पुसमा ब्याज नबढाउने बैंकरबीच भद्र सहमति



काठमाडौं । बैंकहरुबीच ब्याजदर नबढाउने सहमति भएको छ । बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन र फाइनान्स कम्पनी एशोसिएशनका पदाधिकारीबीच पुसमा ब्याजदर नबढाउने भद्र सहमति भएको हो ।

ब्याजदर बढाउँदैमा निक्षेप पनि नबढ्ने र ब्याजदर बढाउने प्रतिस्पर्धाले आम ऋणी र अर्थतन्त्रलाई असर गर्ने निष्कर्ष निकाल्दै बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन र फाइनान्स कम्पनी एशोसिएशनबीच भद्र सहमति भएको डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्षसमेत रहेका मुक्तिनाथ विकास बैंकका सीइओ प्रधुम्न पोखरेलले जानकारी दिए ।

‘ब्याजदरका विषयमा तीनवटै संगठनका पदाधिकारीबीच धेरैपटक छलफल भयो,’ अध्यक्ष पोखरेलले क्लिकमाण्डूसँग भने ‘मंसिरकै ब्याजदर पुसमा यथावत राखौं भन्ने समझदारी भएको छ ।’

फाइनान्स कम्पनी एशोसिएशनका अध्यक्षसमेत रहेका गुडविल फाइनान्सका सीइओ सरोजकाजी तुलाधरले पनि पुसमा ब्याजदर नबढाउने सहमति भएको जानकारी दिए ।

‘पुसमा पनि मंसिरको जतिनै ब्याजदर राखेर अघि बढौं भन्ने सहमति भएको छ,’ तुलाधरले क्लिकमाण्डूसँग भने, ‘ब्याजदर बढाएर निक्षेप बढ्दैन भन्ने हाम्रो निष्कर्श हो ।’

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नै गतसाता संघीय संसदको अर्थ समितिमा पुसदेखि बैंकहरुको ब्याजदर बढ्नसक्ने बताएका थिए ।

कर्जाको ब्याजदर महंगो भएको खण्डमा कर्जाको माग कम हुने र त्यसले तरलता पनि केही सहज बनाउने गभर्नरलगायत राष्ट्र बैंकका अधिकारीहरुको निचोड छ । सस्तो दरमै कर्जा पाउँदा अनावश्यक क्षेत्रमा कर्जा जाने जोखिम रहेको र त्यसले अर्थतन्त्रमै गंभीर संकट सिर्जना गर्नसक्ने आँकलन गर्दै अहिले राष्ट्र बैंकले नै ब्याजदर बढाउनका लागि बैंकरहरुलाई भित्रभित्रै प्रोत्साहन गरिरहेको छ ।

गभर्नरको ग्रिनसिग्नल पाएपछि बैंकर्स संघक अध्यक्ष अनिल उपाध्यायलगायतका केही बैंकरहरुले ब्याजदर बढाउनुपर्ने लबिङ गर्दै आएका थिए ।

बैंकर्स संघले गत शुक्रबार २७ वटै वाणिज्य बैंकका सीइओहरुलाई बोलाएर ब्याजदरका विषयमा छलफल गरेको थियो । छलफलमा अधिकांश सीइओहरुले ब्याजदर बढाउनु नहुने धारणा राखेका थिए । संघले महत्वपूर्ण विषयमा छलफल र निर्णय गर्न पूर्णबैठक बोलाउने गरेको छ ।

सीइओहरुले ब्याजदरका विषयमा विकास बैंक र फाइनान्स कम्पनीका पदाधिकारीहरुसँग छलफल गरेर संयुक्त निष्कर्ष निकाल्नुपर्ने धारणा राखेका थिए ।

गत आइतबारदेखि बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन, फाइनान्स कम्पनी एशोसिएशनका प्रतिनिधीबीच लगातार छलफल भएको थियो । बैंकर्सहरु स्वयं संयमित भएर पुसका लागि ब्याजदर नबढाउने निष्कर्षमा पुगेका हुन् ।

चालु आर्थिक वर्षको शुरुदेखि नै बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको थियो । पछिल्लो ३ महिना बैंकहरुले तरलताको चरम अभाव खेपिरहेका छन् ।

तरलता अभाव चर्किएपछि बैंकहरुले निक्षेप आकर्षित गर्न ब्याजदर बढाउने प्रतिस्पर्धा गरेका थिए । केही बैंकले मंसिरमा लागू हुने गरी उच्च दरले ब्याजदर बढाएपछि राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी बढाउन नपाउने व्यवस्था नै गर्नुपरेको थियो ।

बैंकहरुले मंसिर महिनाका लागि एक वर्षको मुद्दति निक्षेपका लागि १०।०५ प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।

पुस महिनामा राजस्व तिर्नका लागि समेत पैसा खर्च हुने भएकोले बैंक तथा वित्तीय संस्थामा थप तरलता अभाव हुने देखिएको छ । अहिले नै एक बैंकको निक्षेप अर्को बैंकले चर्को ब्याजदर दिएर खोसेको भन्दै उजुरी पर्न थालेका छन् ।

अहिले बैंकहरुको औषत सीडी रेसियो ९१ प्रतिशत भने धेरै बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ । राष्ट्र बैंकको नियमअनुसार यस्तो रेसियो ९० प्रतिशतभन्दा कम हुनुपर्छ । जसकारण बैंकहरुले भित्रभित्रै बढी ब्याज दिएर निक्षेप खोसाखोस गरिरहेको आरोप खेपिरहेका छन् ।


क्लिकमान्डु