क्लिकमाण्डू टिप्पणी: नेतृत्व चयन गर्दा आर्थिक नीति बहसमा चुकेको कांग्रेस



काठमाडौं । प्रमुख राजनीतिक दलको महाधिवेशन चलीरहेको छ । केही समय पहिले एमाले चितवनमा महाधिवेशन सम्पन्न गर्यो । नेपाली कांग्रेसको महाधिवेशन चलीरहेको छ ।

माओवादीको पनि आगामी पुसको ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । खासमा राजनीतिक दलका यस्ता वृहद भेलाहरु नीति निर्माण गर्ने विषयमा प्रमुखताका साथ केन्द्रीत हुनुपर्ने हो । तर गति र मति हेर्दा यस्ता भेलाहरु केवल नेतृत्व हत्याउने काममा मात्रै बढी केन्द्रीत भएका छन् ।
सरकारको नेतृत्वमा रहेको कांग्रेसको महाधिवेशनलाई आम रुपमा चासोका साथ हेरिएको छ ।

आइतबारदेखि मतदानको प्रक्रिया पनि शुरु हुने छ र नयाँ नेतृत्व चयन हुने छ । नीति तय गर्ने विषयमा कांग्रेस विगतदेखि नै चुक्दै आएको छ । खासमा राजनीतिक आन्दोलनले एउटा लय समातिसकेको अवस्थामा देशमा कसरी आर्थिक विकास गर्ने र त्यसका लागि पार्टीको नीति के कस्तो हुनुपर्नेमा खास बहस हुनुपर्ने थियो ।

कुन पार्टीले कस्तो नीति तय गर्छ भन्ने आधारमा जनताले राजनीतिक दल र तिनका नेता छान्नुपर्ने थियो । तर, हाम्रोमा विचार, कार्यक्रम र नीतिका आधारमा नेता र नीति छान्ने अवसर जनताले पाउन सकेका छैनन् ।

विशेषतः कांग्रेस नेपालको इतिहासमा लामो कालखण्ड गुजारेको पार्टी हो । २०४६ सालको परिवर्तनपछि कांग्रेसले अगाडि सारेको उदारवादी आर्थिक नीतिका कारण देश आजको अवस्थामा आइपुगेको छ । राज्यका हरेक निकायमा निजी क्षेत्रलाई अगाडि सारेका कारण केही क्षेत्रमा गुणात्मक परिवपर्तन भएको छ । २०४९ सालको जलस्रोत ऐनका कारण ऊर्जा क्षेत्रमा निजी क्षेत्रले प्रवेश पाएको छ ।

सोही कारण आज सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरण भन्दा निजी क्षेत्रका आयोजनाबाट उत्पादित भएको बिजुलीको मात्रा बढी भएको छ । हवाई उड्डयन क्षेत्रमा नेपाल वायु सेवा निगमको भन्द्या निजी हवाई सेवा प्रदायकको भूमिका महत्वपूर्ण रहेको छ ।

शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि निजी क्षेत्रको भूमिका रणनैतिक रुपमा स्थापित भएको छ । आर्थिक सुधारको पहिलो चरणको शुरुवातकर्ताका हैसियतले कांग्रेसले देशलाई लाइसेन्स राजबाट उद्यमको राजमा विकासको राजमा, विस्तारको राजमा प्रवेश गराएको तथ्य कोही कसैबाट छिपेको छैन ।

देशको अर्थतन्त्रमा भएको वृद्धि र विस्तारका पछाडि कांग्रेसले अगाडि सारेका नीतिहरु नै कामयावी भएका छन् । तर, यसो भन्दैमा ३० वर्षसम्म पनि पूरानै तरिकाले चल्नुपर्छ, अब सबै सकियो भने जसरी कांग्रेस अगाडि बढ्न मिल्दैन । देशलाई कसरी समृद्ध बनाउने भन्ने बारेमा कांग्रेसले कस्तो नीति ल्याउँछ भन्ने विषय आजको अहम् विषय हो ।

चुच्चे रेलको नाममा खड्गप्रसाद ओलीले बेचेजस्तो तत्काल पूरा नहुने सपना बेच्ने छुट कांग्रेसलाई छैन र हुनुपनि हुँदैन ।

कांग्रेसले उदारवादको वकालत गर्दै आयो । बहुलतामा आधारित समाजको परिकल्पना गर्दै आयो । तर, नेपाली समाजमा हुर्कदो अराजकता, दण्डहिनता र कानूनलाई पनि नमान्ने प्रवृत्तिको मलजल भइरहेको छ ।

खासगरी उदारताको नाममा जसरी एमाले र एमालेको नेतृत्वले आसेपासे पूँजीवादको संरक्षण गर्न खोज्यो, त्यो आफैमा मिल्ने विषय थिएन । वामपन्थको नाममा यति र ओम्नीहरुको मात्रै हितमा उभिएको एमाले भन्दा सैद्धान्तिक र व्यवहारिक रुपमा पनि कांग्रेस थप प्रष्ट हुनु जरुरी छ ।

आर्थिक विकासको एजेण्डामा कांग्रेस तुलनात्मक रुपमा प्रष्ट छ । कांग्रेसले राज्य नियमानकारी निकायमा रुपमा रहेर हरेक क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश दिनुपर्छ भन्ने मान्यता राख्छ । तर, वामपन्थको नाममा खड्ग ओली र उनको दलले जस्तो एकाध मानिसलाई मात्रै फाइदा पुर्याउने काम गर्नु हुँदैन र गरिनु पनि हुँदैन ।

भारतमा नरेन्द्र मोदीको सरकार र भारतीय जनता पार्टीले आसेपासे पूँजीवादको संरक्षण गरिरहेको छ । हचुवाको भरमा सरकारी सम्पत्ति आफना निकटका व्यापारीलाई धमाधम बिक्री गरिएको छ । त्यसलाई विनिवेशको नाम दिइएको छ । नेपालमा पनि पछिल्लो साढे तीन वर्षको ओली शासनमा पनि ठ्याक्कै मोदीको सिको गदैृ एकाध व्यापारीलाई राज्यका महत्वपूर्ण स्रोत र साधन सुम्पिएको विषय आसै पूरानो भएको छैन ।

पूर्व राजपरिवारको सम्पत्ति कानून मिचेर, सञ्चालक समिति गठनको व्यवस्था नै परिवर्तन गरेर यति समूहलाई दिइएको विषय खासै पूरानो भएको छैन । कोरोना कहरले नागरिक मृत्युको मुखमा पुगीरहँदा ओम्नी समूहको नाममा गरिएको खेलवाड र पछिल्लो पटक कोरोनाको खोपमा गरिएको कमिसनको खेल पनि पूरानो भएको छैन ।

संविधान विपरित दुई दुई पटक प्रतिनिधिसभाको विघटन गरिएपछि परामदेशका आधारमा काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन् । यसै सन्दर्भमा काँग्रेस महाधिवेशनमा समेत जुटेको हो । शनिबार झण्डै ५०० भन्दाबढीको उम्मेदवारी परेको छ ।

जानकारहरु भन्छन्, कांग्रेसले नेता होइन, नीति खोज्नुपर्छ । गुटबन्दी होइन, कार्यक्रम खोज्नुपर्छ । तर, सधै गुटबन्दीमा रमाएको कांग्रेसले यस महाधिवेशनबाट पनि कार्यक्रम खोज्नेछैन । एकथान नेतृत्व मात्रै तय गर्ने छ । गुणात्मक रुपमा नेतृत्व पनि परिवर्तन हुने छैन ।

सनातनी नेतृत्वले राजनीतिक र आर्थिक विकासका लागि खोसै योगदान गर्न सक्दैन । तथ्यहरु स्पष्ट पारेको विषय के हो भने कांग्रेसको विद्यमान नेतृत्व परिर्तन नहुँदासम्म राजनीतिक र कार्यक्रमिक रुपमा कांग्रेस नयाँ उचाईमा पुग्न गाह्रो छ ।

यसबीचमा महामन्त्रीका उम्मेदवार रहेका नेता गगन थापाले केही कार्यक्रम महाधिवेशनको सन्दर्भमा सार्वजनिक गरेका छन् । मरुभूमिमा पानीको थोपा जस्तै नेता थापाले अगाडि सारेको कार्यक्रमले पक्कै पनि उत्साह थपेको हुनुपर्छ ।

थापाले ठूला भ्यू टावरहरुले मानिसको भावना समेटन नसक्ने विषयलाई साह्रै चोटिलो तरिकाले प्रस्तुत गरेका छन् । पहाडमा हिड्ने रेलले रित्तिएको पहाडको सम्बोधन गर्न नसक्ने भन्दै ओलीको हवाई सपनामाथि क्षेप्यात्र हान्ने प्रयास गरेका छन् । आफ्नो नारा सारेको भन्दै सामान्य नैतिकता समेत नदेखाएका ओलीका लागि थापा नै कांग्रेसको रक्षाकवच बनेर उभिएका छन् ।

अब उदारवाद भनकै भरमा कांग्रेस अगाडि बढ्न सक्दैन । कांग्रेस नीतिमा थप प्रष्ट हुनु जरुरीछ । राज्यको भूमिका नियमनकारी र कानून कार्यान्वयन गराउने भूमिकाको खोजीमा काँग्रेसले स्पष्ट नीति र कार्यक्रम तय गर्नैपर्छ ।

विपीको प्रजातान्त्रिक समाजवादको नारा दिएकै भरमा , सोही नारा बिक्री गरेको भरमा मात्रै कांग्रेस अगाडि बढ्ु्न सक्दैन । राजनीतिक परिवर्तनको नेतृत्व गरेको काँग्रेसले अब एकपटक आर्थिक विकास र समृद्धिको पनि नेतृत्व गर्नुपर्छ ।

आसेपासे पूँजीवादको संरक्षण गर्न छाडेर कांग्रेसले समग्र रुपमा पूँजीवादको संरक्षण र विस्तारमा नै लाग्नुपर्छ । किनकी, कांग्रेस अफनो नीतिमा प्रतिवद्ध भएर चल्दा मात्रै देशले पनि निकास पाउँछ । उद्योग धन्दाको विकास भए देशभित्रै रोजगारीको अवसर सिर्जना हुन्छ ।

खासमा नेपालको राजनीतिक इतिहासमा कांग्रेसले पूरा नहुने सपना बिक्री गरेको छैन । अघिल्लो पटक ओलीले हुने नहुने, सबै खालका हवाई सपनाको बिक्री गरे । जनमत पनि पाए । तर, ओलीको कार्यकालमा खासै काम र प्रगति हुन नसकेको यर्थाथता हाम्रै सामु रहेको छ ।

पानी जहाल, भ्यू आवर, रेलजस्ता दीर्घकालीन परियोजना भनिदिएको भरमा पूरा हुँदैनन् । नागरिकलाई सामान्य भन्दा सामान्य काममा राज्य भएको अनुभूति गराउँदैमा पनि ठूलै परिवर्तन भएको महशुस गर्नेछन् ।

मालपोतमा सजिलैसँग काम होस्, यातायात कार्यालयमा सहजै रुपमा पैसा तिरेपछि सवारी साधनको लाइसेन्स पाइयोस् । उद्योग व्यवसाय गर्ने वातावरण बनोस् । शक्ति र पहुच प्रयोग नभएका मानिसले समेत प्रतिस्पर्धाका आधारमा रोजगारी पाउने सुनिश्चितता भए मात्रै पनि सरकार भएको, कानून भएको अनुभति गर्न सक्छन् ।

शुक्रबार महाधिवेशनको उद्घाटन मन्तव्य दिँदा शेरबहादुर देउवाले दिएको एउटा भनाइ खासमा यर्थाथसँग जोडिएको छ । सिंहदरबारबाट केपी ओली हट्दा जनताले राहतको महशुस गरे । उनले भनेका थिए, जनताले राहतको श्वास फेर्न पाए । खासमा देउवाले भने जस्तै साँढे तीन वर्ष नेपाली जनता एक हिसाबले भन्दा डरै डरमा बस्न बाध्य भएका थिए ।

कांग्रेसको महाधिवेशन केही दिनभित्रै सम्पन्न हुनेवाला छ । नयाँ नेतृत्व पनि आउने छ । अब काँग्रेस आफ्नो नीतिमा स्पष्ट हुनु जरुरी छ । कांग्रेसको अब पनि नीति विहिनता, कार्यक्रम विहिनता, योजना बिहिनताबाट बाहिर निस्कने आँट गर्नैपर्छ ।

उदारवादको विशेषता र महत्वलाइ ध्यान दिएर तदर्थवादबाट बाहिर निस्कने आँट गर्नैपर्छ । कांग्रेस नीति र कार्यक्रममा स्पष्ट भएको खण्डमा फेरी पनि नेपाली जनताले एक पटक देशको नेतृत्व गर्ने जिम्मा दिनेनै छन् । तर, ओलीको जस्तो हवाई सपना बिक्री गरेर पानीमाथिको ओभानो बन्ने छुट कांग्रेसलाई छैन छैन र हुनुपनि हुँदैन ।


क्लिकमान्डु