साढे ४ वर्षमा काठमाडौं महानगरका मेयर विद्यासुन्दरले गरे यी ५४ काम



काठमाडौं । चुनावी घोषणापत्रमा १०० दिनमा १०१ काम गर्ने घोषणा गरेका काठामडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साढे ४ वर्षमा जम्मा ५४ वटा काम गरेका छन् । आइतबार एक कार्यक्रम गरी शाक्यले आफूले महानगरको प्रमुख भएर अहिलेसम्म गरेका कामको फहरिस्त सुनाए ।

मेयर शाक्यको प्रफर्मेन्स कमजोर भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला उनले भने जनतालाई सुनाउन लायक धेरै कामहरु भएको बताए ।

‘एकातिर राज्य पुनर्संरचनापछि गठन भएको पहिलोस्थानीय तह र नयाँ संविधानले जनताया जगाएको नयाँ आशा, अनि अर्कोतिर २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भएको भौतिक संरचना र त्यसलगत्तै लागू गरिएको नाकाबन्दीका कारण थिलथिलो बनेको देशको अर्थतन्त्रसँगै कोभिड महामारीबाट थप आक्रान्त अवस्थालाई सामना गर्दै अघि बढ्नु चुनौतीपूर्ण थियो,’ मेयर शाक्यले भने, ‘यी तमाम चुनौतिको सामाना गर्दै हामीले महानगरमा भएका स्रोत र जनशक्तिलाई अधिकतम उपयोग गर्दै महानगरवासीको सेवामा तल्लिन रह्यौं । हामीले जनताकासामू प्रस्तुत गर्न लायक थुप्रै उपलब्धिहरू हासिल गरेका छौँ ।’


के के गरे त विद्यासुन्दरले ? यस्तो छ दावी

पूर्वाधार तथा सम्पदा क्षेत्र

१. १९६.१ किलोमिटर सडक कालोपत्रे, १४.६८ किलोमिटर सडक ढलान, १०.७९ किलोमिटर सडकमा ब्लक छाप्ने, ४.८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने, २२६.४ किलोमिटर सडक मर्मत, १८.३४ किलोमिटर ढल निर्माण गरिएको ।

२. वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको ।

३. वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी १० वटा वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा रहेको ।

४. वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाहरुको स्तरोन्नति गरिएको ।

५. महानगरपालिकाको सहकार्य र समन्वयमा काष्ठमण्डप, रानीपोखरी, कमल पोखरी र धरहराजस्ता ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भएको छ ।

६. वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ भने वडा नं. ३ महाराजगञ्ज बासबारीमामहानगर वारुणयन्त्र भवन निर्माणधिन अवस्थामा रहेको ।

७. महानगर भित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ ।
८. महानगरभित्र करिब १७ वटा नयाँ पार्क निर्माण गरिएको छ भने ५३ वटा निर्माण सम्पन्न हुने चरणमा छन् ।

९ भगिनी सम्बन्ध भएका उपत्यकाबाहिरका रामग्राम नगरपालिका (नवलपरासी), मेलम्ची नगरपालिका (सिन्धुपाल्चोक), चन्दननाथ नगरपालिका (जुम्ला), अमरगढी नगरपालिका (डडेलधुरा) र पाख्रीबास नगरपालिका (धनकुटा) लाई सम्पदा तथा पर्यटन प्रवद्र्धनका लागि १ करोड ५० लाख रुपैयाँ साझेदारी कार्यक्रम अन्तर्गत उपलब्ध गराइएको छ ।

१०. नेपालभाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपालभाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको छ भने काठमाडौंको सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रहरूकोपुस्तक प्रकाशनमा ल्याइएको छ ।

११. काठमाडौंका मौलिक एवम् परम्परागत बाजागाजा संरक्षणका लागि गुठीहरुलाई सहयोग गरिएको छ ।

१२. वहालवाला जीवित देवी कुमारी, गणेश र भैरवलगायत पूर्वकुमारी, पूर्वगणेश र पूर्वभैरवलाई प्रदान गरिने मासिक भत्ता वृद्धि गरिएको छ भने स्थानीय कुमारीहरुलाई मासिक भत्ता तथा मठ मन्दिरको नित्य पुजाबापत पुजारीहरुलाई मासिक पारिश्रमिकको व्यवस्था गरिएको छ ।

१३. उपत्यकामा मनाइने इन्द्रजात्रा,अजिमा जात्रा, जनबहाःद्यः जात्रा, गुहेश्वरी जात्रा, पचली भैरव जात्रा पर्वहरू सञ्चालनका लागि आर्थिक अनुदानको व्यवस्था गरिएको छ ।

स्वास्थ्य क्षेत्र 

१. महानगरलाई ०७४ पौष २३ गते पूर्ण खोप नगर घोषणा गरिएको छ ।

२. डाक्टरसहित ५ हजार ७७१ जना ज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ भने ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा शुरु गरिएको छ ।

३. वडा २, ९, ११, २०, २१, २२ र ३० गरी सात वटा वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापनागरी महानगरपालिकाको सबै वडाहरुमा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

४. बीरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवा सुरु गरिएको छ ।

५. कोभिड महामारीको उपचारका लागि ९ वटा सरकारी र सामुदायिक अस्पताललाई करिब ११ करोड ६० लाख रुपैयाँ बराबरका ४६ थान भेन्टिलेटर प्रदान गरिएको छ भने छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेद अस्पतालयमा कोभिड विशेष अस्पताल र राधास्वामी आइसोलेसन केन्द्र स्थापना गरिएको छ ।

६. कोभिड विरुद्धको खोप ३ लाख ७९ हजार ४३ महिला र ३ लाख ८९ हजार ६१७ पुरुष गरी ७ लाख ६८ हजार ६६६ जनालाई दिइसकिएको छ ।

७. विशेषज्ञ स्वास्थ्य सेवा सुधारका लागि त्रि.वि. शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिद गर्न, १० वटा भेन्टिलेटर मेसिन उपलब्ध गराइएको, वीरेन्द्र सैनिक अस्पताललाई डाइलासिस मेसिन खरिद, शहीद गंगालाल ह्रदय केन्द्रलाई अक्सिजन प्लन खरिद सहयोग गरी प्लान्ट सञ्चालनमा अएको, रगतका तत्व छुट््याउने मेसिन किन्न कान्ति बाल अस्पताललाई सहयोग र जलेका विरामीको उपचारमा आवश्यक पर्ने उपकरण खरिदका लागि कीर्तिपुर अस्पताललाई सहयोग, अक्सिजन प्लान्ट स्थापना गर्न मनमोहन अस्पताल, दक्षिणकालीलाई सहयोग गरिएको छ ।

८. स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं कार्यक्रमअन्तर्गत मिर्गौला बचाउ अभियान चलाइएको छ ।

शिक्षा तथा सामाजिक विकास क्षेत्र

१. स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्राप्त भएपछि विद्यालय सञ्चालन व्यवस्थापनका लागि ऐन जारी गरिएको छ भने सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा स्थानीय विषयका रुपमा नेपालभाषाको पाठ््यक्रम ‘येँ देय् म्हसीके’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ ।

२. महानगरबाट एक वडा एक नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत ३२ वटा सामुदायिक विद्यालयहरुमा कार्यक्रम सञ्चालन भएको छ ।

३. ४० वटा सामुदायिक विद्यालयहरुमा आविष्कार क्लब सञ्चालन गरिएको छ ।

४. विद्यालयका बालविकास सहजकर्ता, सहयोगी र सहायक सबैलाई न्यूनतम मासिक तलब १५ हजार पुग्ने गरी थप सुविधा प्रदान गरिएको छ ।
५. प्रधानाध्यापकहरुलाई मासिक १ हजार रुपैयाँ भत्ता थप गरिएको छ ।

६. सहयोगापेक्षी मानवहरुको उद्दार, औषधोपचार र बसोबासका लागि वर्षिक रुपमा आवश्यक सहयोग गर्नुका साथै भवन निर्माणको लागि बजेट व्यवस्था मिलाईएको छ ।

७. १५ थान शववाहन खरिद गरेर विभिन्न सामाजिक संस्थाहरुलाई हस्तान्तरण गर्ने चरणमा रहेको छ ।

८. काठमाडौं महानगरपालिकाको आन्तरिक स्रोतबाट महानगरका करिब १२ हजार बरिष्ठ ज्येष्ठ नागरिक बार्षिक १२ हजार रुपैयाँ भत्ता वितरण हुँदै आएको छ भने पूर्णअपाङ्गहरुलाई मासिक ३ हजार रुपौयाँ उपलब्ध गराईंदै आएको छ ।

९. आर्थिक बर्ष २०७५/०७६ देखि ए डिभिजनका फुटबल क्लबलाई बार्षिक १० लाख रुपैयाँ, बी डिभिजनका फुटबल क्लबलाई ३ लाख रुपैयाँ र सी डिभिजनका फुटबल क्लबहरुलाई बार्षिक २ लाख प्रदान गरिँदै आएको छ ।

१०. सहिदहरु (दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री), नेपाल सम्बत्का प्रवद्र्धक तथा राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको पूर्णकदको शालिक निर्माण गरिएको छ ।

११. तारादेवी स्मृति फाउन्डेसन, नातिकाजी स्मृति प्रतिष्ठान, प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानलाई २० लाखका दरले सहयोग प्रदान गरिएको छ ।

सहरी व्यवस्थापन तथा भवन इजाजत

१. नक्सा पास प्रक्रियालाई थप परिष्कृत गर्दै डिजिटल सिग्नेचर प्रणालीलाई नमूनाका रुपमा प्रयोगमा ल्याइएको छ ।

२. सहरी यातायातलाई पिक एण्ड ड्रप, मध्यम दुरीका लागि बस स्टपको व्यवस्था गर्नुका साथै नो हर्न कार्यक्रमलाई लागू गरिएको छ ।

वित्तीय क्षेत्र

१. राजस्व निर्धारण तथा संकलनमा सफ्टवेयर प्रयोग भई वडा कार्यालयमा भएको करदाताहरुको फाइलहरुलाई डिजिटाइजेशन गरिएको छ ।

२. करदाताहरुले घरबाटै कर तिर्न सकिने गरी इ-पेमेन्ट सिस्टम लागू गरिएको छ ।

३. सहकारी विभागका पुराना र जीर्ण फाइलहरु स्क्यान गरी नयाँ खडा गरिएको छ ।

४. सहकारी अध्यावधिक गर्न २०० भन्दा बढी संस्थामा स्थलगत र गैरस्थलगत अनुगमन गरिएको छ ।

वातावरण तथा कृषि क्षेत्रः

१. कुहिने फोहोरलाई पुनः प्रयोग गर्न बायो ग्याँस प्लान्टको स्थापना गरिएको छ ।

२. आधुनिक प्रविधिका ७ वटा इटालियन यान्त्रिक कुचो (ब्रुमर) खरिद गरिएको तथा मित्रराष्ट्र चीनको छेन्दु नगरबाट प्राप्त २ थान समेत गरी ९ वटा बु्रमरले दैनिक सहर सफाई गरिरहेको छ ।

३. प्लाष्टिक झोला मुक्त सहरको रुपमा विकास गर्न करिब ३० हजार थान कपडाको झोला उत्पादन गरी वितरण गरिएको छ ।

४. सहरी सौन्दर्य तथा हरियाली प्रवर्धन गर्न ११ ठाउँमा ट्राफिक आईल्याण्ड निर्माण गरिएको छ ।

५ रिचार्ज काठमाडौंअन्तर्गत वडा १५ र २६ लगायत अन्य स्थानहरुमा आकाशे पानी पुनःभरण थालनी गरिएको छ ।

६. स्वयम्भू, बानेश्वर र कालीमाटी टंकेश्वरीमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

कानुन क्षेत्र

१. २७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन÷निर्देशन गरी ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको छ ।

२. १ लाख ३७ हजार थान मिसिल डिजिटलाइजेसन गरिएको छ ।

३. ४० वटा राजपत्र र एउटा ऐन संग्रह प्रकाशन भएको छ ।

४. महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।

विपद् व्यवस्थापन क्षेत्रः

१. बौद्धस्थित रामहिटीमानयाँ दमकल भवन निर्माण गरी सेवा, खोज तथा उद्दार तालिमका लागि प्रयोगमा ल्याइएको छ ।

२. वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ ।

३. नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा वडा २५, १७, २७, १३ र १५ भित्र दमकल जान नसक्ने गल्लीहरुमा फायर डाइडे«न्ट जडान गरिएको छ ।

आयोजनाहरूः

१. चमती र मनोहरा जग्गा एकीकरण आयोजनामा सडक तथा बाटो खोलिएको छ ।

२. नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी बिजुलीका पोल सार्ने काम भएको छ ।

३. २०२१ सालको नापी नक्साअनुसार मनोहरा खोलालाई सिनामंगल पूलबाट ५०७ मिटर सारिएको छ ।

४. पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रदेश सरकारको बजेटमा ९ सय मिटर कालोपत्रे गरिएको छ ।


क्लिकमान्डु