सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा



काठमाडौँ । सम्पूर्ण जनताले सहजरूपमा स्वास्थ्य उपचार पाउनु पर्ने अधिकारलाई सुनिश्चित गर्दै नेपाल सरकारले स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको छ ।

सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत आम नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य सेवा उपयोगका क्रममा भइरहेको व्यक्तिगत खर्चलाई ब्यवस्थित गर्न स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो ।

कुनै पनि नागरिकलाई सामान्य रोगदेखि मुटु, मृगौला, क्यान्सरलगायतका कडा रोग तथा अन्य उपचारमा सहायता होस् भन्ने उद्देश्यका साथ सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

सरकारले ल्याएको यस कार्यक्रमा सबै उमेर समुहका व्यक्ति सहभागी हुन पाउने व्यवस्था छ । सरकारले २०७२ सालमा शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम देशभरका ७६ जिल्लामा विस्तार भएको छ ।

कसरी गर्ने ?

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गर्नका लागि भनेर हरेक वडामा दर्ता सहयोगी राख्ने गर्दछ । बोर्डले वडा अध्यक्षको संयोजकत्वमा दर्ता सहयोगी छान्ने गर्छ । बोर्डले छनौट गरेका दर्ता सहयोगी घर घरमा नै परिचालन हुन्छन् । ती दर्ता सहयोगीले हरेक नेपालीको घर–घरमा गएर तथ्यांक संकलन गर्ने काम गर्छन् ।

बोर्डमा आवद्ध भएका दर्ता सहयोगीहरुले घर–घरमा पुगेर ती व्यक्तिहरुलाई बीमाको दायरामा ल्याउन सहयोग गर्दछन् ।

दर्ता सहयोगीले संकलन गरेको तथ्यांकलाई बोर्डको अनलाइन प्रणालीमा राखिन्छ । त्यसपछि बीमित व्यक्तिहरुलाई कार्ड प्रदान गर्ने गर्दछन् ।

बोर्डका दर्ता सहयोगीले कार्ड उपलब्ध गराएपछि बीमितले केही समयपछि सेवा लिन पाउँछन् ।

कति लाग्छ रकम ?

स्वास्थ्य बीमा बोर्डले पाँच सदस्यीय परिवारलई एक युनिट मानेको छ । त्यो परिवारबाट बोर्डले वार्षिक ३ हजार ५ सय रुपैयाँ शुल्क लिन्छ । त्यो वापत उक्त परिवारलाई बोर्डले वार्षिक १ लाख रुपैयाँ सेवा उपलब्ध गराउँछ ।

७ जनाभन्दा बढी सदस्य परिवार रहेको हकमा भने चाँही बोर्डले सो परिवारले अतिरिक्त रुपमा प्रतिपरिवार ७ सय रुपैयाँ तिर्यो भने त्यो परिवारले अतिरिक्त एक लाखभन्दा बाहेक २० हजार रुपैयाँ बराबरको सुविधा पाउँछन् ।

के के पाइन्छ सुविधा ?

पाँच जनाको एउटा परिवारले ३५ सय रुपैयाँमा १ लाखसम्मको उपचार सुविधा पाउँछन् । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप एकजना बराबर ७ सय रुपैयाँमा २० हजारको उपचार सुविधा थप हुन्छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।

तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउदैनन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

कसरी लिने सेवा ?

उपचार सुविधाका लागि बोर्डले स्वास्थ्यचौकी र सरकारी अस्पतालसँग सम्झौता गरेको छ । बीमितले उपचारका लागि बोर्डले सम्झौता गरेको स्वास्थ्यचौकी वा अस्पताल जानुपर्नेछ ।

स्वास्थ्य स्वयंसेविका, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई १ लाख रुपैयाँबराबरको निःशुल्क बीमा व्यवस्था गरिएको छ ।


बिजया बास्कोटा