सेयर सापटी लिनेदिने गर्दा कसरी मनग्य कमाउन सकिन्छ, के हो अन्तर दिवसीय कारोबार ?
काठमाडौं । सेयर बजारको सुन्दर पक्ष भनेकै मूल्य तथा बजार घटबढ भइरहनु हो । सेयर बजार घटबढ भएन र स्थिर रह्यो भने त्यसले राम्रो सन्देश जाँदैन ।
लगानीकर्ताले कमाउन पनि सक्दैनन् । लगानीकर्ताले प्रतिफल उठाउनका लागि पनि बजारमा उतारचढाव आउन आवश्यक छ ।
फेरि, सेयर बजारमा बजार बढेको बेला मात्रै कमाउने र घटेको बेला धेरैले गुमाउने मानसिकता पनि व्याप्त छ । कतिपय अवस्थामा त्यस्तै देखिने गरेको छ । सामान्यतयाः बजार घटेको बेलामा पनि कमाउने लगानीकर्ता थोरै मात्र होलान ।
आम लगानीकर्ताको चासो छ, के सेयर बजार घटेको बेलामा कमाउन सकिँदैन ? बजार घटिरहने, अनी लगानीकर्ताले गुमाइरहनु पर्ने ? बजार घटेका बेलामा पनि बाठा लगानीकर्ताले कमाउन पाउनुपर्यो भन्ने सबैको चासोको विषय हो । एउटा अध्ययनले पनि यस्तै निष्कर्ष निकालेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गरेको एक अध्ययनले बजार घटेको बेलामा पनि लगानीकर्ताले मनग्य आम्दानी गर्न सक्ने देखाएको छ ।
निमित्त सहायक प्रबन्धक मुराहरि पराजुलीको संयोजकत्वमा बनेको अन्तर दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट अध्ययन उपसमितिले गरेको अन्तर दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सम्बन्धी अध्ययन प्रतिवेदन–२०७७ ले बजार घटेको बेलामा पनि मनग्य आम्दानी गर्न सक्ने देखाएको छ ।
उक्त अध्ययन प्रतिवेदनले बजारको विकासका लागि अन्तर दिवसीय कारोबार तथा धितोपत्र सापटी लेनदेन नामक औजार आवश्यक ठानेको छ ।
विकसित तथा परिपक्क बजारमा गरिएको यो अभ्यासलाई भित्र्याउँदा नेपालको दोस्रो बजारमा नयाँ आयाम थपिने अध्ययनले देखाएको छ । धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सञ्चालन अन्तर दिवसीय कारोबारले बजारलाई थप चलायमान बाउने उल्लेख छ ।
विकसित मुलुकहरुको दोस्रो बजारमा धितोपत्र कारोबार गर्ने परम्परागत शैली र संरचनाभन्दा फरक किसिमले वित्तीय सम्पत्तिहरुको मूल्यमा हुने उतारचढावबाट लाभ उठाउन खोज्ने लगानीकर्तालाई नयाँ अवसर उपलब्ध गराउने एवं बजारको तीव्र उतारचढावलाई समेत सन्तुलनमा राख्ने उद्देश्यले अन्तर दिवसीय कारोबार सञ्चालनमा ल्याइएको हुन्छ । नेपालमा पनि त्यसको परिकल्पना शुरु भइसकेको छ । यो आवश्यक रहेको अध्ययनले पनि देखाएको छ ।
के एकैदिनमा सेयर सस्तोमा किनेर महंगोमा बिक्री गर्न सकिन्छ ?
अन्तर दिवसीय कारोबार गर्दा लगानीकर्ताहरुको कारोबार एकदिनमा सीमित हुन्छ । एक दिनभित्रै सस्तो मूल्यमा धितोपत्र किन्ने र महँगोमा बिक्री गर्ने अथवा महँगोमा बिक्री गरेपश्चात सस्तोमा खरिद गर्न सक्दछन् ।
कारोबारीले कुनै दिन खरिद÷बिक्री गरेको धितोपत्र सोही दिन बिक्री÷खरिद गर्नुपर्ने हुन्छ । यसप्रकारको कारोबारमा मूलतः निरन्तर र धेरै परिमाणमा किनबेच हुने धितोपत्रहरुको कारोबार हुने गर्दछ ।
धितोपत्र किन्ने, नामसारी गर्ने, धितोपत्रधनीका रुपमा लाभांश प्राप्त गर्ने, पदाधिकारी बन्ने वा पदाधिकारी चुन्ने मताधिकार जस्ता संस्थागत अधिकार उपयोग गर्ने उद्देश्य लगानीकर्ताको हुँदैन ।
नेपालमा प्रचलित ऐन नियमले अन्तर दिवसीय कारोबारको परिकल्पना गरेको छैन । जसले गर्दा अहिले अन्तर दिवसीय कारोबार अभ्यासमा छैन ।
कस्ता लगानीकर्ताले कमाउन सक्छन् ?
अन्तर दिवसीय कारोबारमा संलग्न हुने लगानीकर्ता, धितोपत्र व्यवसायी तथा बजार सञ्चालक तीन वटै पक्षमा बजार सञ्चालनको आधारभूत ज्ञान, सीप, वित्तीय तथा प्राविधिक साधन आवश्यक हुन्छ ।
धितोपत्रको दोस्रो बजार सम्बन्धी कत्ति पनि ज्ञान नभएको, बजार जोखिम वहन गर्ने सवालमा कमजोर, सीमित वित्तीय साधन, सूचना र प्राविधिक ज्ञानका हिसाबले अनुभवहिन लगानीकर्ताका लागि यो बजार उपयुक्त हुँदैन ।
धितोपत्र कारोबारलाई पूर्णकालीन व्यवसाय बनाउने कारोबारीहरुका लागि यो बजार आवश्यक देखिन्छ । विकसित मुलुकहरुमा सोही अनुरुप नीतिगत तथा संस्थागत संरचना निर्माण गरी अन्तर दिवसीय कारोबार सञ्चालन गरेको पाइन्छ ।
नेप्से अनलाइन टे«डिङ सिस्टम (नट्स) का प्रयोगकर्ताको संख्या बढिरहेको छ । संस्थागत लगानीकर्तातर्फ म्युचुअल फन्ड, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लगानी व्यवस्थापक, धितोपत्र व्यापारी र प्राइभेट इक्विटी फन्ड धितोपत्रको दोस्रो बजार कारोबारमा सक्रिय छन् ।
यी विविध खालका संस्थागत लगानीकर्ताले सार्वजनिक मञ्चहरुमा अन्तर दिवसीय कारोबारको माग गर्ने गरिरहेका छन् ।
यसैगरी पूर्ण स्वचालित कारोबार प्रणाली सञ्चालनमा आएसँगै व्यक्तिगत लगानीकर्ताले पनि अन्तर दिवसीय कारोबारको माग गर्न थालेका छन् ।
अन्तर दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सञ्चालनका लागि हालसम्म कुनै नीतिगत पूर्वाधार तयार भएको छैन ।
यसलाई धितोपत्र ऐन, २०६३ अन्तर्गत बनेका नियम विनियममा परिमार्जन तथा संशोधन गरी सम्बोधन गर्न सकिन्छ र केही नयाँ कार्यविधि तर्जुमा गर्नुपर्ने हुन्छ ।
नट्समा अन्तर दिवसीय कारोबार तथा अक्सन मार्केट सञ्चालनका लागि आवश्यक विशेषताहरु थप गरी सञ्चालनमा ल्याउन सकिन्छ । धितोपत्र सापटी लिनेदिने कार्यका लागि छुट्टै संयन्त्र स्थापना गर्नु उचित हुने अध्ययनले देखाएको छ ।
अन्तर दिवसीय कारोबारका फाइदा र बेफाइदा
अन्तर दिवसीय कारोबारका फाइदा तथा बेफाइदा दुबै छन् । थोरै पुँजीमा पनि लगानीकर्ताले बजारबाट लाभ उठाउन सक्ने सुविधा अन्तर दिवसीय कारोबारमा हुन्छ । मार्जिन सुविधाको उपयोग गर्दै स्वपुँजीभन्दा धेरै गुणाको कारोबारमा संलग्न हुन पाउने अवसर कारोबारीले अन्तर दिवसीय कारोबारमा पाउँछन् ।
कारोबारको एकै दिनमा राफसाफ गरिने हुँदा अन्तर दिवसीय धितोपत्र कारोबारमा उच्च तरलतायुक्त धितोपत्र मात्रै किनबेच हुन्छ ।
यसले समग्र बजारको तरलता वृद्धिमा पनि सहयोग पुर्याउँछ । बजारको अत्यधिक उतारचढावलाई समेत रोक्न सहयोग गर्दछ ।
सामान्यतया धितोपत्रको स्वामित्व हस्तान्तरण हुने कारोबारमा भन्दा अन्तर दिवसीय कारोबारमा ब्रोकरले कारोबारीबाट तुलनात्मकरुपमा कम कमिसन लिने गरेको देखिन्छ ।
अन्तर दिवसीय कारोबारमा जोखिम एक दिनबाट अर्को दिन सर्ने खालको हुँदैन । अर्थात धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचनाको असर अन्तर दिवसीय कारोबारमा एक दिनमा सीमित हुन्छ । यी अन्तर दिवसीय कारोबारका फाइदा हुन् ।
अन्तर दिवसीय कारोबारमा लगानीकर्ताले स–सानो मूल्य परिवर्तनबाट लाभ उठाउने प्रयास गरेका हुन्छन् । यसरी कारोबार गर्दा प्राप्त हुने लाभको तुलनामा सम्भावित नोक्सानीको आकार ठूलो हुन्छ ।
कारोबारको आकार बढ्दै जाँदा सम्भावित नोक्सानीको परिमाण पनि बढ्दै जान्छ । तसर्थ अन्तर दिवसीय कारोबारमा कारोबारीले बजारको कडा निगरानी गर्दै कारोबार अवधिभर आफूलाई व्यस्त राख्नुपर्ने हुन्छ ।
अन्तर दिवसीय कारोबारबाट कारोबारीले धितोपत्र जारी गर्ने सम्बन्धित कम्पनीहरुले गर्ने निर्णयहरु (लाभांश प्राप्त गर्ने, हकप्रद प्राप्त गर्ने, साधारणसभामा सहभागी बन्ने, सञ्चालक बन्ने वा सञ्चालक चुन्ने)बाट लाभ पाउँदैनन् ।
यी अन्तर दिवसीय कारोबारका बेफाइदा हुन् । बेफाइदाभन्दा फाइदा बढी भएकाले विकसित तथा परिपक्क बजारमा अन्तर दिवसीय कारोबार अभ्यासमा आएको हो ।
धितोपत्र सापटी लेनदेन
अन्य सम्पत्ति जस्तै धितोपत्र पनि सापटी लिनेदिने कार्यबाट लिनेदिने दुबै पक्ष लाभान्वित हुन सक्छन् ।
सामान्यतया निष्क्रिय रहने धितोपत्रको सापटी लिनेदिने व्यवस्थाले धितोपत्र बजारमा तरलता सिर्जना गर्नुका साथै बजारको दक्षता अभिवृद्धि गर्छ ।
धितोपत्र सापटी दिनेले सापटी दिएबापत निश्चित शुल्क (ब्याज) प्राप्त गर्ने भएकाले सापटी प्रदायक लाभान्वित हुने देखिन्छ ।
विकसित बजारमा धितोपत्र सापटी लिनेदिने कार्य पनि अनलाइन प्रणालीमार्फत् हुने गरेको छ । कतिपय मुलुकमा धितोपत्र सापटी लेनदेन कारोबार संयन्त्र स्टक एक्सचेन्जले उपलब्ध गराएका छन् भने कतिपय मुलुकमा केन्द्रीय निक्षेप तथा राफसाफ सेवा प्रदायकले उपलब्ध गराएका छन् ।
धितोपत्र सापटी लेनदेन कार्यमा धितोपत्र सापटी लिएर बिक्री गर्ने, दोस्रो कारोबार गरिसकेपछि धितोपत्र उपलब्ध गराउन नसक्दा सापटी लिएर पूर्ति गर्ने गरिन्छ । धितोपत्र सापटी लिनेदिने व्यवस्थाले राफसाफ तथा फछ्र्यौट कार्यलाई थप सहज बनाउँछ भन्ने नै हो ।
सेयर सापटी लिएर कसरी बन्ने मालामाल ?
दोस्रो बजार कारोबारमा लगानीकर्ताले आफूसँग नभएको धितोपत्र सापटी लिएर महँगोमा बिक्री गर्ने र भविष्यमा सस्तो मूल्यमा खरिद गरी दातालाई फिर्ता गर्ने गर्छन ।
यो संयन्त्रमा धितोपत्र सापटी लिन वा दिन सक्ने पक्ष नियमक निकायले कानून तर्जुमा गरी तोकिदिएको हुन्छ । यसैगरी तोकिएको शर्तमा धितोपत्र सापटी लिने दिने कार्य सम्पन्न हुन्छ भन्ने सुनिश्चितता केन्द्रीय राफसाफ गृहले गर्छ ।
धितोपत्र सापटी लेनदेनको शुल्क, धितो, समय, धितोपत्रधनीको अधिकारआदि नियामक निकायबाट स्वीकृत ढाँचाको सम्झौतापत्रमा उल्लेख भएको हुन्छ ।
धितोपत्र सापटी लिनेदिने प्रक्रियामा सहभागी हुने मध्यस्थकर्ताले नियमक निकायबाट अनुमति लिनुपर्ने हुन्छ ।
दाता र मध्यस्थकर्ताबीच सम्झौता हुनुपर्ने र मध्यस्थकर्ताले धितोपत्र निक्षेप गरेको निस्सा दातालाई दिनुपर्ने र मध्यस्थकर्ता दाताको ट्रस्टी हुने र मध्यस्थकर्ताले सम्झौतामा तोकिए अनुसार निक्षेप गरिएको धितोपत्र र त्यसबाट प्राप्त लाभ फिर्ता गर्ने सुनिश्चितता प्रदान गर्नुपर्ने हुन्छ ।
सापटी लिने कारोबारी र मध्यस्थकर्ताबीच सापटी लिने अवधि, धितोपत्रको किसिम, शुल्क, जरिवाना, सापटी लिनका लागि राखिएको धितो, विवाद समाधानलगायतका विषय खुलाई सम्झौता हुनुपर्ने हुन्छ ।
लाभांश प्राप्त गर्ने, हकप्रद प्राप्त गर्ने, साधारणसभामा भाग लिने, सञ्चालक चुन्ने र सञ्चालक चुनिने अधिकार दातामा रहने गर्दछ ।
सापटी लिनेदिने कार्यमा संलग्न हुन पाउने कारोबारीको योग्यता तथा सापटी लिनदिन सकिने धितोपत्र नियमक निकायले तोक्ने गर्दछ । सापटी लिनेदिने कार्यमा मार्जिनको व्यवस्था रहेको हुन्छ भने धितोपत्र सापटी लिनेदिने कार्यमा सापटी दिनेले फिर्ता लिने र सापटी लिनेले धितोपत्र अग्रीम भुक्तानी गर्ने व्यवस्था रहेको हुन्छ ।
सापटी लिने वा दिनेले कतिसम्म सापटी लिन वा दिन सक्ने हो भन्ने व्यवस्था र सापटी लिने वा दिनेले दायित्व पूरा नगरेको अवस्थामा सोलाई समाधान गर्ने व्यवस्था रहेको हुन्छ ।
मध्यस्थकर्ताले सर्ट सेलिङ, सापटी लिएको÷दिएको विवरण दैनिकरुपमा स्टक एक्सचेन्ज÷केन्द्रीय राफसाफ गृहमा पठाउने र धितोपत्र सापटी लिनेदिने कार्यका लागि केन्द्रीय राफसाफ गृहले संयन्त्र उपलब्ध गराउने गरिन्छ ।
धितोपत्र अक्सन मार्केट
अन्तर दिवसीय कारोबारमा सहभागी विक्रेता कारोबारीले कारोबार दिनमै आफ्नो धितोपत्र दायित्व पूरा नगरेको वा गर्न नसकेको र धितोपत्र सापटी लेनदेन संयन्त्रबाट समेत दायित्व पूरा गर्न नसक्ने अवस्थामा अक्सन मार्केटबाट खरिद गरी त्यस्तो दायित्व पूरा गर्नुपर्ने हुन्छ । अक्सन मार्केट अन्तर दिवसीय कारोबारसँग अन्तरआवद्ध विषय हो ।
अक्सन मार्केटमा सामान्य लगानीकर्ता सहभागी हुँदैनन् । आफ्ना ग्राहकको दायित्व पूरा गर्ने गरी कारोबार सदस्य मात्र अक्सन मार्केटमा सहभागी हुन पाउँछन् ।
अक्सन मार्केट सञ्चालनका लागि स्टक एक्सचेन्जले निश्चित समय तोकेको हुन्छ र संयन्त्र उपलब्ध गराएको हुन्छ । भारतमा अक्सन मार्केट सञ्चालन गर्दा किनबेच हुने धितोपत्रको मूल्य सीमा धितोपत्र कारोबार भएको अर्को दिन (टी प्लस वा) मा कायम भएको अन्तिम मूल्यमा २० प्रतिशत तल वा माथि हुनसक्ने गरी व्यवस्था मिलाइएको छ ।
यसले कार्यविधिमा अक्सन मार्केट सञ्चालन समय तोक्ने, कारोबार सदस्यलाई बजारमा सहभागी हुने व्यवस्था गर्ने, पहुँच दिने, अक्सन मार्केटमा भएको कारोबारको राफसाफ टी प्लस वान मा गर्ने, अक्सन मार्केटमा धितोपत्र खरिद गर्दा वास्तविक कारोबार मूल्यभन्दा बढीमा धितोपत्र खरिद गर्दा नपुग रकम ग्राहकले व्यहोर्ने र खरिदकर्ताले कम मूल्यमा धितोपत्र प्राप्त गरेमा आर्जित नाफा राफसाफ प्रत्याभुति कोषमा जम्मा हुने गर्दछ ।
अक्सन मार्केटबाट धितोपत्र खरिद गर्दा राफसाफका लागि आवश्यक धितोपत्र संख्या एकमुष्ठ वा पटक–पटक उपलव्ध भएसम्म खरिद गर्ने र अक्सन मार्केटमा धितोपत्रहरुको कारोबार गर्दा÷गराउँदा प्रत्येक खरिद वा बिक्रीमा नियमित कारोबार सरह शुल्क लाग्ने गर्दछ ।
कारोबारमा प्रचलित कानूनबमोजिम लागु हुने पुँजीगत लाभकर तथा अन्य शुल्क सम्बन्धित पक्षले बुझाउने र अक्सन मार्केटमा धितोपत्र उपलब्ध नभई राफसाफ तथा फछ्र्यौट हुन नसक्ने भएमा विक्रेता कारोबार सदस्यले खरिदकर्ता कारोबार सदस्यमार्फत् लगानीकर्तालाई क्षतिपूर्ति दिने गर्दछ ।