विद्युतीय पासपोर्टका लागि कसरी आवेदन दिने ?



काठमाडौं । राहदानी विभागले उपत्यकामा अबदेखि विद्युतीय राहदानी मात्रै प्रदान गर्ने भएको छ ।

विभागले गत मंसिर १५ गतेदेखि नै मेसिन रिडेवल राहदानी (एमआरपी) का लागि टोकन वितरण बन्द गरेकाले अबदेखि सबै सेवाग्राहीले विद्युतीय राहदानी पाउने भएको हो ।

विभागले यसअघि मंसिर १ गतेबाट विद्युतीय राहदानी जारी गरिसकेको छ ।

शुरुवाती चरण भएकाले गत मंसिर १ गतेबाट सीमित व्यक्तिका लागि मात्रै विद्युतीय राहदानी प्रदान गरेको थियो । जसमा विभागले एमआरपीलाई पूर्ण बन्द गर्न गर्न केही हप्ता लाग्ने जनाएको थियो । सोही अनुसार विभागले सम्पूर्ण एमआरपीलाई विस्थापन गरेर विद्युतीय राहदानी प्रदान गर्ने भएको हो ।

विद्युतीय राहदानी लिन राष्ट्रिय परिचय पत्र वा सोको परिचय नम्बर लिई विभागको वेवसाइटमार्फत् आवेदन गरी समय बुक गर्न अनुरोध गरेको छ ।

साथै, १५ गतेभन्दा अगाडिनै मेशिन रिडेवल राहदानीका लागि टोकन लिइसकेको भए पनि विद्युतीय राहदानीका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।

विभागकाअनुसार मंसिर १५ गतेबाट निवेदनको संख्या उल्लेख्य बढाइएको छ । विभागले गत मंसिर १५ गतेबाट ललितपुर जिल्ला प्रशासन कार्यालयबाट अनलाइन बुकिङ्ग खुला गरिएको हो ।

यही हप्ताबाट काठमाडौं र भक्तपुरबाट सेवा शुरु गरिसकेको विभागले जनाएको छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूमा राहदानी जारी कार्यको एक हप्ता अवलोकन गरेपछि अन्य जिल्ला प्रशासन कार्यालयहरुमा सेवा शुरु गरिएको विभागको भनाइ छ । जसमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूमा एक हप्ताभित्रै तयारी भएको राहदानी उपलब्ध गराउने भएको विभागले जनाएको छ ।

सेवाग्राहीले विद्युतीय राहदानीका लागि अनलाइनबाट मिति र समय बुक गर्न सक्नेछन् । सेवाग्राहीले जसले छिटो फर्म भरेर बुकिङ्ग गरÞ्यो उसको पालो पहिले आउनेछ ।

विभागको वेबसाइटको विद्युतीय राहदानीको लागि निवेदन अप्लाइ फर इपासपोर्ट भन्ने बटन थिची प्रिइनरोलमेन्ट पोर्टलमार्फत् फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नु पर्दछ ।

अतः प्रिइनरोलमेन्ट गर्नु पूर्वआफ्ना सक्कल कागजपत्र जस्तै नागरिकताको प्रमाणपत्र, पुरानो मेसिन रिडेबल राहदानी लिएको भए त्यसको फोटो भएको पृष्ठ, शैक्षिक प्रमाणपत्रअनुसार उमेर फरक परेको भए सक्कल शैक्षिक प्रमाणपत्रआदि कागजात स्क्यान गरेर तयारी अवस्थामा राख्नुपर्नेछ ।

१६ वर्ष माथिका र नेपालमा निवेदन दिने सेवाग्राहीहरुको लागि राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर आवश्यक पर्दछ । जसमा जुनसुकै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिई तुरुन्त राष्ट्रिय परिचयपत्र नम्बर लिन सकिने हुनाले सो लिई राख्न विभागले अनुरोध गरेको छ ।

मोबाइल वा क्यामराले खिचेको तस्विरको साइज ठूलो हुने, नमिलेको हुने तथा अनावश्यक ब्याकग्राउण्ड आएको हुनसक्ने हुनाले सकभर स्क्यानरको प्रयोग गरेर सक्कल कागजजातनै स्क्यान गर्नुपर्ने हुन्छ ।

नागरिकताको अगाडि र पछाडि छुट्टाछुट्टै स्क्यान गर्नुपर्छ । करिब ३०० डिपिआई (डट पर इन्च) र ४०० केबीभन्दा कम हुने गरेर स्क्यान गर्याे भने साइज मिल्नेछ । धेरै नै कालो खालको कागजपत्र छ भने सोभन्दा कम डिपिआइ गरेर स्क्यान गर्न सकिन्छ । फोटोकपीबाट भने स्क्यान गरेको नहुने विभागको भनाइ छ ।

त्यस्तै, विद्युतीय राहदानीका लागि आफूले नागरिकता लिएको वा बसाईसराई गरेको जिल्ला, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगमा राहदानीका लागि निवेदन दिन सकिन्छ ।

विद्युतीय राहदानीको लागि निवेदन संकलन गर्न शुरु गरिएका जिल्लाहरु र कुटनीतिक नियोगहरुको बारेमा जानकारी लिएर मात्र निवेदन दिन सक्नेछन् ।

फाराम भरी सकेपछि मिति समय र निवेदन दिने ठाउँ छनौट गर्नुपर्ने हुन्छ । भरिसकेको फाराम प्रिन्ट गर्दा आफूले बुक गरेको मिति र समय त्यसैमा प्रिन्ट भएको हुन्छ । फाराम भर्दा नाम, थर, जन्म मिति, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, जारी मिति आदि दोहोराई तेहेराई हेरेर राम्रोसँग भर्नपर्ने हुन्छ ।

त्यस्तै, सेवाग्राहीले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरू र विदेशस्थित नियोगमा जानु पर्दछ ।

तोकिएको मिति र समयमा गएमा धेरै लाइन बस्न तथा कुर्न नपर्ने हुन्छ । अनलाइन भुक्तानीको व्यवस्था छिटै गरिने विभागले जनाएको छ । हाल नगदबाट भुक्तानी गर्न सकिनेछ ।


क्लिकमान्डु