रिमाल्डी पुलः १८ महिनामा सक्नुपर्ने काम ५ वर्ष वित्दा २ पिल्लरमात्र



काठमाडौं । धादिङको रिमाल्डी ५ वर्षअघि १८ महिनामा सक्ने भनेर शिलान्यास भएको थियो ।

पाँच वर्ष बित्दा दुईवटा पिलरमात्र ठडिएका छन् । साँढे २ वर्षदेखि भने कामनै ठप्प छ । यो पुल उत्तर पूर्बी धादिङको निलकण्ठ नगरपालिका १४ र नेत्रावती डब्जोङ गाउँपालिका ४ लाई जोड्ने गरी थोपल खोलामा बन्दै छ ।

राजनीतिक पहँुचका कारण निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै आएको स्थानिय बताउँन् । यो वर्ष पनि ६ महिनाको म्याद थप गरी चैतसम्म काम सक्ने आश्वासन निर्माण व्यवसायीले दिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

शुरुमा पुलका लागि सरकारले निर्माण व्यवसायी कम्पनी जोशी र पिपिको जोइन्ट भेन्चरलाई ३ करोड ६५ लाखमा ठेक्का दिएको थियो । निर्माण व्यवसायीले हालसम्म पुलमा लगभग २ करोड खर्च भइसकेको छ । पिल्लर बनाउँनेदेखि बाँकी कामको लागि चाहिने रड, गिट्टी, बालुवा, सिमेन्ट, फर्मालगायतका सबै वस्तु साइडमा छन् ।

स्थानियका अनुसार त्यहाँ भएका सामानहरु चोरी भइरहेका छन् ।

‘राजनीतिक अस्थिरताले हो या पहुँचले गर्दा हो १८ महिनामा सक्नुपर्ने काम ५ वर्षसम्म पनि सकिएको छैन,’ स्थानिय बासुराम अधिकारीले भने, ‘सडक विभागले काम नगर्ने ठेकेदारलाई पटकपटक जिम्मा दिइरहेको छ ।’

सरकारी इन्जिनियरले गरेको गल्तीले त्यहाँ रहेको झोलुङ्गे पुल समेत भत्किएको अधिकारीको भनाइ छ । मापदण्ड विपरित इन्जिनियर र निर्माण व्यवसायीले बनाएको डिजाइन झोलुङ्गे पुल नजिकै पक्की पुलको पिल्लर हुने गरी बनाएको अधिकारीले बताए ।

ठेकेदार पक्षले पनि सरकारी इन्जिनियरले दिएको डिजाइन अनुसार काम गरिएको बताएका छन् । ‘सोही अनुरुप काम गर्दा यस्तो भयो,’ ठेकेदार पक्षका कमल कुमार ठाकुरले भने ।

यस्तो घटना हुनुको कारण आफ्नो पक्षले गरेको लापरवाहीबाट भएको ठेकेदार ठाकुरले स्वीकार गरे ।

त्यही पुलका कारण त्यहाँ रहेको झोलुङगे पुलसमेत हिड्न नमिल्ने भएको छ । स्थानीयले झोलुङगे पुल पनि बिग्रने र नयाँ पुल पनि नबन्दा झन दुःख पाएको बताउँछन् ।

प्रत्येक आर्थिक वर्षको अन्त्यतिर काम गरेजस्तो गर्ने तर आर्थिक वर्षभरी भने काम नहुने गरेको स्थायी बासिन्दा शंकर सापकोटाले बताए ।

‘यिनै झोलुङ्गे पुल र पैदल बाटो भएर दैनिक ६० भन्दा धेरै विद्यार्थी र शिक्षकहरू आफ्ना विद्यालय जाने गर्दथे,’ सापकोटाले भने, ‘खोलाको दुवैतिरका सयौं किसानहरूको खेत खोला वारीपारी छ । दैनिक उनीहरू खेतीपातीको काममा नजुटे परिवारको हातमुख जोर्न मुस्किल हुन्छ ।’

साईटमा पिल्लर हाल्न खनेको खाल्डोमा परि एक युवकले २ वर्ष अघि ज्यान गुमाएका थिए । उनको परिवारले आजको दिनसम्म क्षतिपूर्ति पाउन नसकेको पिडित परिवारजनको गुनासो छ ।


ठेकेदार कम्पनीले पिडित परिवारलाई ५ लाख रकम दिने गरी पिडित पक्ष र निर्माण व्यवसायी बिच सम्झौता भएको थियो । तर निर्माण व्यवसायीले पीडित परिवारलाई अहिलेसम्म जम्मा ७५ हजार मात्र दिएको परिवारजनको भनाइ छ ।

ज्योति विकास बैंक, सामारी शाखामा कार्यरत महेश तामाङका अनुसार पीडित परिवारले अहिलेसम्ममा ७५ हजार मात्र पाएको र ४ लाख २५ हजारको चेक बाउन्स भएको बताएका छन् ।

निर्माण व्यवसायी कम्पनीको प्रतिनिधित्व गर्ने कमल ठाकुरलाई कल गरेर बुझ्दा यो पुस महिनाको अन्तिम सम्म पीडितको बाँकी पैसा दिने बताएका छन् ।


क्लिकमान्डु