बिपीको आर्थिक सोच
‘अन्तर्राष्ट्रिय संस्थाहरूबाट आउने यी मानिसहरू, जसले प्रायः स्थायित्व र संरचनागत समायोजनबारे अर्ति–उपदेश दिन्छन्, उनीहरूलाई आफ्नै प्रस्तावका राजनीतिक र आर्थिक परिणामबारे त्यस्तै जानकारी हुन्छ । जस्तोः कुनै स्वास्थ्यकर्मीले आफ्ना बिरामीलाई निको पार्न जुकाको प्रयोग गर्न सिफारिश गर्छन् । त्यो कुरा मैले पहिले पनि सुनेको थिएँ र आज पनि सुनें । यस्ता बिरामीहरू उपचारका क्रममा मर्ने गर्छन् । अनि तिनीहरू मेरो सरकारलाई गाली गर्छन् । पर्याप्त जुकाको प्रयोग नगरेको र दायाँतर्फबाट रगत नचुसेको भन्ने उनीहरूको दाबी हुन्छ ।’
–अमेरिकी राष्ट्रपति, १९८५
बिपीको भारतीय नेताहरूसँग राम्रो सम्बन्ध थियो । भारतीय समाजवादी आन्दोलनका तीन सबैभन्दा महत्वपूर्ण नेताहरू जयप्रकाश नारायण, नरेन्द्र देव र राममनोहर लोहियासँग उनको निकटको सम्बन्ध थियो । समाजवादप्रति उनको गहिरो लगाव थियो । युवावस्थामा शुरु भएको सो लगाव क्रमशः उनको जीवनदर्शन नै बनेको थियो ।
‘हाम्रो पुँजी भनेकै मानिस हुन् । हामीसँग मेसिन छैनन् र हामीसँग वित्तीय पुँजी छैन । हामीसँग श्रम छ…..हामीले बाहिर स्वीकार गर्नसक्छौं, तर त्यसले हाम्रो विकासमा सीमित प्रभाव मात्र पार्नसक्छ । हाम्रा आफ्नै मानिसहरू परिचालन गरेर मात्र हाम्रो विकासको शुरुवात हुन्छ ।
हामीसँग जनशक्ति र जमिन छ । त्यसैले हामीले मानिसको परिचालन गर्नुपर्छ । हामीले यो जनशक्तिलाई परिचालित गर्नुपर्छ ।
तपाईंलाई थाहा छ, प्रत्येक वर्ष केही हजार मानिस कामको खोजीमा भारत जान्छन् । हामीले वस्तुको निर्यात गर्नुको साटो मानिस निर्यात गरिरहेका छौं । यो मानव स्रोतलाई हामीले आफ्नै देशको विकासमा प्रयोग गर्न सकेका छैनौं । हामी देशमा साना उद्योगहरू सञ्चालन गर्न चाहन्छौं, जुन श्रममा आधारित हुन्छन् । हामीले थोरै मानिस र धेरै मेसिनको प्रयोग गर्ने ढाँचा होइन धेरै मानिसले रोजगारी पाउने उद्योग शुरु गर्न चाहन्छौं ।
हामीले जमिनको उत्पादकत्व वृद्धि गर्नुपर्छ । तर त्यसका लागि मेसिनको प्रयोग गरेर होइन, हलो र हलो तान्ने गोरुमा सुधार गरेर र यस्तै यस्तै…. । अहिलेचाहिँ के भइरहेको छ भने हावर्ड र लन्डन युनिभर्सिटीका अर्थशास्त्र विभागहरूमा पढेका विज्ञले माथि केन्द्रमा बसेर निकै राम्रा योजना बनाउँछन् । ती योजना जिल्लामा पठाइन्छ । जिल्ला प्रशासनले कार्यान्वयनका लागि आदेश दिन्छन् र त्यहाँका मान्छेलाई ती योजनाका आधारमा काम गर्न भनिन्छ । तर, स्थानीय तहमा नेतृत्व विकास गरिदैन…।
भारतले पनि महात्मा गान्धीले भनेको मोडेल अवलम्बन गर्नुपथ्र्यो । त्यो भनेको साना उद्योग, कृषिमा आधारित उद्योग र गाउँलेहरूको आवश्यकता र माग पूरा गर्ने उद्योग स्थापना गर्ने मोडेल हो । हामीले आफ्नो देशमा गर्न चाहेको यस्तै हो । जुन उद्योगले उत्पादनका साधनको ख्याल गर्छ । उदाहरणका लागि, आफूले लगाउने कपडाको आदिमकालीन डिजाइनमा सुधार गर्ने, आफूलाई आवश्यक पर्ने ऊर्जाका स्रोतको संरक्षण गर्ने जस्तै गाईको गोबरको संरक्षण गर्ने… ।
तेस्रो विश्वका मुलुकहरूको विकासका लागि अमेरिकी मोडेल त एकदमै खराब सावित भएको छ । अमेरिकी जीवनशैलीप्रति सबैको आकर्षण छ, त्यसैले सबैले अमेरिकी कुराहरू नै अपनाउने हो भन्छन् ।
कैयौं तेस्रो विश्वका नेताहरूले यही मोडेलकै व्याख्या गरिरहेका हुन्छन् । अहिले सबैभन्दा पहिले अवलम्बन गर्नुपर्ने पहिलो मोडेल हो भारतमा गान्धी र जयप्रकाश नारायण ।
त्यसैगरी अहिले अरू विचारकहरू पनि उदाएका छन् । जस्तै बेलायतमा ‘स्मल इज ब्युटिफूल’ नामक सुन्दर पुस्तकका लेखक ई.एफ. सुमेकर । उनले तेस्रो विश्वका मुलुकहरूका लागि ‘इन्टरमिडियट टेक्नोलोजी’अर्थात् ’मध्यवर्ती प्रविधि’ भन्ने शब्दावलीको प्रादुर्भाव गरे ।
यस्तो प्रविधि जसका लागि ठूलो पुँजी लगानी गर्नुपर्दैन । हामीले यही मोडेल अपनाउने हो, अमेरिकी मोडेल होइन किनभने त्यो हामीले हाम्रो देशमा धान्न सक्दैनौं… । लोकतन्त्र र आर्थिक विकास एकआपसमा विरोधाभासपूर्ण अवधारणा होइनन् भन्ने हाम्रो धारणा हो । ती दुवै एकअर्काका परिपूरक हुन् । वास्तवमा आर्थिक विकास राजनीतिबाटै सुरु हुन्छ । तपाईंसँग जनताको अपेक्षाप्रति जिम्मेवार उचित राजनीतिक प्रणाली छ भने मात्र तपाईं विकासको बारेमा र जनताको सेवा गर्नेबारेमा सोच्न सक्नुहुन्छ । नत्र भने यो सब छलकपट मात्र हुन्छ ।
‘म भूमिसुधारको पक्षमा छु । हुन त को चाहिँ हुँदैन र ? राजा पनि त्यसको पक्षमै थिए । म सामाजिक न्यायका पक्षमा छु । म आर्थिक शोषणको अन्त्यको पक्षमा पनि हुँ । कुनै पनि आर्थिक योजनाका दुईवटा परीक्षण हुन्छन् । पहिलो, त्यसले आर्थिक वृद्धि गर्छ कि गर्दैन ? दोस्रो, त्यसले सामाजिक न्यायको प्रवर्द्धन गर्छ कि गर्दैन ? हामी आर्थिक क्रान्ति भनौं वा रूपान्तरण, त्यसबाट कुनै आर्थिक योजनाको सफलताको वास्तविक परीक्षण हुनुपर्छ । आर्थिक क्रान्ति झट्ट हुने कुरा होइन, यो त लामो प्रक्रिया हो…।
म केही सेमिनारहरूमा सहभागी भएको थिएँ । त्यहाँ प्राज्ञहरूका बहसबाट सिकेको थिएँ । अनुभवका आधारमा म के भन्छु भने, हामी विज्ञहरूका त्यस्ता शब्दावली र सिद्धान्तहरूको भारीसँग निकै ठोक्किएका छौं जसको हाम्रो वास्तविकतासँग कुनै सान्दर्भिकता मिल्दैन ।
हाम्रो त गरिबी र अज्ञानताले थिचिएको पछौटे समाज हो । समाजलाई आधुनिकीकरण गर्नु पनि एउटा महान् कार्यभार हो । तर हामीले यो कसरी हासिल गर्ने त ? आकर्षक नारा बनाउने सदाबहार शैलीबाट त त्यो हुनसक्दैन । यस महान् कामका लागि हामीले गर्नुपर्ने सबैभन्दा पहिलो काम भनेको जनपरिचालन नै हो । यस भयानक कार्यभारका लागि जनता आफै जागरुक भई जुझारु रूपमा अघि नबढेसम्म हामीले यस समस्याको एक छेउ पनि पार लगाउन सक्दैनौं…. । अर्थतन्त्र भनेको त वस्तुहरूको व्यवस्थापन हो ।
नेपालीहरू गाउँमा बस्छन् । यहाँको गरिबी गाउँमै छ । गाउँ र त्यहाँका बासिन्दाहरूको अस्तित्व र समस्याबारे जानकार नभएसम्म हामीले गरिबीसँग जोडिएका वास्तविक समस्या बुझ्नै सक्दैनौं । योजनाविद्हरूका अवधारणा अत्याधुनिक प्रविधि भएका विकसित मुलुकहरूबाट आयातित हुन्छन् त्यसैले उनीहरूका गल्ती नै त्यहिँबाट उब्जिन्छन् । तपाईंलाई थाहा छ, ती मुलुकहरू अत्यधिकरूपमा शहरीकरण भएका छन् र त्यहाँका गाउँ भने पनि शहरी क्षेत्रकै निश्चित पकेट एरियाहरू हुन् ।
उनीहरूले कृषिमा पनि उत्पादनमा सुधार गर्नका लागि उच्च प्रविधिहरूको प्रयोग गर्छन् । योजनाविद्हरूको सोचाइलाई उचितरूपमा परिवर्तन र विकासबारे उनीहरूको अवधारणामै परिवर्तन नल्याएसम्म हामीले वास्तविकरूपमा विकासको प्रक्रिया नै सुरु गर्न सक्दैनौं ।
मैले योजनाविद्हरूलाई उनीहरूको बुझाइलाई सच्याउन भन्नेछु । त्यस्तो प्रविधि ल्याउनुपर्छ जुन उनीहरू आफैले चलाउन सकून्, त्यस्तो प्रविधि जुन उनीहरू अभ्यस्त भइरहेको भन्दा अलिकति सुधारिएको होस् । ठूला मेसिनहरू होइन, ठूला ट्रयाक्टर वा ठूला बुलडोजर पनि होइन ।
जेट इन्जिन वा विदेशी इन्धन हालेर विदेशी प्राविधिकले नै रेखदेख गर्नुपर्ने आयातित गाडीहरूका लागि चाहिने ठूला सडकहरू हाम्रो आवश्यकता होइनन्, निर्माणमा पनि सिमेन्ट र फलामको बढी प्रयोग गरेर विदेशी आयातमा बढी निर्भर हुने होइन ।
तपाईंको सबै जोडबल कृषि क्षेत्रको क्षमता वृद्धि गर्नमा लगाउनुहोस् र त्यस्ता उद्योगधन्दालाई बढावा दिऊँ कृषिमा आधारित छन् । पिउने पानी सफा हुनुपर्यो र गाउँहरूमा पिउनलायक पानी उपलब्ध हुनुपर्यो । गाउँका बासिन्दालाई आफ्नो गाउँ सफा राख्न प्रेरित गर्ने, महङ्गा होइन सफा र सस्ता अस्पतालहरूको व्यवस्था गर्नुपर्छ ।
म के सुझाव दिन चाहन्छु भने हामीले विकसित देशका आकर्षक (ग्ल्यामरस) कुरा देखेर गर्न नसकिने कुराको पछि लाग्नुहुँदैन । विकासका बारेमा हामी रोमान्टिक हुनुहुँदैन । नेपालको अधिकांश अंश ओगटेका गाउँहरूमा जुन फोहर छ, त्यसमै हात हालेर मेहनत गर्नुपर्छ । विकासका लागि त्यहाँबाट सुरु गरौं ।
(नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालको विपी कोइरालाको आर्थिक विचार पुस्तकबाट साभार)