सेयरमा ‘गार्वेज’ संकलन, ठीक कि बेठिक ?
चिया गफमा सँगै बसेको साथीले भन्यो- यो पटक त म सेयर बजारको गार्वेज उठाउने हो यार ।
गार्वेज ? मैले पश्न गरे ।
अँ गार्वेज । जङ्क के जङ्क ।
जङ्क फुडका बारेमा केही जानकारी थियो । स्वास्थ्यका लागि खासै फाइदा नगर्ने रेडिमेड खानाहरुलाई जङ्क फुड भन्ने गरिन्छ । यस्ता खाना स्वास्थ्यका हिसाबले जोखिमयुक्त नै मानिन्छन् । तर, पनि मानिसमा जङ्क फुडप्रतिको आकर्षण अचम्मको हुनेगर्छ ।
हरेकदिन घर अगाडिको सडक, चोकमा काम नलाग्ने कागज, खाली बोतल संकलन गर्न आउने ती मेहनती हातहरु पनि देखिरहिन्छ ।
अनि त्यस्तै भान्साबाट निस्कने वा अन्य त्यस्तै फोहोर । घामपानी चिसोतातो नभनी संकलन गर्न पनि मानिसहरु आइनै रहेका हुन्छन् । चाहे फोहोर नगरपालिकाले उठाओस् या निजी कुनै संस्थाले । ती सबै फोहोरलाई हामी गार्वेज नै भनिरहेका हुन्छौंं । जुन काम गर्नका लािग उच्च स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउनु पर्नेहुन्छ ।
तर, सेयर बजारमा गार्वेज वा जङ्क भनेपछि भने म अलिक अलमलिन पुगे ।
जङ्क बोन्ड अर्थात् जङ्क ऋणपत्रका बारेमा चाँहि मलाई केही ज्ञान थियो ।
कम्पनीले सर्वसाधारणबाट ऋण स्वरुप पैसा लिँदा दिने प्रमाणपत्र हो ऋणपत्र । प्रमाणपत्र चाहे भौतिक होस् या अभौतिक । यसमा कम्पनीले निश्चित प्रतिशत व्याज प्रदान गर्छ भने यसको निश्चित अवधि पनि हुन्छ । अवधि पुगेपछि कम्पनीले ऋणपत्र किन्नेलाई साँवा रकम फिर्ता गर्छ । जस्तो पाँच बर्षे ऋणपत्र भन्यो भने पाँच बर्ष सम्म तोकिएको दरमा व्याज पाइन्छ भने पाँच बर्ष पुगेपछि साँवा फिर्ता पाइन्छ ।
जोखिम (नोक्सान हुने सम्भावना)का हिसावले ऋणपत्र विभिन्न प्रकारका हुन्छन् । ती मध्ये जङ्क ऋणपत्र (वण्ड) अति नै जोखिम युक्त र बढी व्याज दिने बर्गमा पर्छ । जस्लाई उच्च प्रतिफल दिने ऋणपत्र पनि भनिन्छ । यस्ता ऋणपत्र जारी गर्ने कम्पनी वित्तीयरुपमा अति नै कमजोर हुन्छन् भने कुनै पनि बेला टाट पल्टन (बन्द हुन) सक्छन । कतिपय कम्पनीले त ऋणपत्रमा दिनु पर्ने व्याज समयमा तिर्न पनि सकिरहेका हुँदैनन् ।
नेपालको सेयर बजारमा बैंक तथा वित्त कम्पनीले जारी गरेका केही ऋणपत्र त हामी पाउछौं । तर जङ्क ऋणपत्र भने देखिएका छैनन् । वा ऋणपत्र जङ्कमै परिणत भएका भने छैनन् । ऋणपत्र जारी गर्ने कम्पनी वित्तीयरुपमा खराव हुँदै गए भने पनि तिनले जारी गर्ने ऋणपत्र जङ्कमा परिणत हुने गर्छन् ।
यसै प्रसंगमा उसल प्रष्ट्यायो । सेयर बजारमा अरुले काम नलाग्ने भनि सोचेका वा ठानेका सेयर उठाउने योजनामा छु ।
यति भनेपछि भने म अलिक प्रष्ट भएँ । तुलनात्मकरुपमा अति जोखिमयुक्त कम्पनीका सेयरमा लगानी गर्ने उनको सोच रहेछ ।
मैले पुन पश्न गरे किन यसो गर्दै हुुनुहुन्छ ? यस्तो लगानीमा त अति नै जोखिम (नोक्सान हुने वा पैसा डुब्ने सम्भावना उच्च) हुन सक्ला ।
उसले दोहोर्यायो हरेकका आ-आफ्नै उदेश्य र लक्ष हुन्छन्। कतिपय चाहनाले ती लक्ष्य पुरा गर्न प्रयास गर्छन् । कति वाध्यताले । ती खालि बोतल वा कागज बटुल्न आउने पनि कुनै न कुनै लक्ष्य लिएर आएका हुन्छन् । कतिमा चाहना होला कतिमा वाध्यता । ती भान्साका फोहोर सँकलन गर्न आउनेको पनि त त्यस्तै कुनै लक्ष्य होला । जोखिम त त्यहाँ पनि छ नि ।
तर पनि ती सबैमा एउटा समानता छ, पैसा बनाउने सपना । म पनि त्यही पैसा बनाउने उदेश्यले यो गर्न खोजिरहेको छु । तर तपाईंलाई यो ठीक लागिरहेको छैन ।
तपाईंलाई ठीक नलागे जस्तै अरु कसैलाइ पनि ठीक नलाग्न सक्छ । धेरै लाई ठीक नलाग्न सक्छ। कम्पनी छनौटप्रतिको यस्ता असमानता सेयर बजारमा रहन्छन् । मूल्य तथा नेप्से का अंकका अनुमानप्रतिको असमानता पनि यहाँ रहन्छ । त्यस्तै जोखिमको मूल्यांकन पनि । त्यो हरेक लगानीकर्ताको अधिकार पनि हो । किन्ने र बेच्नेहरु त्यही असमानताबाट नै एक ठाँउमा पुग्छन् । त्यहाँ पनि कति वाध्यताबाट एक ठाँउमा पुग्छन भने कति चाहना, लक्ष्य, उदेश्य, आवश्यकताबाट ।
ऋण लिएर किनेको सेयर बैंकको दवाबमा बिक्री गर्नु वाध्यता हो । घर बनाउन चाहिने पैसाका लागि सेयर बेच्नु पनि वाध्यता हुनसक्छ । तर, आफ्नो लक्ष्य अनुसारको नाफा पाएपछि बेच्नु कुनै बाध्यता हैन । किनेपछि घटेमा घाटामा बेच्नु पनि त वाध्यता हो । यसैले सेयर बजारलाई पनि यस्तै वाध्यता, चाहना आवश्यताहरुले नै चलाइरहेको हुन्छ । हरेक दिन लगानीकर्ता तिनै कारण बजारमा पुगि रहेका हुन्छन् । त्यहाँ पनि त असमानता छ ।
यसैले पनि म गार्वेज उठाएर पैसा बनाउने सोचमा छु यसपटक । यसमा जोखिम छ । यो मलाई राम्ररी थाहा छ । त्यही जोखिम उठाएर पैसा बनाउने सोचमा म छु । तर, म अरुलाई मैले के गरेको छु त्यही गर्न भन्दिन । किनकी, यो मैले मेरा लागि उपयुक्त ठानेको छु । जुन सबैका लागि नहुन सक्छ । किनकी, सबै बञ्जी जम्पको जोखिम उठाएर मजा लिने क्षमतामा पनि हुन्नन् । सबैमा स्काई डाइभिग गर्ने हिम्मत पनि हुन्न । यस्तै पैसा भएर पनि प्याराग्लाइडिङ गर्न जाने हिम्मत सबैमा हुन्न । सेयर बजार मेरो पैसा मेरो लगानी निर्णयको ठाँउ हो ।
मैले कसैलाई पैसा दिएर लगानीको निर्णय गर्ने अधिकार पनि दिनसक्छु । जस्तो पोर्टफोलियो व्यवस्थापन कम्पनी । तर, मैले त्यसो गरिसकेको छैन । पोर्टफोलियो व्यवस्थापनको फि अरुलाई तिर्न जान चाहिरहेको छैन । मलाइ लाग्छ, म सँग समय छ । म विश्लेषणमा अलिअलि दख्खल राख्छु । यसैले म यो आफैं गरिरहेको छु । तर, यो पनि त व्यक्तिगत चाहना को कुरा हो । सबैलाई यहि ठीक हुन्छ भन्ने छैन । सेयर बजारको रमाइलो पक्ष भनेकै व्यक्तिव्यक्ति पिच्छेको असमानता हो ।
उनले यसो भनिरहँदा मैले पुन प्रश्न गरे । के समग्र बजारको तत्कालको हिडाइ को ताकत र ट्रेन्डले जङ्कबाट पैसा बन्ने सम्भावना छ ? त्यस्तै जहाँ बढी जोखिम हुन्छ त्यहाँ बढी सुरक्षाका उपायहरु पनि अपनाइन्छ । अनि सुरक्षाका उपाय चाँहि कस्ता छन नि ?
मैले यो प्रश्न गरेपछि भने उ अलिक झस्कियो । र, पुनः सोच्छु भन्दै हामी चिया गफलाई विट मार्दै आफ्नो बाटो लाग्यौं ।
सामान्यता समग्र बजारको बढ्दो ट्रेन्डमा जङ्क ले पनि राम्रो मूल्य पाउने गर्छ । यसैले भनिन्छ तुलनात्मकरुपमा खराव भनिएका कम्पनीको सेयर विक्री गर्ने उत्तम समय भनेकै बढ्दो बजारमा हो भने राम्रा कम्पनीको सेयर किन्ने उत्तम समय भनेकै घट्दो बजारमा हो ।
घट्दो बजारमा लगानीलाई विभिन्न विकल्पमा सार्ने क्रममा लगानीकर्ताहरु जोखिम हेरेर उच्च व्याज आउने ऋणपत्र, मुद्दति निक्षेपमा पनि पैसा राख्ने गर्छन् । कतिपयले सेयर बेचेर यतातिर पैसा सार्ने पनि गर्छन् । यसले पोर्टफोलियोमा सन्तुलन कायम गर्न मद्दत गर्छ भने समग्र पोर्टफोलियोको प्रतिफलको लक्ष्य भेट्टाउन पनि सहयोग पुर्याउने गर्छ ।
तर, घट्दो बजारमा जङ्क सेयर उठाउनु भनेको अगाडि नै जोखिमले भरिन लागेको भाँडो माथि अझ जोखिम थप्नु हो । जसबाट बच्न अति नै विशिष्ट सुरक्षाका उपाय अपनाउनु पर्ने हुन्छ । ती सबै उपाय बजारमा तत्काल उपलब्ध नहुन पनि सक्छन् या सवैको विवेकले नभ्याउन पनि सक्छ ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् । विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन्। उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण जस्ता कितावहरु लेखेका छन् ।)