजी क्षेत्रले विश्वास गर्न सकेको थिएन ।

अर्थशास्त्र नपढेपनि एमालेबाट अर्थमन्त्री बनेका सुरेन्द्र पाण्डे सफल थिए भने सबैको कुरा सुन्ने मिलनसार स्वभावले बिष्णु पौडेलको कामपनि खराब थिएन । तर,अहिले अर्थमन्त्रीले अनावश्यक भाषणमात्र गर्ने कहिले गभर्नरलाई निर्देशन दिने तथा कामभन्दा पुरातनवादी कम्युनिष्ट शैली कसरी कार्यान्वयन गर्ने त्यसमा तयारी गरेका छन् ।

आफ्ना व्यक्तिलाई विदेशका दातृ निकायमा जागिर दिने काम गर्छन् भने कहिले कर्मचारीलाई समाजवाद पढ्न कर्मचारीलाई निर्देशन दिन्छन् भने कहिले २ सय गुणाले राजस्व बढाउने असम्भव कुरा गर्छन् ।

अर्थशास्त्री डा अच्युत वाग्ले अर्थतन्त्रका सूचकले संकटको नजिक देखाएपनि नेतृत्व जिम्मेवार नभएको बताउँछन् ।

‘सूचकहरु राम्रा छैनन्, यो बेला सरकारमा बस्नेहरु जिम्मेवार हुनुपर्नेमा निकै हाबा देखिए,’काठमाडौं विश्वविद्यालयका प्राध्यापक समेत रहेका वाग्लेले क्लिकमाण्डूसँग भने ।

अर्थतन्त्रलाई संकटमा जान नदिनको लागि काम गर्नुपर्ने नेतृत्वमा ‘इगो’को समस्या नै देखिएको छ । केही दिन अगाडि योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले अर्थमन्त्री र गभर्नरले लिएको नीतिमा आफ्नो असहमति रहेको फेसबुक मार्फत सार्वजनिक गरे ।

अझै धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिको विषयमा अर्थमन्त्री र योजना आयोगका उपाध्यक्षबीचको विवाद देखिने गरेर बाहिर आएको छ । अर्थमन्त्रालयले योजना आयोगका उपाध्यक्ष संयोजकत्वमा धितोपत्र बोर्ड अध्यक्ष छनोट समिति गठन भएको बताएपनि पौडेलले यसबारेमा आफूलाई जानकारी नभएको बताए ।

अहिले सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् । तर,निजी क्षेत्रका उद्योगी व्यवसायी तथा अर्थविद्को कुरा सुन्ने हो भने सरकारलाई मुख्य प्रभाव पार्ने आर्थिक नीतिमा कांग्रेस हराएको देखिएको छ ।

अर्थविद् वाग्ले आर्थिक नीतिमा प्रधानमन्त्रीको हस्तक्षेप आवश्यक भएको बताउँछन् । योजना आयोगमा कांग्रेस निकट डा पौडेल भएपनि कार्यक्रम कार्यान्वयन गर्न खासै ठूलो भूमिका छैन । अर्थशास्त्री वाग्ले देश संघियतामा गएको बेला पुरानो शैलीको योजना आयोग राख्नुको जरुरी नै नभएको बताउँछन् ।

‘अर्थतन्त्रका सूचकहरु गतिला देखिएका छैनन्,प्रधानमन्त्री सिरियस हुन आवश्यक छ,’ वाग्ले क्लिकमाण्डूसँग भने ।

सरकारको प्रमुख साझेदार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’झन दातृ निकायलाई साम्राज्यवादको रुपमा भएको भन्दै विश्व बैंक तथा आइएमएफलाई गाली गरेका छन् । जबकी, सरकारले आइएमएफबाट ४८ अर्ब ऋण लिने भएको छ । विश्व बैंकबाट २ अर्ब ऋण लिन वार्ता टोली गठन गरेको छ ।


क्लिकमान्डु