चीनको कुनमिङदेखि लाओसको भाइन्टाइनसम्म शुक्रबारदेखि चल्दै रेल, लागत १३ खर्ब



काठमाडौं । नेपालमा रेलमार्ग बिस्तारको योजना मन्त्रालय र विभागको दराजमा थन्किइरहेको बेला चिनियाँ सहयोगमा पूर्वी एशियाको देश लाओसमा भने आज शुक्रबारदेखि १००० किलोमिटर लामो रेलमार्ग सञ्चालनमा आएको छ ।

चीनले अगाडि सारेको बेल्ट एण्ड रोड परियोजनाको सबैभन्दा ठूलो परियोजना सम्पन्न भई कार्यान्वयमा आउन लागेको हो । चिनियाँ सञ्चारमाध्यमहरुले सो परियोजनाले चीन र लाओसबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको टिप्पणी गर्दै समाचार सामग्री बनाएका छन् ।

बेल्ट एण्ड रोडको अवधारणा अगााडि सारिएपछि कार्यान्वयन भएको छिमेकी देशको सबैभन्दा ठूलो परियोजना हो यो । चीनको दक्षिण पूर्वी सहर कुन्मिङदेखि लाओसको राजधानी भाइन्टाइनलाई जोड्छ ।

सो परियोजनाका लागि चीनले नेपालको एक वर्षको बजेट बराबर खर्च गरेको छ । जानकारहरुले सो परियोजनाका लागि ९ अर्ब अमेरिकी डलर खर्च गरेको बताएका छन् । लागतमा केही वृद्धि भएकाले १० अर्ब २५ करोड अमेरिकी डलर बराबरको कूल खर्च भएको अनुमान सार्वजनिक भएको छ । नेपालको १ वर्षको बजेट १३ खर्ब बराबर मान्ने हो भने चीनले सो परियोजनामा सोही बराबरको खर्च गरेको छ ।

भूपरिवेष्ठित देश लाओससँग रेल सञ्जाल जोडिएपछि भूपरिवेष्ठितबाट भूजडित भएको भन्दै लाओसको राजधानी भाइन्टाइनमा सरकारको पक्षमा ठूला प्रदर्शन आयोजना गरिएको छ । मानिसहरुले खुसीयाली जनाउँदै रेल चढ्न पाउने अपेक्षा गरेका छन् ।

तर केही आलोचकहरुले भने त्यत्ति ठूलो परिमाणमा पैसा खर्च गर्दा आगामी दिनमा ऋण तिर्न सकिएन भने अवस्था के होला भनेर चिन्ता समेत व्यक्त गरेका छन् ।

लाओसको गरिबी तथा असमानता अन्त्यका लागि समेत सो रेल परियोजना महत्वपूर्ण रहेको टिप्पणीहरु पनि भइरहेका छन् ।

सो रेल प्रतिघण्टा १६० किलोमिटरका दरले दौडनेछ । चीनले आफ्नो भूमिमा निर्माण गरेको जस्तै रेल सञ्जाल निर्माण गरेर बाँकी विश्वलाई एउटा नयाँ सन्देश दिएको भन्दै त्यहाँको सरकारी प्रसारण सिजीटिएनले लगातार विशेष सामग्री प्रसारण गरिरहेको छ ।

कुनमिङबाट लाओसमा पठाइने मालवस्तु तथा अन्य मालसामान समेत सहज हुने विश्वास लिइएको छ । सो रेलमार्गलाई बेइजिङ हुँदै बैंकक, क्वालालम्पुर र सिंगापुरसम्म जोड्ने महत्वकांक्षी परियोजनाको रुपमा समेत लिइएको छ ।

असाध्यै समस्यामा रहेको लाओसलाई रेल सञ्जालको विस्तारसँगै थप सहज भएको छ । माल सामानको आयातमा पर्दै आएको बढी मूल्य र भारलाई समेत कम पर्नेछ । लाओसको कूल ग्राहस्थमा प्रतिव्यक्ति आम्दानी २६०० अमेरिकी डलर बराबरको योगदान रहेको छ । कूल ७० लाख जनसंख्या भएको लाओसलाई नै चीनले किन प्राथमिकतामा राख्यो भन्ने जिज्ञासा पनि यसबीचमा नउठेको होइन । तर,आम रुपमा लाओसको सत्तारुढ पार्टी र चीन सरकारबीच विशेष प्रकारको सम्बन्ध रहेको छ ।

लाओसको कम्युनिस्ट पार्टीसँग चीनको विशेष सम्बन्ध भएकै कारणले गर्दा पनि रेलमार्ग विस्तार र लगानीका लागि सहज भएको विश्वास लिइएको छ । रेलमार्ग निर्माणका क्रममा ४ हजार ४०० घरपरिवार विस्थापित भएका छन् ।

कोरोनाका कारण संकटमा परेको अर्थतन्त्रलाई उकास्नका लागि रेलमार्ग सहयोगी हुने विश्वास पनि लिइएको छ । रेलमार्ग सञ्चालनमा आएपछि सन् २०२२ मा लाओसको अर्थतन्त्रमा समेत सुधार हुने विश्वास लिइएको छ ।

चीन र लाओसबीचको सीमामा दुवै देशको झण्डा राखिएको छ । आगामी पाँच वषभित्र लाओस पनि अल्पविकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नती हुन लागेको छ ।

पछिल्ला वर्षहरुमा लाओसमा कूल १६ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ लगानी भित्रिएको छ । लाओसमा कूल ५ लाख हेक्टर जमिनमा विशेष आर्थिक क्षेत्र समेत निर्माण भएको छ । त्यसबाट रोजगारीको अवसरमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

विदेशी ऋणको मात्रा कूल ग्राहस्थ उत्पादनको तुलनामा ६५ प्रतिशत बराबर पुग्ने विश्व बैंकले अनुमान गरेपनि लाओसमा चीनको लगानी व्यापक मात्रामा विस्तार भएको छ । लाओसमा रेल पुगेपछि थाइल्याण्डमा समेत रेलमार्ग विस्तारका लागि चर्को दबाव परेको छ । थाइल्याण्डमा रेलमार्ग बन्ने बित्तिकै म्यानमारमा समेत शुरु हुनेछ । त्यसबाट बंगलादेशसम्म रेल ल्याउन कुनै समस्या नहुने देखिएको छ । तर, नेपालको सन्दर्भमा भने रेलमार्गको विषय केवल चर्चा र भाषणमा मात्रै सिमित रहेको छ ।

नेपाल आफैले २ अर्ब बराबरको लगानी गर्दा हुने विस्तृत परियोजना प्रतिवेदन बनाउने कुरा पनि अगाडि बढ्न सकेको छैन । त्यो समेत चीनको मुख ताकिदा काम अगाडि बढ्न सकेको छैन । अन्यत्र रेल चलीसक्दा हाम्रोमा भने केवल चर्चामा मात्रै सिमित हुने हो कि भन्ने अवस्था सिर्जना भएको छ ।

जनकपुरमा चलाउन भनेर हतार हतार ल्याइएको रेल समेत मिनपचासको जाडो सहेर थोत्रो बन्ने अवस्थामा पुगेको छ । कानूनको अभावमा रेल चलाउन समस्या भएपछि सरकारले हालैमात्र रेलसम्बन्धी अध्यादेश जारी गरेको छ ।


क्लिकमान्डु